जातीय कुरा हिन्दु धर्म र संस्कारमा आधारभूत कुरा भएर आउँछ । शायद यही नै यसको जग हो । यो भारत र नेपालजस्ता हिन्दुबाहुल्य देशहरुमा हठी सामाजिक व्यवस्था बनेर उभिएको छ ।
यो देशव्यापी र भारतीय उपमहाद्विपव्यापी छ । नेपालको साामाजिक व्यवस्था यसैबाट निर्देशित छ । यसको असर सहरमा निकै कम देखिए पनि गाउँगाउँमा भने व्यापक नै छ । ती गाउँहरुमा यो ध्रुव र प्रतिध्रुव बनेर अभिव्यक्त भैरहेको हुन्छ ।
अछामको साँफेबगर नगरपालिका वडा नं. २ मा पर्ने जाल्पादेवीको बागभिडी टोलमा कुँवर, विश्वकर्मा र आउजी तीन थरी मानिस एकै ठाउँमा बस्छन् । यी लामो समयदेखि बसोबास गर्दै आएका हुन् ।
यो गाउँको सिह्रान र वरपरका जंगल फँडानी हुँदै आएपछि यहाँ पानीको मूल सुकिसकेका छन् । परम्परागत रुपमा प्रयोग गर्दै आएका कुवा र पँधेराहरु सुकेपछि अहिले यहाँ एउटा मूलबाट खाने पानीको व्यवस्था गरिएको छ ।
पाइपबाट पानी ल्याएर पानी ट्यांकी निर्माण गरी गाउँमा वितरण पनि गरिएको छ । तर पानीका धारा जातका आधारमा निर्माण र वितरण गरिएको छ । एउटा धारामा ‘उच्च’ जाति र अरु दुई धारामा दलित जातिले पानी भर्ने र गुजारा चलाउने गरिरहेका छन् ।
तर आश्चर्यको कुरा के छ भने पानीको मुहान एउटै छ । गाउँ र टोलमा पुर्याइएको पानीको ट्यांकी पनि एउटै छ । मात्र खानेपानीको धारा अलग अलग गराइएको छ : ‘ठूला जात’का लागि, ‘साना जात’का लागि र ‘झन् साना जात’का लागि ।
ठूला जातका लागि बनाइएको धाराको पानी क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । साना जातिका लागि बनाइएका धारामध्ये एउटा दलित समुदायका विश्वकर्मा र अर्कोमा आउजीहरुले प्रयोग गर्दछन् ।
पानी धारामा विभाजित यहाँको जातिय असमानता अहिले यो पानीको मूलसम्म पुगिरहेको छ । त्यसको पीडा अहिले आउजीमा आएर थोपरिएको छ । अन्य दुई धारा चलिरहेका छन्, तर आउजीको पानीखाने धारो सुकेको छ । त्यसमा पानी आउँदैन ।
अहिले आउजीले धारामा पानी भएका कारण कुवाबाटै पानी ओसार्न र प्रयोग गर्न थालेका छन् । यो पानी लिनका लागि १ घण्टा टाढाको वनमा जानुपर्ने बाध्यता छ ।