काठमाडौँ । संसदीय व्यवस्था, समाजवाद तथा वैज्ञानिक समाजवाद बारे राजनीतिमा चर्चा चलिरहेको समयमा वैज्ञानिक समाजवादका विशेषताहरु नामको एक पुस्तिका बजारमा आएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा लिखित सो पुस्तिका सो पार्टीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागले प्रकाशन गरेर बजारमा ल्याएको हो ।
जम्मा २० पेज भएको गोजीमै राख्न मिल्ने सो पुस्तिकाको मूल्य जम्मा १० रुपैयाँ मात्र रहेको छ । नेपाली राजनीतिमा सधैं अस्थिरता मात्रै भइरहने भएकोले यसको निकाश के हुने, कुन राजनैतिक व्यवस्थाले हाम्रो देशको हित गर्ने र कुन राजनैतिक प्रणाली नेपालमा लागु भयो भने देश विकाश हुने भनेर भइरहने राजनैतिक बहसमा वैज्ञानिक समाजवाद नेपालमा लागु भयो भने सो वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका विशेषताहरु के कस्ता हुनेछन् भनेर विप्लवले सो पुस्तिका मार्फत् आफ्नो र आफूले नेतृत्व गरेको पार्टीका धारणा बाहिर ल्याएको रुपमा समेत हेरिएको छ ।
पुस्तिकामा वैज्ञानिक समाजवाद आजसम्मका राज्य व्यवस्थाहरुमध्ये सबैभन्दा उत्तम एवं मानव हितकारी विशेषताहरु भएको राज्य व्यवस्था भएको उल्लेख गरिएको छ । वैज्ञानिक समाजवादले पुँजीवादी उत्पादन सम्बन्ध एवं राज्य व्यवस्थाले समाजमा पैदा गरेका वर्ग अन्तरविरोध, शोषण र उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको राजनैतिक व्यवस्था भएको बताइएको छ ।
महासचिव विप्लवले सो पुस्तिकामा वैज्ञानिक समाजवादका विशेषता भनेर १) राजनैतिक विशेषता २) आर्थिक विशेषता ३) सामाजिक विशेषता ४) सांस्कृतिक विशेषता ५) सुरक्षा नीति विशेषता ६) कानुनी विशेषता ७) अन्तरराष्ट्रिय नीति ८) शैक्षिक र स्वास्थ्य क्षेत्रका विशेषताहरु ९) प्राकृतिक साधन–स्रोत र १०) सूचना संचारका विशेषता भनेर वैज्ञानिक समाजवादी राज्य व्यवस्था देशमा लागु भएको खण्डमा लागुहुने विषयहरुलाई संक्षिप्तमा व्याख्या गरेका छन् ।
महासचिव विप्लवले सो पुस्तिकामा वैज्ञानिक समाजवादका राजनैतिक विशेषता भनेर सो व्यवस्था देशमा लागु भएको समयमा वर्ग जाति लिङ्ग क्षेत्र र समुदायलाई सम्पूर्ण रुपले अधिकार सम्पन्न गराउँदै देशको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता, एकता एवं अखण्डतालाई सर्वोपरी राखिने कुरा व्यक्त गरेका छन् । साथै वैज्ञानिक समाजवादले सत्ता र सरकार सञ्चालनमा पुँजीको हस्तक्षेप वा प्रभावको अन्त्य गर्ने बताएका छन् ।
त्यस्तो राजनैतिक व्यवस्थामा राजनैतिक पार्टी खोल्न र प्रतिस्पर्धा गर्न पाउने अधिकार हुने कुरा पुस्तिकामा उल्लेख गरिएको छ । आठ वटा मुख्य राजनैतिक विशेषता उल्लेख गरिएको सो पुस्तिकामा समाजवादी प्रतिनिधिहरु जनताको प्रत्यक्ष मतद्वारा निर्वाचित हुने कुरा बताइएको छ । राज्य सत्ताका सम्पूर्ण अङ्गहरुमा श्रमिक जनता, किसान, मजदुर, दलित, महिला, जनजाति, वुद्धिजीवी, सेना र युवाहरुको समानुपातिक प्रतिनिधित्व हुने कुरा पुस्तिकामा बताइएको छ ।
वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा मानिसले चाहेको खण्डमा जतिसुकै धनी हुन सक्नेछ तर सबै नागरिकको न्युनतम व्यवस्थापनको जिम्मा राज्यले लिने कुरा सो पुस्तिकामा उल्लेख गरिएको छ । पुस्तिकामा भनिएको छ, ‘वैज्ञानिक समाजवादी व्यवस्थामा नागरिकहरु आफ्नो क्षमता अनुसार उत्पादन, उपभोग र नियन्त्रण गर्न स्वतन्त्र हुनेछन् । सामाजिक समृद्धिसँगै निजी समृद्धि पनि राज्यले संवद्र्धन गर्नेछ ।’ पुस्तिकामा वैज्ञानिक समाजवादका ११ वटा मुख्य आर्थिक विशेषताहरु उल्लेख गरिएको छ ।
वैज्ञानिक समाजवादका ७ वटा सामाजिक विशेषताहरुको उल्लेख गर्दै पुस्तिकामा अहिले लादिएको जात व्यवथा अन्त्य गरेर राज्यको नेतृत्वमा नयाँ तथा समान मानव जातिको निर्माण गरिने विषय लेखिएको छ । अहिले चलेका कुसंस्कार र कुसंस्कृति हटाई हरेक नागरिकलाई वैज्ञानिक ज्ञानद्वारा प्रशिक्षित गर्ने अभियान चलाइने कुरा त्यहाँ उल्लेख गरिएको छ । त्यस्तो व्यवस्था देशमा आएको वा ल्याइएको खण्डमा शिक्षा, स्वास्थ्य, यातायात र सूचना लगायतका सार्वजनिक चासो र चिन्ताका विषयलाई राज्यले आफ्नो स्वामित्वमा लिएर असमानताहरुको अन्त्य गर्ने कुरा बताइएको छ । यस्ता विषयहरुमा राज्यले आम नागरिकहरुलाई समान अवसर उपलब्ध गराउने कुरा व्यक्त गरिएको छ ।
पुस्तिकामा आठवटा सांस्कृतिक विशषताहरु उल्लेख गर्दै जन संस्कृतिको निर्माण र विकास गरिने, देशका हरेक नागरिकहरुले समय र श्रमलाई अधिकतम सदुपयोग गर्ने संस्कारको विकास गर्ने, ज्ञान र श्रमलाई स्वदेशमै राखेर उत्पादनलाई निर्यात गर्ने संस्कृतिको विकास हुने र गरिने कुरा लेखिएको छ । पुस्तिकामा वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा विदेशीको चाकरी गर्ने, मागेर, हात पसारेर खाने पराश्रित आदत र संस्कारको अन्त्य गरिने कुरा बताइएको छ ।
त्यस्तो व्यवस्थामा चारवटा सुरक्षा नीति र विशेषता मुख्य रुपमा उल्लेख गर्दै देशका १६ वर्ष पुगेका सबै नागरिकहरुलाई सैन्य तालिम दिइने कुरा उल्लेख छ । आफ्नो देश र जनताको रक्षालाई केन्द्रमा राखेर सुरक्षा प्रणालीको योजना निर्माण गरिने भन्दै देशका हित हुने बाहेकका सबै सन्धि र सम्झौताहरु खारेज गरेर समानता एवं पञ्चशीलका आधारमा छिमेकी देशहरुसँग नयाँ सन्धि र सम्झौताहरु गरिने विषय लेखिएको छ । देशमा आधुनिक विज्ञान प्रविधि र वैज्ञानिकहरुको विकासमा जोड दिएर सुरक्षा प्रविधि स्वदेशमै उत्पादन गरिने बताइएको छ । वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा जन्मभूमिको स्वाधिनतालाई केन्द्रविन्दुमा राख्दै आम जनतालाई देशको रक्षकमा रुपान्तरण गर्ने चेतनाको विकास गरिने बताइएको छ ।
वैज्ञानिक समाजवादका मुख्य चारवटा कानुनी विशेषता देखाउँदै महासचिव विप्लवले केन्द्रदेखि स्थानीय (गाउँ) तहसम्म कानुनी व्यवस्था अनुसारका अदालतहरु रहने कुरा उल्लेख गरेका छन् । त्यस्तो व्यवस्थामा हरेक कानुनहरु नागरिकको सुविधालाई केन्द्रमा राखेर निर्माण गरिने कुरा पुस्तिकामा उल्लेख गरिएको छ । सो राजनैतिक व्यवस्थामा हरेक नागरिकका लागि न्यायसेवा निःशुल्क हुने कुरा पुस्तिका व्यक्त गरिएको छ ।
पुस्तिकामा वैज्ञानिक समाजवादी व्यवस्थाका पाँचवटा मुख्य अन्तरराष्ट्रिय नीति उल्लेख गर्दै भारतसँग विगतमा गरिएका असमान सन्धि तथा सम्झौताहरु खारेज गरिने विषय लेखिएको छ । त्यो राज्य व्यवस्थामा विश्वभरिका श्रमिक जनताको न्यायपूर्ण संघर्षलाई सहयोग गर्ने नीति अबलम्बन गरिने उल्लेख गरिएको छ । विश्वमा न्याय, समानता, मानवता, स्वतन्त्रता, शान्ति एवं समृद्धिका पक्षमा सबै देशहरुसँग सहकार्य गरिने पुस्तिकामा विप्लवले बताएका छन् ।
पुस्तिकामा शिक्षा र स्वास्थ्य सेवालाई सबैको लागि निःशुल्क गरिने बताइएको छ । हरेक नागरिकले आफूले चाहेको शिक्षा समान रुपले हासिल गर्न पाउने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था हुनेछ भनेर सो पुस्तिकामा उल्लेख गरिएको छ । त्यस्तो राजनैतिक व्यवस्थामा प्राकृतिक स्रोत साधनको अध्ययन, अनुसन्धान, संरक्षण र परिचालन गर्दै अधिकतम रुपले आफ्नै उन्नति र समृद्धिका लागि सदुपयोग गरिने विषय बताइएको छ । देश लुट्न आउने विदेशी निगम पुँजीवादी एवं एकाधिकार पुँजीवादहरुलाई रोकेर लगानी भित्र्याउँदै राष्ट्रहित हुनेगरी उनीहरुलाई नियमन गरिने उल्लेख गरिएको छ ।
वैज्ञानिक समाजवादी व्यवस्थामा हरेक नागरीकका लागि सूचना प्राप्त गर्ने र प्रदान गर्ने हक सुरक्षित गरिने भन्दै देश, संस्था, र व्यक्तिलाई लाञ्छित गर्ने गरि तयार पारिने बनावटी, प्रायोजित, झुट्टा, भ्रामक एवं अश्लिल सूचना प्रवाहलाई रोक लगाएर निष्पक्ष, स्वतन्त्र, तथ्यसंगत सूचना प्रवाहलाई जोड दिइने कुरा लेखिएको छ ।