• मंसिर १३ २०८१, बिहीबार

जनस्वास्थ्यमा पटाकाको असर

कार्तिक २१ २०७८, आईतवार

तिहार र छठमा हर्षबढाइँ गर्ने भनेकै पटाका पड्काउने हो । बालबालिका र किशोर किशोरी पटाका पड्काउन मरिहत्ते गर्छन् यो बेलामा । बाबुआमा वा अभिभावकको आँखा छलेर गल्लीगल्लीमा पटाका पड्काउँछन् ।

यसै कारणले पनि यी पर्वमा पटाका अत्यधिक खपत हुने गर्दछ । पटााका आतेशबाजी गर्ने र रमाइलो मनाउने रुपमा नेपाल भित्रिएको हो । तर यसका नकारात्मक पक्ष धेरै छन् ।

यसबाट प्रताडित हुनेमा अधिकांश महिला तथा १८ वर्षभन्दा कम उमेरका बालवालिका पर्ने गर्दछन् । तुलनात्मक रुपमा पटाका मधेशमा बढी पड्काइन्छ ।

पटाका पड्काउने प्रचलन विश्वभर छ । युनिसेफका अनुसार हरेक वर्ष विश्वका करिब साढे ७ लाख मानिस पटाका पड्काउँदा डढेर मर्ने गर्दछन् ।

पटाका पड्काउँदा ‘ब्लाष्ट’को तिखो आवाजले कानको भित्री नशा कमजोर बनाउँछ । यो आवाजले कानको जाली फुटाउँछ । कतिपय कानको आवाज क्रमशः निको हुन्छ भने कतिपयको शल्यक्रिया नै गर्नुपर्दछ ।

बिडम्बना त के रहन्छ भने एक वर्षमा ठीक हुँदै गरेको कानमा अर्को तिहारमा फेरि त्यही ब्लास्टको आवाजले हिर्काउँछ । कानमा हुन जाने यो समस्या दोहोरिँदा यसले बहिरोपन ल्याउँछ ।

कान दुख्ने र कान कराउने समस्या यसैका उपज हुन् । ५० डेसिवल भन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ । १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान पुर्याउँछ ।

यो समस्याले श्रवनशक्ति गुम्न जानुका साथै शरीरको सन्तुलनमा ठूलो असर पार्दछ । पटाकामा भएको नाइट्रोजन डाईअक्साईड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियम लगायत हानिकारक प्रदुषक हुन्छन् ।

यिनले मानव शरीरमा ब्रोङकाइटिसजस्ता स्वासप्रस्वाससम्बन्धी समस्या निम्त्याउँछन् । सास र धुलो र धुँवाबाट बच्नेहरु पटाकाको प्रदुषणबाट बच्न सक्दैनन् । दमको समस्या हुनेहरुका लागि पटाकाको धुँवा निकै हानिकारक हुन्छ ।

तिहार तथा छठमा पटाका पड्काउँदा धेरै ठूला दुर्घटना हुने गरेका छन् । पर्व रोक्न सकिदैन । पटामामाथि जति सुकै प्रतिबन्ध लगाए पनि बालबालिकाको हातमा यो आइपुगेकै हुन्छ ।

त्यसैले हरेक घरमा प्राथमिक उपचारका लागि ‘फस्ट एड बक्स’ राख्दा राम्रो हुन्छ । यसका साथै पटाको कण आँखा परेमा तुरन्त सफा पानीले धुनुपर्छ । त्यपछि पनि दुखिरहेमा चिकित्सकलाई देखाएर उपचार गरिहाल्नु पर्छ ।

मानव जीवनमा बालबच्चाको उमेर निकै कच्चा र संवेदनशील हुन्छ । पटका पड्कदा, निस्कने आवाज, हानिकारक प्रदुषण, बारुदका कणले मानिसलाई निकै ठूलो हानी गर्छ । यसले सबैभन्दा पहिले त ज्ञानेन्द्रीयमाथि आक्रमण गर्छ ।

श्वासप्रश्वासमा त यसले सबैभन्दा बढी आक्रमण गर्छ । आतेशवाजी गर्ने नाममा पड्काएको पटकाले आगजनी गराई ठूलो क्षति पनि गराउँछ । यसले आँखामा चोट, आँखाको ढकनी च्यातिदिने, दृष्टि गुम्ने, हृदयाघात, रक्तचाप बढाउँछ ।

दम, छाला, सास, नाकको एलर्जी ल्याउँछ । ब्रोङकाइटिस, निमोनिया निम्त्याउने र कानको जाली च्यातिदिने गर्छ । कान कराउने, श्रवणशक्ति नोक्सान गर्ने, हातखुट्टा जल्ने, टाउको दुख्ने, अनिद्रा हुने गराउँछ ।