• मंसिर ११ २०८१, मंगलवार

 बाहिर हल्ला गरेझैं महाधिवेशनमा ‘टीके प्रथा’ हुने देखिएको छैन : सुरेन्द्र पाण्डे

मंसिर ५ २०७८, आईतवार

(नेकपा एमालेको महाधिवेशन आइपुग्न केही दिनमात्र बाँकी रहँदा नेकपा एमालेभित्र तीन समूह देखा परिरहेका छन् । पार्टी महाधिवेशनको पूर्वसन्ध्यादेखि नै ओलीको संस्थापन समूह, पूर्वमाओवादी समूह र तेस्रोधार समूह अस्तित्वमा छन् । यस्तो बेलामा एमालेभित्र सर्वसम्मतले नेतृत्व चयन हुन्छ वा निर्वाचन हुन्छ भन्ने विषयलाई लिएर एमाले नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेसँग गोलखबर डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।)

 १. महाधिवेशनको तयारी पूरा भएकै हो ?

तयारी भव्यताका साथ पूरा हुँदैछ । नारायणघाटस्थित नारायणी नदीको किनारमा मंसीर १० गते करीब ५ लाख मानिसको उपस्थितिमा यसको उद्घाटन हुँदैछ । यसका लागि भौतिक तयारी पूरा भैसकेको छ ।

गाउँगाउँमा ‘चितवन जाऔं ! एमाले दशौं महाधिवेशन भव्यताका साथ सफल पारौं !!’ भन्ने नाराका साथ तयारी भैरहेको छ । तयारी तथा जनपरिचालन समिति वडावडामा क्रियाशील रहेका छन् । जिल्ला जिल्लामा जनपरिचालन भैरहेको छ ।

मंसीरको सुरुदेखि नै टेन्ट राख्ने काम भैसकेको छ । मानिसको चहलपहल बढिरहेको छ । उद्घाटन सत्र यही नदीको किनारमा हुने छ । त्यसपछिको बन्द सत्र सौराहमा तारे होटलभित्र भव्यताका साथ तयारी भैरहेको छ ।

२. सौराहको तयारी पनि भैसकेको हो ?

हो, बनद सत्र तारे होटलमा हुने भएकाले आवश्यक कुराहरु पहिले नै छन् त्यहाँ । सामान्य तयारी गर्न बाँकी छ । त्यहाँ उपस्थितिका लागि भव्य हल तयार गरिएको छ ।

अर्कोतिर मतदानका लागि सबै तयारी भैरहेको छ । गाडी पार्किङ, डिस्प्ले आदि सबैको व्यवस्था गरिएको छ ।

३. महाधिवेशनमा त इलेक्ट्रिक भोटिङ मेसिनको पनि तयारी गर्नुभएको छ रे त ?

यो हाम्रो दशौं महाधिवेशन हो । नवौं र त्यसभन्दा अघिल्ला महाधिवेशनमा हामीले निर्वाचनको विधि अवलम्बन गर्दै आएका पनि छौं । सर्वसम्मत र निर्वाचन दुवै विधिबाट नेतृत्व चयन गर्दै आएका छौं ।

हामीले पार्टीभित्र देखिने सहमति र असहमतिको दुवै समस्या यसरी नै हलगर्दै आएका हौं । यो दुवै विधि हामीहरुलाई स्वीकार्य छ । अहिले पनि हामी यिनै विधि प्रयोगका लागि तयारीमा छौं ।

४. अहिलेको नेतृत्वसम्बन्धी सोच कस्तो देखिएको एमालेभित्र ?

चुुनावी र सर्वसम्मतको दुवै विधि अबलम्बन गरिदा अहिलेको पूर्वानुमानमा पदाधिकारीको चयन सर्वसम्मत हुन्छ कि भन्ने देखिन्छ । त्यसअतिरिक्त केन्द्रीय समितिमा आकांक्षी धेरै देखिएकाले निर्वाचन नै हुन्छ ।

यसको व्यवस्थापनका लागि भोटिङ मेसिन ल्याउने सम्झौता पनि समयमै गरिसकिएको छ । बाहिर भने जस्तो ‘टीके प्रथा’ नै हुने देखिएको छैन । सहमति भएमा सहमतिका आधारमा नभएमा निर्वाचनमा जाने सबै तयारी छ ।

५. पार्टीभित्र त संस्थापनपक्षबाट लोकतान्त्रिक अभ्यासको दायरा साँघुरो बनाउने र अरुलाई ‘स्पेस’ नै नदिने भन्ने सुनिएको छ ?

अदालतले नेकपा विभाजन गरिदिएपछि एमालेभित्र आन्तरिक विवाद बढ्दै गैरहेको छ । पार्टीको एक हिस्सा फुटिसकेको छ । बाह्य तथा आन्तरिक जटिलताको यो अवस्थामा पार्टीले लिने निर्णयलाई लोकतान्त्रिक अभ्यासको दायरा साँघुरो बनाउने आरोप लगाउन मिल्दैन । यो टीके प्रथा पनि होइन, बरु समयसापेक्ष राजनीतिक वैचारिक समस्याको समाधान हो । सबैलाई समेटेर पार्टी बलियो बनाउने प्रक्रियालाई राम्रोसँग बुझ्नुपर्छ ।

६. त्यसो भए महाधिवेशनपछि एमालेमा फरक मत र गुट रहँदैन अब ?

त्यसो पनि नभनौ । एमालेमा कोही पनि माधव पक्ष र ओली पक्षमात्र छैनन् । एक समय एकै ठाउँमा रहेका माधव–ओली भिन्न भएको दृष्टान्त हाम्रै आँखा अगाडि उभिएको छ । तर एमालेभित्र जुन स्थायी गुट छ, त्यसलाई भत्काएर हामी पार्टी बनाउन चाहन्छौं । तर यही कोर्सबाट आइरहेका मानिसहरुले आफूहरुले गुटबन्दी गरिरहेका छौं भन्ने कुरा बुझ्दैनन् ।

७. युवाहरु त नेताको जयजयकार गरेर तिनैलाई बोकिरहन्छन् त ?

युवाहरुमा हाम्रो नेताको बढी प्रचार गरियो भने पार्टी बलियो हुन्छ भन्ने धारणा बनेको देखिएको छ । तर त्यसले स्थायी गुट बनाइरहेको हुन्छ भन्ने तिनीहरुलाई थाह हुँदैन । युवा समय र अनुभवका हिसाबले काँचो हुन्छन् पनि । बिस्तारै उमेर बढेर परिपक्व हुँदै गएपछि आजका युवाले भोलिमात्र बुझ्छन् यस्ता कुरा । युवामा अनुभव भन्दा पनि जोश र उत्साह बढी हुन्छ ।

८. खोइ, तपाईहरु प्नि आफूहरुलाई युवा नै भन्नु हुन्छ । त्यसो भए हालका तेस्रो धार भनिने तपाईहरु नै काँचो युवा भएका कारण आठौं र नवौं महाधिवेशनमा त्यस्तो हुन पुगेको हो ?

कुरा साचो हो, आठौं र नवौं महाधिवेशनले यो कुरा हल गरेन । हामीले पनि गल्ती गर्यौं । अब पनि त्यस्तो गल्ती नगरौं भन्नेमा हामी पुगेका छौं । देख्यौं त त्यही समस्याले आज पार्टी विभाजनसम्म ल्याइ पुर्यायो ।

अब हामी सतर्क र सचेत भएर पार्टी एकतालाई सुदृढ बनाउने अभियानमा लागिपरेका छौं । पार्टीलाई गुटरहित बनाउने अभियानमा छौं । पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियालाई फराकिलो बनाउने अभ्यासमा छौं ।

९. तर तेस्रो धार भनेका युवाहरुले त निकै अवसरवादी बिचौलियाको राजनीति गरे भन्ने प्रभाव पो छ त जनताका बीचमा त ?

यी कुरा वास्तवमा यस्ता मानिसले गरिरहेका छन्, जसले एमाले फेरि पनि फुटाउन चाहन्छन् । उनीहरुले यस्ता कुरा गरेर बारम्बार उचाल्न प्रयास गरिरहेका छन् । हामीले पार्टीभित्र देखिएका समस्याको कुरा गरिरहेका थियौं र छौं पनि ।

त्यति बेला पनि देशविदेशका शक्तिहरु हामीलाई फुक्र्याउन खोज्दै ‘तिमीहरु त भयंकर आदर्शवादी शक्ति हौ’ भनिरहेका थिए । ओलीसित बस्नै मिल्दैन पनि भनिरहेका थिए । हामीले ‘अहो, हो त नि है’ भनेर त्यत्तिकै हामफाल्न त मिल्दैन ।

१०. त्यसो भए के गर्नुहुन्छ त ? एमाले सुध्रिएला, केपी ओली सुध्रिएलान जस्तो लाग्छ ?

हामी आदर्शवादी हौं भनेर अध्यारोमा कुद्दैनौ । हिजो, आज र भोलि पनि एमालेभित्रका समस्या समाधानमा लागि पर्छौं । फुटेर होइन, जुटेर समस्याको समाधान खोज्छौं । हामीले एमालेको विकल्प खोज्ने गरी अन्तर पार्टी संघर्ष पनि चलाएका थिएनौ ।

११. त्यसैले एमालेभित्र चूपचाप बसिरहनु भएको हो ? कि त ओलीजी सच्चिनु भयो भन्नु पर्यो ।

होइन, उहाँले पार्टी बैठकमा थुप्रै कुराहरु गर्नु भएको छ । त्यसलाई करेक्सन गरेर जानुपर्छ पनि । पार्टी सुदृढ गर्ने, बयिो बनाउने, चुनौतीलाई परास्त गर्ने र पार्टी एक ढिक्का बनाउने कुरामा ओलीजी र हामी सबै ठाउँमा छौं ।

१२. ओलीजीले गर्नुभएका कुरामा तपाईहरुलाई महाधिवेशनबाट जसरी पनि ल्याउँछु भन्नु भएको छ ?

पार्टीमा नेतृत्वको ‘प्लेसमेन्ट’ गर्ने कुरामा म सधैं रहेको छु । मेरो विगत हेरे पनि थाह हुन्छ । जब कि नेताहरुले को व्यक्तिलाई कहाँ बढाउने भन्ने बारेमा नै सोच्दैनन् भने हामीले गर्ने के त ? के नेताहरुको भूमिका हुँदैन यसमा ? अवश्यै हुनुपर्छ ।

नेता सर्वोपरि हुनसक्दैन, तर केही बढी त हुन्छ नै । संसारमै यस्तै छ । नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वमा हुनुहुन्छ । उहाँले कुन नेतालाई कहाँ जिम्मेवारी दिने भन्ने सोच्नै पर्छ । यो प्लेसमेन्टको कुरा हो । पार्टीमा हुने यो समझदारीलाई आत्मसमर्पण भन्न मिल्दैन । अहिले एमालेमा ओलीको भूमिकालाई कसैले पनि अस्वीकार गर्न सक्दैन ।

१३. त्यसो भए ओलीजीलाई अब सर्वशक्तिमान बनाउनु हुने भयो ?

हाम्रो पार्टीको विधानबमोजिम अधिकार अध्यक्षले प्रयोग त गर्छ नै । यसलाई सर्वशक्तिमान बनाउन लागेको भनी व्याख्या गर्न मिल्दैन । उचित पनि हुँदैन । यो विधानतः प्रयोगमा आउने अधिकार हो ।

१४. विधान महाधिवेशनले पार्टी विधान लोकतान्त्रिक बनाएको भन्ने हल्ला थियो, यसो भएको होइन र ?

विधानमा पदाधिकारीदेखि केन्द्रीय समिति सदस्यसम्म सबै अध्यक्षले चुन्ने व्यवस्था छ । कुन चाहिं संशोधन भएको छ र ? विधान महाधिवेशन हुँदै गर्दा अध्यक्ष महाधिवेशनबाट चुनिन्छ र अरु सबै केन्द्रीय समिति सदस्य पनि महाधिवेशनबाट चुनिन्छन्, साथै यिनैबाट पदाधिकारी अध्यक्षद्वारा चुनिन्छन् भन्ने कुरा हल्ला मात्र हो । । साबिकको जे व्यवस्था थियो, अहिले पनि त्यही व्यवस्था छ ।