• मंसिर ८ २०८१, शनिबार

रुसी क्षेप्यास्त्रद्वारा भूउपग्रह ध्वस्त

मंसिर ३ २०७८, शुक्रबार

रुसले अन्तरीक्षमा रहेको भूउपग्रह ध्वस्त पार्ने क्षेप्यास्त्र सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो पुरानो भूउपग्रहलाई लक्षित गरी यो साता प्रक्षेपण गरिएको ‘एन्टी स्याटेलाइट मिसाइल’ले उसको आफ्नै पुरानो भूउपग्रहलाई ध्वस्त पारिदिएको छ ।

यसलाई लिएर अमेरिकाले निकै गहिरो चिन्ता व्यक्त गरिसकेको छ । अमेरिकाले रुसको यो व्यवहार सिंगो अन्तरीक्ष गतिविधिका लागि खतरा बनेको पनि बताएको छ । तर रुसले कसैलाई क्षति हुने र अरु कसैको भूउपग्रहमा क्षति पुर्याउने उद्देश्यले ‘एन्टी–स्याटेलाइट क्षेप्यास्त्र’ प्रक्षेपण नगरिएको स्पष्टीकरण दिएको छ ।

आफूहरुले आफ्नै पुरानो भूउपग्रह निकम्मा भएकाले त्यसलाई ध्वस्त गरिनु पर्ने योजनाअनुसार उक्त क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेको छ । यो परीक्षणबाट रुसले सफलता पाए लगत्तै रुसी ‘एन्टी स्याटेलाइट मिसाइल’ अबका दिनमा ‘टेस्टेड’ भैसकेको छ ।

मिसाइल परीक्षणका कारण बिष्फोटमा परेको उक्त रुसी भूउपग्रह ३ हजार टुक्रामा बिभाजित हुन पुगेको छ । त्यो मध्ये १५ शय टुक्राहरु ठूला आकारका र अन्तरीक्ष गतिविधिमा बाधा सिर्जना गर्ने खालका रहेका छन् ।

अन्तरीक्षमार्फत् अरु ग्रह, तारा र नक्षत्रको खोजीका लागि अन्तरीक्ष यान पठाइँदा यी टुक्राहरुले ठक्कर दिई आगो लगाउन सक्ने र क्षति पुर्याउन सक्ने अनुमान पनि गरिन थालिएको छ ।

आमजनतामा देखाउनका लागि सार्वजनिक प्रचारमा यो कुरा ल्याइए पनि रुसी क्षेप्यास्त्रको मारले अमेरिकी स्याटेलाइट सुरक्षित नहुन पुगेकोमा अमेरिकी चिन्ता बढेको देखिन्छ ।

यो परीक्षणमा पृथ्वीको सतहदेखि ४२० किलोमिटरमाथि रहेको भूउपग्रहलाई निशाना लगाइएको छ । यसको प्रयोगपछि अन्तरीक्षमा वातावरणीय प्रदुषणका कुरा उठ्न थालेका छन् । अक्सिजन अभावका कारण बिष्फोटमा भएका टुक्राहरु जल्न सकेका छैनन् ।

यो मिसाइलको प्रयोगले अबका दिनमा अन्तरीक्ष पनि फोहर हुने र त्यसलाई कसरी सफा गर्ने भन्ने बारेमा वैज्ञानिकहरुलाई सोच्न बाध्य बनाएको छ ।