• मंसिर ११ २०८१, मंगलवार

जनजातिको दवरा मिसाइ हिन्दुकरण गरिएको तिहार

कार्तिक १९ २०७८, शुक्रबार

के हो देउसी र भैलो ?
देउसी र भैलो अठारपन्थी मगर भाषाको मौलिक शब्द हुन् । देउसीको खास अर्थ दिउसिरे हो । दिउ भनेको ठूलो अर्थात् महा भन्ने अर्थ हुन्छ । सि भनेको मृत्यु हो भने रे भनेको गीत हो । यसको सिधा अर्थ महामृत्युको गीत हो । भैरेला, सैरेला र भैलेराम पनि यस्तै अठारपन्थी मगरका मौलिक शब्द हुन् । भै भनेको किन नहुनु ? हुन्छ भन्ने हो । रे भनेको गीत र ला भनेको हुन्छ भन्ने हो । अर्थात् किन नहुनु ? हुन्छ हुन्छ भन्ने हो । यस्तै सै भनेको फल हो । सैरेला केटीहरुले गाउने भैलो गीत हो । भैलेराम चाँही भैलीरामबाट अपभ्रंश भएको हो । भै भनेको किन नहुनु हुन्छ । ली भनेको अवश्य हुन्छ र राम भनेको रमाइलो भन्ने हो । भैलेरामको अर्थ किन नहुनु अवश्य रमाइलो हुन्छ भन्ने हो ।

लेकको ताना लेकै जावस्
गाडको ताना गाडै जावस्
दुवो जस्तो फैलिजानू
पिपल जस्तो झाँगीजानू

यस्तो भट्याई मार्फत् दशादुर्दशा र बैरीको नजर नपरोस् भन्ने आषिक र घरमा सधै सुख शान्ति र खुशी रही रहोस् भन्ने कामना सहित एकजनाले भैलो भट्याउँछ र बाँकीले देउसी र भैलो सामुहिक रुपमा स्वारमा स्वर मिलाई भन्दछन् । घरलाई आषिक र कामना दिएपछि घरबेटीले खुशी भै गच्छे अनुसार दान दक्षिणा गर्नुपर्छ । यसलाई कात्तिके दान भनिन्छ । दान दिएपछि आषिक लाग्ने र दशा र बैरी कमजोर हुने जनविश्वास छ ।

भैलो समूहले दान दक्षिणा बापत संकलन गरेको अन्न फलफूल र रकम सामुहिक कोषमा खडा गर्छन् । सो रकमले राँगा काटेर गाउँभरिको घरधुरीलाई बराबर हुने गरी बिला बाँडिन्छ । यसले त्यो वर्षको झमजी अर्थात् पिप र रगतको रुपमा रहेको टक्सिन समाप्त हुने जनविश्वास छ । झमजी भनेको पिप र रगतको रुपमा देखिने टक्सिन हो । त्यसैले यो शक्तिलाई जमजित्या भन्ने गरिएको हो ।

देउसी भैलो सम्बद्द केही मिथकहरु

देउसी र भैलो गीत कहाँबाट शुरु भयो भन्ने थुप्रै बहस भएका छन् । कतिपयले यसलाई हिन्दु पुराण अनुसार यमपञ्चकको अंगको रुपमा व्याख्या गरेको पाइन्छ । तर भारतीय हिन्दु समुदायमा देउसी र भैलो गीतको प्रचलन नहुनुले यो नेपाली मौलिक परम्परा हो भन्नेमा कुनै विवाद रहेन । कतिपयले प्रभावशाली खस राजा बलीले वित्तीय संकट मोचन गर्न घरघरमा कर उठाउने प्रयोजनका लागि देउसी र भैलो खेल्न लगाएको भन्ने पनि छ ।

यसलाई पुष्टि गर्न ‘हामी त्यसै आएनौ बली राजाले पठाएको’ भन्ने भैलो भट्याई बाहेक अरु दरिलो प्रमाण भेटिँदैन । बल्ढ्याङगढीका मगर रई बलीहाङको पनि देउसी भैलोसँग प्रसंग जोडिएको छ । रई गम्भीर विरामी भएपछि प्रजाले देउसी र भैलो गीत गाएर रई बचाएकाले त्यो परम्पराको रुपमा विकास भएको मान्यता छ । यसको थप पुष्टि हुन भने सकेको छैन । देउसी र भैलोको उत्पत्तीका सम्बन्धमा जोजसले जे जसरी ब्याख्या गरे पनि यो मगर समुदायमै विकास भएको नेपाली परम्परा हो भन्ने मान्यतामा यथेष्ट प्रमाणहरु रहेका छन् ।

यहाँ आम मानिस तथा अध्ययता अल्मलिनुमा दिपावली, तिहार, दवरा जस्ता पर्व सँगसँगै पर्नु र उत्सवहरुको मिसावट हुनु नै हो । भारतको हिन्दु समुदायमा दिवाली र नेपालमा दिपावली भनिने पर्व कात्तिक औँसीको दिन साँझ बत्ती झिलिमिली बालेर मनाइन्छ । यो दिनलाई विजयको उत्सवको रुपमा हिन्दु परिवारमा मनाउने प्रचलन छ । नेपालमा तिहारको रुपमा मनाइने पर्व भने यमपञ्चक हो । जसमा काग, कुकुर, गाई, गोरु र भाई तिहार भनेर विभाजन गरिएको छ । यो पर्व हिन्दु पौराणिक कथाहरुमा आधारित छ । दिवाली र यमपञ्चकसँग देउसी र भैलोको कुनै पौराणिक नाता देखिँदैन । आज देउसी र भैलोलाई तिहारको अभिन्न भागको रुपमा लिने गरिन्छ । देउसी र भैलोको सम्बन्ध भने मगर जातिले आदिकालदेखि मनाउँदै आएको दवरा पर्वसँग जोडिएको छ ।
दवरा पर्व कात्तिक औँसीको दिनदेखि पाचौँ दिनसम्म मनाइन्छ । यसलाई जम्जित्या पर्व समेत भन्ने गरिन्छ ।

दवरा पर्व

कात्तिक औंसीको दोपहरसम्म गाउँ तोरलङले झकिझकाउ भैसक्छ । तोरलङ भनेको हरियो बाब्बेउको ध्वजा हो जसमा फूल, पात र अन्नको रंगीविरंगी सजावट हुन्छ । आफ्नो पशुधन हिंड्ने बाटो, भञ्ज्याङ र पोखरीमाथि वारपार हुने तोरलङले दवरा पर्वको वैभवताको उजागर गर्छ । पशुधनलाई नुन चखाएर तोरलङ टाँगेपछि हरेक घरको बारीमा जम्जित्याको शक्ति आरोहण हुन्छ । जम्जित्या बारीमा उत्पन्न हुने नरभक्षी शक्ति हो जसले ज्यानसम्म लिने जनविश्वास छ ।

जम्जित्याको यही आदमखोर शक्तिलाई निवारण गर्न लोकबाजा निकालेर दिउसिरे, भइरेला र सइरेलाको आरम्भ औंसीको दोपहर मै हुन्छ ।
औंसीदेखि पाँचौँ दिनको साँझसम्म देउसी र भैलो खेल्ने गरिन्छ । पाँचौदिनको मध्यरातदेखि जम्जित्याको प्राणहरक शक्ति क्षिण हुने र त्यसपछि भोलीपल्टबाट बारीमा काम गर्न मिल्ने विश्वास छ । यो समयमा बर्खेबाली भित्र्याएर सकिएको हुने र हिउँदको फुर्सदिलो समयको आरम्भ हुने हुँदा बस्तीहरुमा नाचगानका विभिन्न श्रृंखला समेत शुरु हुन्छन् ।

दिउसिरे र भैलो समूहले घरबेटीको अनुमतिमा धुरीखम्बामा पाती चढाउँछन् र परिवारका सबै सदस्यका कानमा फूलपाती सिउरेर दिउसिरे र भैलो गाउन शुरु हुन्छ । बर्खेबालीको नयाँ फसल नवाङ्गी, फलफूल र नगद समेत दानको रुपमा भैलो समूहले लिने चलन छ ।

दवरा र तिहार कसरी मिसिए ?

दवरामा तिहार र तिहारमा दवरा मिसिनुमा केही परिस्थितिहरु रहेका छन् । मगर लाहुरे, नेपाली संचार माध्यम तथा हिन्दु पण्डितहरुको यसमा खास भूमिका छ । दवरा र तिहार मिसिदा पर्वको गहनता बढे पनि दवराको अस्तित्व मेटिएको छ । देउसी र भैलो तिहारकरण भएको छ । दवराको देउसी र भैलो नेपालीको साझा लय भएको छ । यसको विकास हुँदै जाँदा सबैको मौलिकता मिसिएकै होला । विविधतायुक्त समाजमा हुने एकताको प्रकृया नै यही हो तर देउसी र भैलोको उत्पत्तिका सन्दर्भमा तथ्य भन्दा पनि हिन्दु पौराणिक ब्याख्यालाई स्थापित गरिंदै जानु र यसको आदिवासी व्याख्यालाई बेवास्ता गर्नु चिन्ताजनक छ ।

सम्बन्धित समुदाय, अध्ययता र राज्य समेत यस्ता नेपाली मौलिकताको तथ्यपरक खोज र अनुसन्धान गरी यसको सामाजिक सांस्कृतिक मुल्य प्रवर्द्दन गर्नु आजको आवश्यकता हो ।
दवरा, तिहार र दिपावलीको अवसरमा सबै नेपालीलाई शुभकामना ।