सम्राट अशोक (ईपु २६९–२२७) बुद्ध परिनिर्वाणको २१८ वर्षपछि अर्थात् ईपु २६९ मा राज्यारोहण भई भारत वर्षका सम्राट भए । त्यतिबेला पटाली पुत्र (वर्तमान पटना) एक भव्य नहर भइसकेको थियो र पटाली पुत्र नै अशोकको राजधानी थियो । अशोक पराक्रमी, दुस्साहसी र निर्दयी थिए ।
उनले आफ्ना भाइहरुलाई मारेर सिंहासन हडपेका थिए । एकपछि अर्को राज्य जित्दै उनले भारत वर्ष (सायद वर्तमान भारत भन्दा पनि ठूलो) राज्यको निमार्ण गरे तर इतिहासमा उनको नाउँ त्यो सर्वविजेता राजाका कारण होइन, सर्वशक्तिमान धार्मिक राजाका रूपमा स्वर्ण अक्षरमा लेखिएको छ । आफ्नो राज्य विस्तार गर्ने क्रममा कङलिङ (उडिसा)को युद्ध (ईपू २५७) को बेला रणभूमिको विभत्स दृश्य देखि क्रुर सम्राटको हृदय पग्लियो ।
यो दिन विजयादशमीको दिन थियो । सम्राट अशोक राज्याभिषेकको चार वर्षपछि श्रमणेर निग्रोधको उपदेश सुनी बौद्ध मार्गी भए । उनले आफ्नो बाँकी जीवन धर्म प्रचार र समाजसेवा गर्नमा व्यतित गरे । विभिन्न भूभागमा अशोकका विभिन्न शिलालेख भेटिएको छन् । तीनीहरुको अध्ययन गर्ने आधुनिक इतिहासकारहरु अशोकको किर्तिदेखि चकित भएका छन् । उनी कुशल प्रशासक थिए ।
उनका प्रशासकीय अधिकृतहरु जनमुक्ति थिए । अस्पताल र पशु चिकित्सालयको सुरुआत उनले नै गरे । बाटोवरिपरि वृक्ष लगाउने, ठाउँठाउँमा इनार, कुवा, आरामगृह मात्र होइन, छिमेकी राज्यहरुमा समेत यस्तै कार्य गरे । छिमेकी राष्ट्रहरुले ग्रिक अधीनस्थ एसियाली राष्ट्रहरुको पनि एक किसिमले अशोकको प्रभुता स्वीकार गरेको कुरा शिलालेखले दर्साउँछ ।
तिनीहरु सबैसँग अशोकको अति राम्रो सम्बन्ध थियो, ‘प्रकाश बज्राचार्य, बुद्ध र बुद्धपछि, धर्मकिर्ति प्रकाशन, काठमाडौँ) । अशोकको पालामा बुद्धका वचन र उपदेशहरु प्रकाशित थिएनन् । महायान र हिनयान छुट्टीएका थिएनन् । यी दुवै अशोकलाई बुद्ध धर्म दर्शनको प्रचारकका रुपमा लिन्छन् ।
परम्परागत थेरवादीहरुसमेत अशोकसँग सन्तुष्ट थिए । थेरवादीहरुको महाभेलालाई तेस्रो संगायना भनिछ, यसको नेतृत्व अशोक सम्राटले गरेका थिए । हजार भिक्षु सहभागी यो महाभेला नौ महिना चल्यो । भिक्षु मौदलीपुत्रले अन्य बौद्ध दर्शनलाई खण्डन गर्दै कथावस्तुको रचना गरे त्यही भेलापछि बुद्ध धर्म प्रचारको अधिकार सम्राट, अशोकले पाए । उनले आफ्ना चेलाहरुलाई हिमालय भूभाग, श्रीलङका, बर्मा पाकिस्तान र मिश्रका राज्यहरुमा पठाए ।
अशोकले श्रीलङकामा ठुपाराम चैत्य निर्माण गरे । उनले विभिन्न ठाउँमा ८४ हजार बौद्ध स्तुपहरुको निर्माण गरेको बौद्ध इतिहास हरुको दाबी छ । अशोककै कारण शताब्दीऔँसम्म काश्मिर बौद्ध धर्म दर्शनको केन्द्र रहृयो । उनले युरोपसम्म बुद्ध धर्मको प्रचार गरे । बुद्ध धर्म लिथुआनियादेखि प्यालेस्टाइनसम्म पुग्यो ।
नेपालमा समेत अशोकले भिक्षु मध्यमलाई हिमालय प्रदेशमा पठाएपछि औपचारिक रुपमा बुद्ध धर्म प्रवेश गरेको मानिन्छ । पाली साहित्यमा किराती राजा जितेदास्तिका पालामा बुद्धले नेपालमा बौद्ध दर्शनको प्रभाव पारेको उल्लेख गरिएको छ । तर नेपालमा व्यापक रुपमा बौद्ध धर्म फैलिनुमा अशोककै देन छ । स्वयम जिसस क्राइस्ट बुद्धको विचारधारादेखि प्रभावित भएको कुरा जिससको जीवनी पढ्दा बोध हुन्छ ।
ग्रिक र रोमनमा बौद्ध तरिकाका मुर्ति बन्नुमा अशोकको भूमिकालाई नकार्न सकिँदैन । बुद्ध आफूलाई तथागत बुद्ध भन्नुहुन्थ्यो । तथागत भनेको घटेको घटना र भविष्यमा हुने घटनाको जानकारी हुने सन्दर्भमा बनेको शब्द हो । तथागत बुद्धलाई विश्वव्यापी कसले गराए ? यसको उत्तर हो, सम्राट अशोकले ।
अशोकको पालापछि भक्तिवादी धारा विकसित भयो । बुद्ध आफैँ भक्तिको विरोधी थिए । तर उनका अनुयायीहरुले भक्तिलाई अनुशरण गरिदिए । भक्तिवादलाई महायान समुदायले धेरै विस्तार गरे । ईपू १०० तिर लेखिएको प्रज्ञापारमिता पनि भक्तिधाराकै कृति थियो । यसरी हेर्दा अशोकको योगदान चानचुने छैन । अशोक नभएका भए यसरी बौद्ध दर्शन फैलिने थिएन । बुद्धलाई दुनियाँले चिन्ने थिएन । बुद्ध इतिहासमा सम्राट अशोकलाई अत्यन्तै श्रद्धासाथ प्रस्तुत गरिएको छ ।
सूर्य बज्रयानाको ‘बौद्ध दर्शनको संक्षिप्त चर्चा’ बाट । शिर्षक हामीले दिएका हौं ।