मंसीर महिना सुरु भयो । हिउँदका दिन आए । अबका दिनमा सूर्य दक्षिणायन हुँदै जाँदै छन् । यसले उत्तरी ध्रुवतिर रहेको नेपालमा चीसो मौसम सुरु गराउँछ ।
यो चीसो मौसम वातावरण चीसो हुनुका कारणले मात्र हाम्रा लागि प्रतिकूल छैन, बरु यो मौसममा वायु प्रदुषण अत्यधिक हुने गर्दछ । काठमाडौं उपत्यकामा त वायु सर्वाधिक प्रदुषित हुन्छ ।
यो अवस्थामा स्वास्थ्यका हिसाबले उपत्यकाको वायु खतराको घण्टी बजाउने अवस्थासम्म पुगिसकेको हुन्छ । अहिले दिल्लीमा जनस्वास्थ्यलाई ख्याल गरी बेला बेलामा ‘लकडाउन’ गर्ने गरिरहेको छ ।
नेपालमा त्यो अवस्था नआओस् भनेर कामना गर्न त सकिएला, तर यसलाई रोक्नका लागि सम्बन्धित पक्षबाट प्रयास गरिएको भने देखिदैन । जनस्तरबाट पनि यसलाई केही बढी बेवास्ता गरिएको देखिन्छ ।
यति मात्र होइन, काठमाडौं उपत्यकामा वायु प्रदुषित हुने कारण यसको आफ्नै प्राकृतिक बनोट पनि हो । उपत्यका आफैमा कचौराजस्तो आकारको छ । रातभर उपत्यकामा परेको शीत वा कुनै बेला पानी पर्दा बिहानपख त्यो तातिन गई तातेको हावाको तह माथि र चिसो हावाको तह मुनी हुनगै उपत्यकामा गाडी गुड्दा उडेको धूलो तल्लो चीसो तहमा नै रोकिन पुग्नाले पनि अत्यधिक वायु प्रदुषित हुन पुग्छ ।
तातेको हावाको माथिका तह ढकनीका रुपमा रहने भएकाले तल्लो तहको चीसो वायु वरपर जान र हलचल गर्न नै पाउँदैन । त्यहाँ रहेका धूलो, धुँवालगायत वायु प्रदुषित गराउने कणहरु पनि यही मुनीको तहमा बाक्लिएर रहन्छन् ।
अर्कोतिर जाडो महिनामा आगो बढी बालिन्छ । कृषिजन्य अवशेष पनि यसै बेलामा जलाएर नष्ट गरिन्छ । चोकचोकमा पनि प्लाष्टिक पोलेर नष्ट गर्ने चलन बढ्दो नै छ । यही बेलामा जंगलमा डढेलो पनि लाग्ने गर्दछ ।
अर्को महत्वपूर्ण कुरा, इण्डियन उपमहाद्विपमा भएको वायु प्रदुषण पनि यही बेलामा हिमालयसम्म आइपुग्छ । यसले अग्लो हिमश्रृंखलाका कारण हिमदूर्गको सीमा पार गरी चीनतिर जान पाउँदैन र नेपालको आकाशमा थुप्रन पुग्छ ।