• मंसिर ११ २०८१, मंगलवार

साउथ चाइना सीमा अमेरिकालाई तर्साउँदै चिनियाँ नेभी–मिलिसिया

मंसिर ३ २०७८, शुक्रबार

काठमाडौं । चीनलाई घेर्ने रणनीति अपनाएर विश्वमा आफ्नो उपस्थिति देखाउन दौडधूप गरिरहेको अमेरिकाले दक्षिणी चिनियाँ सागर (साउथ चाइना सी) मा चिनियाँ नेभी–मिलिसियाको बाक्लो उपस्थिति रहेको जनाएको छ । आफ्नो पछिल्लो अनुसन्धान भन्दै अमेरिकाले उसको प्रतिस्पर्धी चीनसँग त्यहाँ सामुन्द्रिक मिलिसिया खटाइएको आपत्ति प्रकट गरिरहेको छ ।

यसै साता मात्र चिनियाँ आर्थिक उन्नति अमेरिकाको भन्दा अगाडि गैसकेको समाचार सार्वजनिक भएपछि अमेरिकाले विश्वमा आफ्नो साख धान्न गाह्रो बनाइरहेको छ । त्यसो त अमेरिकाले उक्त सार्वजनिक तथ्याङ्कको खण्डन पनि गरेको छैन । यो तथ्यांकले पुष्टि गर्छ कि चिनियाँ आर्थिक उन्नतिले अमेरिकालाई पछि पारिसकेको छ । अमेरिकी स्वयम्ले पनि सन् २०३०सम्म चीनले आफूहरुलाई उछिन्ने आँकलन गरिरहेका थिए ।

तर आश्चर्य ! सैन्य, सामरिक, शस्त्रअस्त्र तथा अन्तरीक्ष प्रतिस्पर्धाका हिसाबले चीन केही पछि रहे पनि आर्थिक हिसाबले लगभग १ दशक अघि नै उछिनिसकेको छ । विश्लेषकहरु भन्छन्, अब अमेरिकाले आफ्नो श्रेष्ठता सेना र शस्त्रास्त्रमा देखाउनुको विकल्प रहेन ।

ठीक यसैबेला अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) ले दक्षिणी चिनियाँ सागरमा रहेका ससाना सामुद्रिक टापुुहरुमा चिनियाँ सामुन्द्रिक मिलिसियाले सुरक्षा दिइरहेको कुरा सार्वजनिक गरेको छ । उक्त मिलिसियाका साथमा ३ सयभन्दा बढी पाजीजहाज रहेको र उनीहरुले त्यही पानीजहाजमा बसेर गस्ती गरिरहेको पनि खुलाएको छ ।

चीनका अनुसार आफ्नो सामुद्रिक सीमाभित्र पर्ने ती इलाकाहरुमा व्यापार तथा माछामार्ने व्यवसायिक हिसाबले साधरण जनताको आवतजावत सधैं नै भैरहने गरेको हुन्छ । अमेरिकाले दाबी गरेको भनिएका ती सैयौं पानीजहाजमा माछा मार्ने व्यापारिक बेडा रहेको चीनको दाबी रहँदै आएको छ ।

अमेरिकाले ‘दक्षिणी चिनियाँ सागर’ लाई विवादित भने पनि त्यो पहिल्यैदेखि चीन सार्वभौमिकता अन्तर्गत रहेको चीनले स्पष्टीकरण दिंदै आएको छ । ‘एक–चीन नीति’का आधारमा आफ्नो समग्र भू–भाग रक्षाको जिम्मा आफ्नै भएको उसको दाबी छ ।

थप आश्चर्यको कुरो त के छ भने चीनले उक्त क्षेत्रमा हवाइ उडानका लागि धावनमार्गसहितका कृत्रिम टापु निर्माण गरिसकेको छ । त्यहाँ निर्मित बन्दरगाह, धावनमार्गसहित अन्य विकास निर्माणका लागि आवश्यक सुरक्षा प्रदान गर्न सैन्य संचरना पनि निर्माण गरिसकेको छ ।

दक्षिणी चिनियाँ सागर चीनका साथै भियतनाम, फिलिपिन्स, मलेसिया, ब्रुनाइ र ताइवानको सीमासमेत पर्दछ । दक्षिणी चिनियाँ सागरको विवाद अमेरिकाले बारम्बार उठाइरहँदा अमेरिका आफैले ‘ताइबानलाई आफू सक्दो सहयोग गर्ने’ र ताइवानी राष्ट्रपतिले ‘आफूहरुको रक्षा अमेरिकाले मात्र गर्न सक्ने’ भन्ने एउटै आवाज सार्वजनिक भएपछि चीन निकै सतर्क अवस्थामा रहेको छ ।

१९ औं शताब्दीको पूर्वाद्र्धमा बेलायत र अमेरिकाले चीनविरुद्ध अफिम युद्ध सञ्चालन गरी निकै सताएपछि चीन पश्चिमा देशहरुसँग निकै सतर्क रहेको छ । त्यसपछिका दिनमा सुरक्षाका लागि चीनले आफ्नो सामुद्रिक तटीय इलाकामा नेभी–मिलिसियालाई सन् १९५० देखि खटाउँदै आएको छ ।

चीनले अहिले ससाना ‘पार्सल आइल्याण्ड’ बाट इन्धन, निर्माण तथा मर्मतका कामहरु अघि बढाइरहेको छ । नेभी–मिलिसियाले भौगोलिक एवम् सामुन्द्रिक सुरक्षाका लागि निकै महत्वपूर्ण कामगर्दै आइरहेको बेइजिङको स्पष्टोक्ति रहेको छ ।

यो मिलिसियाले चीन विरोधी गतिविधिमा निगरानी राख्नुका साथै परिआएमा तिनलाई छेक्ने र अबरोध सिर्जना गरेर चिनियाँ सार्वभौमसत्ताको रक्षा गर्ने पनि गरिरहेको छ ।

पछिल्लो समयमा यी मिलिसियालाई व्यावसायिक तालिमबाट समेत् दिक्षित गरिएको छ ।