• मंसिर १८ २०८१, मंगलवार

१ करोड ६० लाखको गोरु : के छन् यसका विशेषता ?

कार्तिक २९ २०७८, सोमबार

काठमाडौँ । मानिसलाई नबुझ्ने हुँदा काम नलाग्ने हुँदा अथवा कुरा नबुझ्ने भएको समयमा उसलाई ‘कस्तो गोरुजस्तो’ भनेर हियाउने चलन हाम्रो समाजमा कतै कतै देखिन्छ । नेपाली शब्दकोषमा पनि गोरु शब्दको अर्थ गाईको बाछोको साथै अबुझ, सोझो र मुर्ख भनेर अर्थ्याइएको छ । यस हिसाबले गोरु भनेको नेपाली समाजमा गाईको बाछो मात्रै होइन सोझो मानिस, मुर्ख मानिस र अबुझ मानिसलाई पनि गोरुकै संज्ञा दिइने गरिन्छ ।

हाम्रो जस्तो कमै विकास भएको देशमा गोरुको मुख्य काम बाँझोखेत फुटाउने हो । त्यसबाहेक गाईलाई प्रजनन् कृयामा सहयोग गर्ने र गोब्र्याउने पनि गोरुका कामहरु हुन् । गोरुबाट भएका कृयाकलापहरुले मानिसले आम्दानी र जिविकोपार्जन गरेपनि स्वयम् गोरु भने त्यति आकर्षक आम्दानीको स्रोत बनेको कमै देखिन्छ । शहरका गल्लीहरुमा छाडा र बेवारिसे छाडिने गोरुलाई गाउँ घरमा भने खेतिपातिको लागि किनबेच गरेको पनि पाइन्छ ।

तर हालै दुनियाँमा यस्तो पनि गोरु पनि देखा पर्यो जसले माथि उल्लेखित गोरुका शाब्दिक अर्थ नै बदलेको आभाष हुन जान्छ । छिमेकी देश भारतमा एउटा गोरुले आफूलाई एक करोड भारतीय रुपैयाँ मूल्यमा देखाएर दुनियाँलाई चकित बनायो । भारतको दक्षिण पश्चिम राज्य कर्नाटकको सबैभन्दा ठूलो एवं राजधानी शहर बैंङलुरुमा आयोजित एक कृषि मेलामा ‘कृष्ण’ नाम गरेको साँढे अर्थात् गोरु एक करोड भारतीय रुपैयाँ अर्थात् एक करोड साठीलाख नेपाली रुपैयाँमा किनबेच भएको छ ।

भारतको पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार किसान बोरेगोदाले पालेको सो गोरु कृषि मेलामा यसरी किनबेच भएको हो । यसरी उच्च मूल्यमा बिक्रि भएसँगै यो गोरु संसारमा चर्चाको शिखरमा चढेको छ । गोरुका मालिक बोरेगोदाका अनुसार सो गोरु हल्लिकर प्रजातीको गोरु हो । यस गोरुको विर्यको भारत लगायत संसारमा उच्च माग रहेको छ ।

यो प्रजातीको गोरु लोप हुँदै गएकोले पनि यसको विर्यको माग बढेको हो । साढे तीनवर्षको सो गोरुको एक डोज विर्यको मूल्य भारतीय रुपैयाँ एकहजार पर्ने गरेको छ । गोरुको विर्य बिक्रीबाट बार्षिक २४ लाख भारतीय रुपैयाँ आम्दानी हुने गरेको जानकारी सो गोरुपालक किसानले दिएका छन् ।