सुस्ताको भूमिमाथि फेरि भारतीय रजगज चल्न थालेको छ । सीमा अतिक्रमणको भारतीय आयाम निकै पुरानो र नियमित भए पनि सुस्तामा भएको हालैको अतिक्रमण निकै हेपाहा र सशस्त्र अतिक्रमणकारी शैलीमा अभिव्यक्त भएको छ ।
विश्वमा बहादुर गोर्खाली भनेर चिनिए पनि नेपालका कायर शासकहरुका कारण यो सबै भैरहेको आमजनताले अनुभूत गरिरहेका छन् । नेपाली भूमिमा भारतीय हस्तक्षेप हाम्रो राष्ट्रिय पहिचानको धज्जी उडाउने खालको छ ।
कुनै पनि समयमा विदेशीको अधिनस्थ बन्नु नपरेको देशमाथि छिमेकीको निरन्तर चिथोराइ अबका दिनमा सैह्य हुने देखिदैन । स्वाभिमानी नेपालीको मन निकै कुढिएको छ । यति बेलासम्म छिमेकी देश भारतको काम र आशयप्रति आफ्नो असहमति जनाइरहेका नेपाली जनता आउँदा दिनमा दलाल नेपाली शासकमाथि जाइलाग्ने अवस्थामा देखिएका छन् ।
सीमा समस्या कुटनीतिक पहलका विवादहरु हुन् । त्यसमा पनि दुई भिन्न सार्वभौम देशका समस्या भनेका कुटनीतिक पहलद्वारा नै समाधान हुन सक्छन् । यसका लागि सरकार जिम्मेवार बन्नु पर्छ ।
हरेक ठाउँमा अतिक्रमण र त्रासदी सिर्जना :
छिमेकी देश भारतको नेपाललाई हायलकायल पार्ने रणनीति देखिन्छ । त्यो पनि भूमि अतिक्रमणबाट । अहिले २३ जिल्लाको ७१ स्थानमा नेपाली भूमि अतिक्रमित भैसकेको छ । अतिक्रमणका कारण मातृमूमि खुम्चिरहेको छ ।
नेपाली भूमि नै विदेशी भूमिमा परिणत हुन थाल्दा अर्कोतिर नेपाली नागरिक नै विदेशी बन्दैछन् । नेपाली भूमिमा विदेशीका स्थायी संरचना निर्माण हुँदा हामी मुकदर्शक मात्र होइन, प्रशंसक पनि बनिरहेका छौं ।
यो अर्थ र परिवेशमा विगत ५० वर्षदेखि नेपालमा सरकार नभएको जनस्तरमै अनुभूत भैरहेको छ । भन्नलाई त नेपालमा सरकार छ तर वास्तविकतामा सरकार दायित्वविहीन अवस्थामा छ ।
यसले हामी नेपालीको शीर झुकाएको छ । नेपाली निरीहजस्तै बन्न पुगेका छौं । यसो हुनुमा मूल कारक तत्व सत्तासिनहरुको सत्तास्वार्थले जेलिएको व्यवहार हो ।
सामरिक भूगोल कब्जा :
कालापानी, लिपुलेक र लिम्पियाधुरा पछिल्लो समयमा चर्चामा आएको छ । यसको कार्यान्वयन भएको छैन । मात्र चुच्चे नक्सा बनाएरै सरकारी काम तमाम हुन गएको छ । अहिले त त्यही चुच्चे नक्साले सरकारलाई उल्टै आतंकित पारिरहेको देखिन्छ ।
नेपालमा रहेका सामरिक महत्वका स्थानहरु कब्जा गर्ने भारतीय रणनीति सुरुदेखि खुलेका हुन् । तिनका विरुद्धमा जनस्तरबाट आवाज पनि नउठेका होइनन् । तर सरकार नै यसमा गम्भीर भएको देखिएको छैन ।
नेपाल सरकारका खेलाँचीपूर्ण तथा केटौले व्यवहारले यसमा मलजल गरिरहेको छ । पछिल्लो समयमा औचित्यहीन कुटनीतिक नोट पठाएर सरकार हाँसोको पात्र बनिरहेको छ ।
नेपालको कूटनीतिक नोटलाई कुनै पनि देश वा संस्थाले गम्भीरताका साथ लिएकै छैन । यो भनेको सरकारको निरीहता हो । यसैलाई भजाएर भारतले नेपालका सामरिक महत्वका स्थानहरु कब्जा गरिरहेको छ ।
आमआतंक सिर्जनाका विविध र उपाय अबलम्बन :
भारतले नेपाली जनतालाई आतंकित बनाउन एकपछि अर्को गर्दै विविध उपायहरु अवलम्बन गरिरहेको छ । सीमा इलाकामा स्थानीय जनताका घर कब्जा गर्ने, बारी मिचिदिने, जंगल नापी गरिदिने, सशस्त्र गतिविधि गरिदिने, धम्क्याउने, मारिदिने, अपहरणको शैलीमा कब्जा गरेर लैजाने तथा नानाथरिका प्रचार प्रसार गरिदिने गरिरहेको छ ।
पहिलो त नेपाली नागरिकलाई तर्साएरै अतिक्रमित क्षेत्रबाट हटाउने, क्षेत्र कब्जा गर्ने, नतर्सिने तथा आफ्नो भूमि उपभोग गरिरहने नागरिकलाई आवागमनमै बन्देज लगाई र हैरानी पार्ने गरिरहेको छ । यसै सिलसिलामा नेपालीले लगाएको अन्नपात लुट्ने, नेपाली बस्तीमा चोरी डकैती गराउने, हत्या बलात्कार गर्ने, चौपाया लुट्ने जस्ता अराजक र अभद्र व्यवहार पनि गरिरहेको छ ।
यसको सम्बोधन र समाधानका लागि एकमुष्ठ सोच, विचार कार्यक्रम नेपाल सरकारले बनाउन सक्नुपर्छ । अबको अवस्थामा स्थानीय निकाय पनि बनिसकेकाले तिनै निकायलाई अधिकारसहित काममा खट्न सक्ने वातावरण व्यवहारिक र कानुनी रुपमा सिर्जना गरिनु पर्छ ।
भारतको बिस्तारवादी मनोविज्ञान र नेपाली सामन्ती मनोविज्ञान :
यसका लागि पहिले त भारतीय शासकको मनोविज्ञान बुझ्नु पर्छ । उसको हेपाहा र बिस्तारवादी मनोविज्ञानको मुकाबला गर्न सक्ने गरी आफ्ना रणनीति र कुटनीतिहरु निर्माण र कार्यान्वयन गरिनु पर्छ । यो काम राज्य व्यवस्थाको हुने भएकाले यसको कार्यकारी निकाय सरकारले नै सोच्नु पर्छ ।
कुटनीतिक तथा निम्नस्तरको घटिया व्यवहारमा समेत तल्लिन छिमेकीविरुद्ध कुटनीतिक रुपमा जान सरकारले क्षमताको विकास गर्नै पर्छ । क्षमताको अभावमा ‘त्वम् शरणम्’ मा जान नेपाली शासक सधैं तयार देखिन्छन् । भारतीय मनोविज्ञानसँगै नेपाली शासकको मनोविज्ञानमा पनि परिवर्तन आउनु पर्छ । त्यो हो, दलाल मनोविज्ञानमा परिवर्तन ।
नेपाली शासकले भारतीय शासकलाई रिझाउने होइन, परस्पर हितका आधारमा छिमेकी सम्बन्ध र हैसियत निर्माण गर्ने हो । अंग्रेज शासकलाई खुसी बनाएरै राख्ने जहाँनिया शासकको लिगेसीले अहिलेका शासकहरुमा निरन्तरता पाइरहेको छ । यसको अन्त्य गरिनु पर्छ ।
ठूलो हुनुको अभिमान र सानो हुनुको लघुताबोध :
भारत र नेपालका शासकहरुका बीचमा ‘ठूलो हुुनुको अभिमान’ र ‘सानो हुनुको लघुताभाष’ कायमै छ । यो सामन्ती संस्कृतिको उपज हो । यो अद्याबधि कायमै छ । ठूलो राष्ट्रले सानोलाई, धनी सम्पन्न देशले विपन्नलाई, शक्तिशालीले कमजोरलाई हेय ठान्ने प्रवृत्तिको उपज हटाउन तयार हुनै पर्छ ।
नेपालीे विदेशीको हस्तक्षेपबाट निरीह हुनु हुँदैन । समान र सम्मानपूर्ण कुटनीतिक समझदारीका माध्यमबाट समस्याको हल खोजिनु पर्छ । दबाब, हेला र दादागिरिका कारण कुटनीतिक प्रयास असफल गराउन खोजेमा न्यायका लागि अन्तर्राष्ट्रिय न्यायालयमा जाने हैसियत राख्नु पर्छ ।
जिम्मेवारी बोध :
यसका लागि जिम्मेवारी बोध र स्वाभिमान नै एक मात्र अचुक अस्त्र तथा उपाय हो ।