जनकपुरमा रामायण सर्किटका बारेमा ठूलो कार्यक्रम आयोजना गरियो । यो कार्यक्रमको आयोक जनकपुरधाम उपमहानगरपालिका आफै रह्यो । कार्यक्रमको संयोजन मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामले गर्यो ।
कार्यक्रममा रामायण सर्किट तथा मिथिला अवध सम्बन्धका बारेमा ऐतिहासिक तथ्यहरुका आधारमा राम तथा रामायण कालको विवेचना पनि गरियो । कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाल भारतबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गरेर अझ मजबुत बनाउन रामायण सर्किटले मद्दत गर्ने कुरामा जोड दिए ।
ऐतिहासिक कुरामा जोड :
प्रमुख मिश्रले जनकपुरधाम र अयोध्याबीचको सम्बन्धलाई पुनर्जीवित गर्दै ऐतिहासिक महत्वका स्थानलाई सडक, रेल तथा हवाई मार्गबाट जोडेर पर्यटन प्रवद्र्धन गर्न गराउन विशेष ध्यान दिनु आवश्यक रहेको कुरामा बल गरेका थिए । यसका लागि दुवै देशका सरकारले जी–टु–जी सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपालका लागि श्रीलङ्काली राजदूत हिमाली सुवासनी अरुणालिकाले रामायण सर्किटमार्फत् नेपाल, भारत र श्रीलङ्कालाई एउटै उद्देश्यमा जोडेर अघि बढाउन सकिने कुरामा जोड दिइन् । यसका लागि धेरै ऐतिहासिक आधारहरू श्रीलङ्कामा अझै रहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा भारतका राजेन्द्र सिंह पङ्कजले नेपाल–भारत–श्रीलंका बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन रामायण सर्किटले योगदान दिने बताए । पंकज अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहेका नेतृत्वकर्ता पनि हुन् । विश्व हिन्दु परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षा नै देश विकासको महत्वपूर्ण आधार रहेको कुरामा जोड दिएका थिए ।
तीर्थस्थलको माला निर्माण :
यसका लागि रामायणकालीन वस्तुहरूको खोजी र नवीकरण गर्नु जरुरी रहेको सबैको ठम्याइ थियो । ती वस्तुहरुको संरक्षणका लागि म्युजियम, अडियो भिडियो ग्यालरी आदिका साथै राम र सीतासँग जोडिएका स्थान संरक्षण, जानकीको जन्म, बाल्यकाल, क्रिडास्थल, फुल टिप्ने स्थल, राम सीताको पहिलो भेट भएको स्थल, धनुष यज्ञ स्थल, विवाहमण्डप आदि सबैको संरक्षणमा जोड दिइएको थियो ।
हिन्दु बेल्ट एण्ड रोड इनिसिएटिभ :
रामायण सर्किटको विषयलाई दक्षिण एशियाको हिन्दु बेल्ट एण्ड रोड इनिटिएटिभका रुपमा व्याख्या पनि गर्न थालिएको छ । यसको पहल र कार्यान्वयन हुन सकेमा यो भन्दा ठूलो ‘महाभारत सर्किट’ पनि प्रयोगमा ल्याउने तयारी भैरहेको विश्लेषण पनि हुन थालेको छ । रामायण सर्किटले भारत, नेपाल र श्रीलंकालाई मात्र जोडे पनि महाभारतले भने भारत, नेपाल, श्रीलंका, पाकिस्तान, बांगलादेश र अफ्गानिस्तान सम्मलाई जोड्ने देखिन्छ ।
भारतको आन्तरिक राष्ट्रियता :
रामायण सर्किटमार्फत् भारतले आफ्नो आन्तरिक राष्ट्रियता मजबुत गर्न खोजेको देखिन्छ । यसले उत्तर भारत र दक्षिण भारतलाई जोड्ने देखिन्छ । आन्तरिक राष्ट्रियताको सवाल यसले अव्यक्त रुपमा अघि बढाएको छ ।