• मंसिर ८ २०८१, शनिबार

साहित्यकार अनामणिको ‘नेपालको पहिलो भू-उपग्रह’ पुस्तक प्रकासित

कार्तिक २७ २०७८, शनिबार

काठमाडौं । साहित्यकार तथा पत्रकार रत्नप्रसाद अनामणि श्रेष्ठ द्रुतमार्गबाट साहित्य सिर्जना गर्ने श्रष्टा हुन् । वर्षौं लाएर रचना गर्ने तर थन्क्याएर राख्ने र प्रकाशन नगर्ने वा ढिला गर्नुको सट्टा छिटो रचना गर्ने र छिटै तथा छोटै भएपनि प्रकाशन गरिहाल्ने र पाठकमाझ गइहाल्ने बानी भएको कारण उनलाई द्रुतमार्गबाट साहित्य रचना गर्ने साहित्यकार भनिएको हो ।

श्रेष्ठले हालसम्म ३ दर्जन भन्दा बढि पुस्तकहरु प्रकाशनमा ल्याएका छन् । उनी खासगरी संस्कृति र विज्ञान सम्बन्धि विषयमा अध्ययन गर्न र यिनै विषयमा लेख्न मन पराउँछन् । तर यतिमा मत्रै उनको लेखन सिमित भने छैन । कृषि, पर्यटन, कला, राजनीति तथा वैज्ञानिक खोज तथा अनुसन्धानका बारेमा पनि उनको कलम चलिरहेको छ ।

यसै सिलसिलामा श्रेष्ठले ‘नेपालको पहिलो भू–उपग्रह’ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । यो पुस्तकमा उनले नेपालको तर्फबाट अन्तरिक्षमा पठाइएको भू–उपग्रह तथा विज्ञानसँग सम्बन्धित अन्य जानकारी पनि दिएका छन् । बालबालिकाका लागि र विज्ञान तथा अन्तरिक्षसँग सम्बन्धित विषयमा जानकारी राख्न चाहनेहरुका लागि यो पुस्तक उपयोगी मानिन्छ ।

यसमा उनले अन्तरिक्षमा पठाइएको नेपाली यानका बारेमा जानकारी दिएका छन् । यो पुस्तकमा उनले आफैले जिज्ञासा उठाएका छन् र आफैले जवाफ दिएका छन्, जुन वैज्ञानिक तथ्यमा आधारित छन् । प्रश्न–उत्तर शैलीमा तयार पारिएको सो पुस्तकमा यसरी सामग्री पस्किइएको छ ।

जस्तैः

१) नानो स्याटेलाइट भनेको के हो ?

उत्तरः

अमेरिकाको अन्तरिक्ष सम्बन्धि निकाय नासाको परिभाषा अनुसार १ किलोग्रामदेखि १० किलोग्रामसम्मका स्याटेलाइटलाई नानो स्याटेलाइट भनिन्छ । यसलाई अर्को शब्दमा सानो आकारको स्याटेलाइट भनेर पनि बुझ्न सकिन्छ । नानो स्याटेलाइटलाई नेपालीमा फुच्चे भू–उपग्रह पनि भनिन्छ ।

२) नानो स्याटेलाइटको आकार कत्रो हुन्छ ?

उत्तरः

सामान्यतयाः नानो स्याटेलाइट १० सेमी लामो, १० सेमी चौडाई हुनुको साथै १.३३ किलोग्राम अर्थात् वैज्ञानिक एकाईमा १ ‘यू’ को हुने भएपनि पछिल्लो समयमा १.५ यू, २ यू, ३ यूदेखि १२ यूसम्मको हुने बताइन्छ । आदि ।

३२ पेजमा संकलित विज्ञानसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गरेर रत्नले बालबालिकाका लागि राम्रो गुण लगाएका छन् । सो पुस्तक गौरी पब्लिक रिलेसन एन पब्लिकेशनले प्रकाशनमा ल्याएको छ । पुस्तकमा साहित्यकार तथा प्राध्यापक शैलेन्दुप्रकाश नेपालले शुभकामना मन्तव्य दिएका छन् ।