• मंसिर १२ २०८१, बुधबार

यस्तो देखियो नेकपाको नेपाल बन्द

कार्तिक ३० २०७८, मंगलवार

काठमाडौं । नेपालमा सधैंजसो महंगीको मारले सर्वसाधारण जनतालाई ढाड सेक्ने गरेको छ । महिनै पिच्छे, सरकार बदलिने बित्तिकै उनीहरुको काम भनेको महंगी बढाएर जनता सताउनु रहेको हुन्छ । यस्तो लाग्छ यो देशका शासक र प्रशासकहरुको प्रमुख रुचीको विषय नै देशलाई उत्पादनमा पर निर्भर बनाएर महंगीलाई आकासमा पुर्याउनु हो । महिनामा दुईपटकको हिसाबले महंगी बढ्ने एउटा चर्चित क्षेत्र रहेको छ, त्यो हो इन्धन अर्थात् नेपाल आयल निगमले गर्ने कारोबार ।

नेपालमा लगातार वृद्धि हुने इन्धनको मूल्यको केहि राजनैतिक पार्टी र तिनका भातृसंगठनहरुले पटके विरोध गरे पनि परिणाममुखी विरोध भने गरेको देखिंदैन । दृश्यमा त यस्तो पनि देखिन्छ कि आफ्नो माउ पार्टीको सरकारले गरेको कुनै पनि मूल्यवृद्धिको तिनीहरुका भातृसंगठनले कुनै पनि विरोध गर्दैनन् तर सरकारमा आफ्नो माउ पार्टी विपक्षमा भएको बेला सरकारले बढाएको महंगीको भने तिनका भातृसंगठनहरुले विरोध गरेको देखिन्छ तर पनि त्यस्ता संगठनहरु कहिल्यै पनि मूल्यवृद्धि कम गराउने गरि आन्दोलनलाई अगाडी बढाएका हुंदैनन् ।

यसपटक सरकारले विगत सात महिनामा दश पटक पेट्रोलियम पदार्थको र अरु अत्यावश्यकीय समानहरुको चर्कोरुपमा मूल्य वृद्धि गरेर आफ्नो जनविरोधी अनुहार देखायो । केही संघ संगठन र राजनैतिक पार्टीहरुले मूल्यवृद्धिको विरोध गरेजस्तो गरेपनि उनीहरुले खासै परिणाममुखी तरिकाले मूल्यवृद्धिको विरोधलाई अगाडी बढाएका छैनन् ।

तर वैकल्पिक राजनैतिक धारालाई अगाडी बढाएको नेपाल कम्युनिष्ट पार्टीले देशमा मूल्यवृद्धि हुनसाथ आन्दोलनका साताव्यापी आक्रामक कार्यक्रम घोषणा गर्यो । सो पार्टीका घोषित आन्दोलनका कार्यक्रम अनुसार कार्तिक ३० गते नेपाल बन्द रहेको थियो । सो पार्टीले शान्तिपूर्ण रुपमा नेपाल बन्द आयोजना गरेको बताएको छ ।

बन्दका किस्सा: रातिबाटै नेता गिरफ्तारदेखि बन्दकर्ताले सडक रंग्याउनेसम्म

पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन आज कार्तिक ३० गते बिहानको झिसमिसेमै काभ्रेको धुलिखेलबाट सो पार्टीका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्द ‘आधार’,सो पार्टीका धादिङ्ग जिल्लाका पूर्वसचिव तथा युवा नेता प्रमोद गिरी, अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य प्रकाश तिरुवा लगायत १३ जना नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रणमा पुगे । धुलिखेलको वेलकम होटेलमा सुतिरहेका ती नेता तथा कार्यकर्तालाई बिहान साढेपाँच बजे नै प्रहरी आएर नियन्त्रणमा लिएको धुलिखेल हिरासतबाट गोलखबरको सम्पर्कमा आएका केन्द्रिय सदस्य आधारले बताए ।

नेपाल बन्दको क्रममा चितवनमा केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज सन्देस पौडेल सहित ९ जना नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रमा पुगे । नेता पौडेललाई जिल्लाको लायन्स चोकबाट प्रहरीले नियन्त्रणमा लियो भने चौबिसकोठीबाट पाँच जना र पूर्वी चितवनबाट तीनजना बन्दकर्ता प्रहरी नियन्त्रणमा पुगे । उता काठमाडौँको सुन्धाराबाट टायर बालेर सडक अवरुद्ध गरिरहेको अवस्थामा सो पार्टीका कार्यकर्ता गिरफ्तार भए भने बिहानै काठमाडौँको महाराजगञ्जबाट पार्टी निकट युवा संगठनका महासचिव सावित्रा अधिकारी ‘विदुषी’ प्रहरीको नियन्त्रणमा पुगिन् ।

कर्णालीको सुर्खेत र रुकुम पश्चिमबाट गरेर २० जना बन्दकर्ता प्रहरीको नियत्रणमा पुगे । पश्चिम रुकुमबाट गिरफ्तार हुनेहरूमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोतिराम खड्का,अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सोमपाल कामी लगायत रहेका छन् । सिन्धुलीमा गिरफ्तार हुनेहरूमा नेकपाका सिन्धुली सेक्रेटरी गोपाल ब्लोन, जिल्ला सदस्य शशी राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तेज लामा, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मिम ऐडी लगायत २६ जना रहेका छन् ।

नेपाल बन्दको प्रचार गर्दै हिंडेका सो पार्टीका काठमाडौँ महानगर सचिव संघर्ष र नेवाः मुक्ति मोर्चा काठमाडौंका अध्यक्ष दिपक मानन्धर पनि गिरफ्तारीमा परेका छन् । त्यस्तै काठमाडौँमै अखिल (क्रान्तिकारी) पशुपति क्याम्पसका अध्यक्ष सुवास महत पनि गिरफ्तारीमा परेका छन् । गिरफ्तार हुने अन्य कार्यकर्तामा रामकृष्ण गिरी, भुवन तामाङ, सुकबहादुर तामाङसहित ६ जना रहेका छन् । उता नुवाकोटबाट सातजना बन्दकर्ता पक्राउ परेको बताइएको छ । नेपाल बन्दको क्रममा इलाम जिल्लामा दुईजना प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ११ धानखोलाबाट १२ जना बन्दकर्तालाई प्रहरी गिरफ्तार गरेको छ । सो ठाउँबाट गिरफ्तार हुनेहरुमा पार्टीका जिल्ला सदस्य सागर पुन, मनु गिरी, कर्णबहादुर राना, होमबहादुर केसी, सन्तोष काउछा, देवेन्द्र पुन, नारायण महरा, पूर्णबहादुर राना, सन्तराज खत्री लगायत रहेको पार्टीका जिल्ला सचिव खेम घर्तीले जानकारी दिए ।

शान्तिपूर्ण नेपाल बन्द

नेकपाले आयोजना गरेको नेपाल बन्द मूल रुपमा शान्तिपूर्ण रुपमा भएको छ । ललितपुर जिल्लाको इटीचोकमा बन्दकर्ताले बा५ख ८७५५ साझा बस अलिकति तोडफोड र इलाममा बन्दकर्ता विद्यार्थी र प्रहरीबीच लखेटा लखेट हुँदा एकजना बन्दकर्ता विद्यार्थी र शसस्त्र प्रहरी बलका एकजना शसस्त्र प्रहरी निरीक्षक सामान्य घाइते भएको बाहेक यो बन्दमा अरु कुनै अप्रिय घटना भएको देखिएको छैन ।

नेपाल बन्दमा बन्द नभएको जिल्ला

सो पार्टीले पुरै नेपाल बन्द गरेपनि मुगुको सदरमुकाम गमगढीमा हालै आगलागीको प्रकोप भएको हुनाले पार्टीले सो जिल्लालाई बन्द नगर्ने घोषणा गरेको थियो । पार्टीको घोषणा अनुसार पुरै मुगु जिल्ला नेपाल बन्दको दिन पनि खुल्लै रहेको थियो।

अचम्मको बन्द
नेपाल बन्द गर्दा बन्द आयोजना गर्ने पार्टीका नेता कार्यकर्ता तथा समर्थक र शुभचिन्तक सडकमा आएर नारा जुलुश गर्ने, टायर बाल्ने, तोडफोड गर्ने कार्यलाई नेपालका आन्दोलनहरुमा नेपाली जनताले देख्दै र भोग्दै आएका थिए तर नेपाल कम्युनिष्ट पार्टीले यसपटक आयोजना गरेको नेपाल बन्दमा कतै कतै यस्ता दृष्य देखिए जसलाई मानिसहरुले बन्द गर्ने नौलो र लोकप्रिय तरिका समेत भन्न भ्याए ।

सल्यान र दाङ्गका बन्दकर्ता नारा जुलुसका साथ र पार्टीका झण्डा र व्यानरका साथ देखा नपरेर उनीहरु सडकमा सरसफाई एवम् सडक विभागका कर्मचारी जस्तै गरेर देखा परे । बन्द कर्ताले बन्दले खाली भएका सडकका ट्राफिक चिन्हहरु रंगाए । जेब्राक्रस बनाए । उनीहरुको यस्तो कार्यलाई प्रहरीले समेत साथ दिए । नेकपाका केन्द्रिय सदस्य एवं सल्यान जिल्ला इञ्चार्ज सविन पोखरेलका अनुसार पार्टीले बन्दको दिन खालि भएको जिल्लाको व्यापारिक केन्द्र श्रीनगर बजारको सडकमा मेटिएका ट्राफिक चिन्हहरुलाई पेन्टिङ गरेर चम्किलो बनाएको छ ।

अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष राजेन्द्र खड्गाको नेतृत्वमा रहेका युवाहरुले यस्तो सिर्जनशील कार्य गरेको पोखरेलले जानकारी दिए । जबर्जस्ती बाहेक सिर्जनशील कार्य गरेर पनि आन्दोलनका कामलाई सफल बनाउन सकिन्छ भनेर पार्टीले यस्तो कार्य गर्ने सोचाई बनाएर युवाहरु परिचालन गरेको उनको भनाई छ । बन्दको बेला सडकमा पेन्टिङ गर्ने कार्यमा नेपाल प्रहरीको पनि सहयोग र सहभागिता रहेको विद्यार्थी अध्यक्ष खड्गाले गोलखबरलाई बताए ।

सल्यानको जस्तै कार्य बन्दकर्ताले दाङ्गमा पनि गरेका छन् । दाङ्गको तुलसीपुर उपमहानगर पालिकाको तुलसीपुर बजारमा रहेको सडकलाई बन्दको दिन पारेर पेटिङ गरिएको पत्रकार हेमन्त ओलीले जानकारी दिए ।