काठमाडौँ । ‘रमरम मरौटी’ बोलको गीतको भिडियो नेपाली दर्शक तथा स्रोताहरुको माझमा करोड क्लबमा पुगेको छ । दशैं तथा तिहार साथै अरु चाडपर्वलाई लक्षित गरेर गत असोज १५ गते सामाजिक संजाल युटुवमा सार्वजनिक गरिएको सो भिडियोले तिहार लगतै एक करोड बढी भ्युज पाएको हो ।
‘मरौटी’ रक प्रकारको झार हो । त्यसमा फुल्ने फूल तथा फल मात्रै होइन त्यसका पात र डाँठ चपाउँदा मुखमा रमरम बनाउने गर्दछ । भुइँ टिमुर समेत भनेर चिनिने मरौटी एक प्रकारको बुट्यान पनि हो । यसमा औषधीय र मसलाजन्य गुण रहेको भनेर आर्युवेदका ज्ञाताहरुले बताउने गर्छन् । अचार र चटनीमा राखेर खाँदा मरौटीले स्वाद राम्रो बनाउने काम गर्छ भने गाउँघरमा पेट दुख्दा, दाँत दुख्दा, अपच हुँदा, रुघाखोकी लाग्दा, मुखमा घाउ खटिरा आउदा यसलाई उपचारको रुपमा प्रयोग गर्ने चलन रहेको छ ।
यही मरौटी झारलाई केन्द्रमा राखेर सिर्जना गरिएको गीत हो ‘रमरम मरौटी’ । गीतको बोल नै ‘रमरम मरौटी’ रहेको छ । मरौटी झारलाई बिर्सिएका, मरौटी झारबारे चालै नपाएकाहरुलाई गीत मार्फत् जनजिब्रोमा ल्याउने कामको सिर्जना अर्थात् सो गीतको सिर्जना सर्जक नेत्र अर्यालले गरेका हुन् । नेत्र अर्यालका शब्दलाई लय तथा संगीतमा ढाल्ने काम गायक खेम सेन्चुरीले गरेका छन् भने यसमा संगीत संयोजनको काम श्यामस्वेत रसाइलीले सम्पन्न गरेका छन् । चर्चित गायक गायिकाद्वय खेम सेन्चुरी र अस्मिता अधिकारीको युगल स्वरमा सजिएको लोकभाकाको उक्त गीतमा कोरस गायन गोविन्द अनेकको रहेको छ ।
नायिका पूजा शर्मा र ओबी रायमाझीले नृत्य गरेको सो गीतको भिडीयोका दृश्यहरुलाई सौरभ लामाले क्यामरामा कैद गरेका छन् । प्रिन्सेस खरेल निर्माता रहेको सो गीतको भिडियो निर्देशन तथा नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन् । ओबिजी इन्टरटेनमेण्टको प्रस्तुति रहेको सो भिडियोलाई बन्देप्रसादले सम्पादन गरेका छन् ।
सो गीत र गीतका शब्द विभिन्न सामाजिक संजालहरुमा चर्चित बनेर जनजिब्रोमा अटाएका छन् । गीतको भिडियो ओबी रायमाझी युटुव च्यानलबाट सार्वजनिक गरिएको थियो ।
हेरौं सो गीतको भिडियो ⇓