• मंसिर ११ २०८१, मंगलवार

असली महानायक को हो ?

कार्तिक १७ २०७८, बुधबार

पछिल्लो एक दशकदेखि नेपाली दर्शकमाँझ महानायकका रुपमा चर्चित अभिनेता राजेश हमालको महानायक उपाधिप्रति निर्देशक सोभित बस्नेत लगायतका केही चलचित्रकर्मीहरुले विवाद सृजना गरेपछि महानायक उपाधि सोसल मिडियामा फेरि वहसको विषय बनेको छ । केही समय यता राजेश हमालका फैनहरु आक्रमक रुपमा सोभित बस्नेतमाथि खनिएका छन् । यसको असर उनको नयाँ फिल्मले डाँडाको वरपिपलमाथि पनि पर्यो । अधिकांश सिने दर्शक तथा सिनेकर्मीहरुले राजेश हमाललाई नै महानायक स्वीकारेका थाहा  हुँदाहुँदै पनि किन सोभित बस्नेतले महानायकको विवाद झिके ? किन अभिनेता भुवन केसीलाई उचाल्ने र राजेश हमाललाई थेचार्ने प्रयास गरे ? त्यसो त अहिले सोभित बस्नेतले माफी मागेर राजेश हमाल नै महानायक हुन् भन्न थालेका छन् ।

नेपाली चलचित्र जगतमा शिव श्रेष्ठ, भुवन केसी तथा राजेश हमालको आआफ्नै स्वर्णीम इतिहास छ । नेपाली चलचित्र जगतलाई यहाँसम्म ल्याई पराउनुमा यी तीन लेजेन्डरि अभिनेताहरुको उत्तिकै योगदान छ । त्यसैले उनीहरुको योगदानको उचित कदर हुनुपर्छ । कोही कसैले पनि एकलाई ठुलो देखाउन अरुलाई होच्चाउने खसाल्ने काम गर्नु  हुँदैन । त्यसो भए महानायकको असली हकदार को हुन् त ? राजेश हमाल महानायक भए शिव र भवन केसी के हुन् त ? प्रश्नहरु उठ्न सक्दछ । त्यसैले यस आलेखमा कुनै आग्रहपुर्वाग्रह नराखिकन नेपाली चलचित्र जगतको असली महानायकको खोजी गर्ने जमर्को गरिएको छ ।

कुरा शुरु गरौं अभिनेता शिव श्रेष्ठबाट । वि.स. २०३९ सालमा बनेको नेपाली कथानक चलचित्र जीवन रेखाबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता शिव श्रेष्ठ जीवन रेखाको अपार सफलतासँगै चर्चित भए । नेपाली दर्शकले पहिलो पटक जीवन रेखामा नै हिरोको एक्सन देखेका थिए । हिन्दी फिल्महरु हेरेर हुर्किएका नेपाली दर्शकलाई बल्ल हिरो पाएको महसुस भयो । शिवलाई बलिउड अभिनेता धर्मेन्द्रसँग दाज्न थालियो । सम्भवत नेपालको इतिहासमा शिव श्रेष्ठ नै फैनहरुलाई अटोग्राफ दिने पहिलो नेपाली अभिनेता हुन् ।

जीवन रेखा पछि शिव श्रेष्ठले बदलिदो आकाश, कान्छी तथा विश्वास आदि जस्ता नेपाली चलचित्रहरुमा अभिनय गरे । संयुक्त लगानीका चलचित्रहरु जीवन ज्योति तथा हामी एक हौं मार्फत उनी पाकिस्तानी चलचित्र उद्योगमा पुगे । पाकिस्तानमा उनी रातारात नेपालका शिवा नामले चर्चित भए । २६ वटा पाकिस्तानी फिल्महरु र सयौं नेपाली चलचित्रहरुमा अभिनय गरेका अभिनेता शिव श्रेष्ठ अहिले पनि नेपाली चलतित्र उद्योगमा सक्रिय छन् । नेपाली दर्शक माँझ एक्सन किंग तथा ठुल्दाइका उपनामले चर्चित छन् ।

शिवको एक्सन उत्कृष्ट छ । यो कुरा भुवन केसीले मात्र होइन द्वन्द निर्देशक राजेन्द्र खड्की पनि स्वीकारेका छन् । शिवको डान्स पनि राम्रो छ । उनी भुवन केसी र राजेश हमाल भन्दा राम्रो नाच्छन् । तर शिवको कमजोर पक्ष भनेको डाइलग डेलिभरी हो । शिवले बोलेका राम्रोसँग बुझिँदैन । एक्सन दृश्यमा उनको सम्बाद अझ बढी लडखडाउँछ । उनको एक्सन जस्तै डाइलग डेलिभरि पनि दम्दार हुन्थ्यो भने सुनमा सुगन्ध थपिन्थ्यो ।

डाइलग डेलिभरि शिवको भन्दा भुवन केसीको राम्रो छ । वि.स. २०४० सालमा नेपाली कथानक चलचित्र जुनी मार्फत् नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका अभिनेता भुवन केसी गायक पनि हुन् । उनले चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि नै जागे शारा रात जस्ता गीत गाएर गायकको छवि बनाइ सकेका थिए ।

जुनी पछि भुवन केसीले सम्झना, कुसमे रुमाल तथा साइनो जस्ता फिल्महरुमा आफ्नो कुशल अभिनय देखाए । आफ्नो मुस्कानले फिदा बनाएका नेपाली दर्शकमाँझ उनले रोमान्टिक हिरोको छवि बनाएका छन् ।

६ वटा संयुक्त लगानीका पाकिस्तानी चलचित्रहरु तथा १०० भन्दा बढी नेपाली चलचित्रहरुमा अभिनय गरेका अभिनेता भुवन केसी निर्माता तथा निर्देशक पनि हुन् । उनका छोरा अनमोल केसी अहिलेका चर्चित नायक हुन् । भुवन केसीमा एक रोमान्टिक हिरोमा हुने सबै गुणहरु छन् । बुढेसकालमा पनि उनी हिरो जस्तै देखिन्छन् । एक्सनमा भने उनी अलि कमजोर छन् । तर उनको डाइलग डेलिभरि राम्रो छ । अभिनेता शिव श्रेष्ठले त भुवनको जस्तो डाइलग डेलिभरि नेपाली चलचित्र जगतमा कसैको छैन भन्छन् । भुवन केसी उहिले मात्र होइन अहिले पनि केटी विवादमा परिरहन्छन् ।

वि.स. २०४७ सालसम्म नेपाली चलचित्र जगतमा शिव र भुवन केसीको अधिपत्य थियो । तर २०४७ सालमा प्रर्दशित नेपाली कथानक चलचित्र युगदेखि युगसम्म मार्फत् नेपाली चलचित्र उद्योगमा अभिनेता राजेश हमालको प्रवेश भयो । युगदेखि युगसम्म हेरेका दर्शकहरुले राजेशमा बलिउड सुपरस्टार मिथन चक्रवर्तीको झझल्को पाए । राजेशको आवगमनसँगै नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थपियो ।

उनको आवगमनले करिब एक दशकदेखि नेपाली चलचित्र उद्योगमा स्थापित शिव र भुवनको अधिपत्य तोडियो । त्यसो त शुरुका वर्षहरुमा राजेश निकै विवादित भए । युगदेखि युगसम्म मार्फत पर्दामा उतारेका उनकै मामा दीपक रायमाझीले राजेश हमाललाई एक्टिंग नै आउँदैन भन्ने वक्तव्यबाजी समेत गरे । भाग्य रेखाबाट राजेशलाई हटाएर रविन्द खड्कालाई हिरो बनाए । तर यसले राजेश हमालको कअरियरमा कुनै असर गरेन । युगदेखि युगसम्मको सफलतापछि राजेशले भटाभट फिल्महरु खेल्न थाले । देउता अधिकार, पृथ्वी तथा सीमाना जस्ता सिनेमाहरुले उनलाई सुपरस्टार बनायो ।

हेर्दाहेर्दै राजेश हमाल निर्माता निर्देशकको पहिलो रोजाइ हुन पुगे । उनको डिमाण्ड यति बढ्यो कि उनको टाउको देखाएर फिल्महरु चल्न थाले । आफ्नो यति डिमाण्ड हँुदा पनि उनले आफ्नो व्वावसायिक मर्यादा कायम राखे । न त आफ्नो भाऊ बढाए न त कसैलाई निराश बनाए । अधिकांश निर्माता निर्देशकहरुलाई तथा सहकर्मीहरुलाई स्थापित बनाए ।

राजेश हमालले अहिलेसम्म ढाइ सय भन्दा बढी नेपाली चलचित्रहरुमा अभिनय गरेका छन् । उनले अभिनय गरेका अधिकांश चलचित्रहरु सफल पनि भएका छन् । बलिउडका महानायक अमिताभ बच्चनले भन्दा पनि बढी र सफल सिनेमाहरु दिएका छन् राजेश हमालले । अभिनयको दृष्टिमा राजेश हमालको एक्सन तथा डाइलग डेलिभरि राम्रो छ । तर उनी नृत्यमा कमजोर छन् । नृत्यका हिसाबमा उनी बलिउड सुपरस्टार शन्नी देवल जस्तै छन् ।

राजेश हमाल एक वौद्धिक व्यक्तित्व पनि हुन् । राजेश हमाल हिजोको पुस्तामाँझ मात्र होइन अहिलेका पुस्तामाँझ पनि निकै लोकप्रिय छन् । राजेश हमाललाई महानायक मान्ने अहिलेका पुस्ता मध्य ३० प्रतिशतले पनि शिव श्रेष्ठ र भुवन केसीलाई चिन्दैनन् । त्यसैले हरेक दृष्टिकोणमा नेपाली चलचित्र उद्योगमा कोही महानायक छ भने त्यो राजेश हमाल नै हो । वास्तवमा राजेश हमाल नै महानायकका असली हकदार हुन् । राजेशलाई नेपाली दर्शकले दिएको यस उपाधिप्रति कसैले पनि ईष्या राख्नु हुँदैन । आफ्नो निजी श्वार्थका लागि विवाद सृजना गर्ने कार्य गर्नु हुँदैन ।

अब प्रश्न उठ्न सक्दछ, अभिनेता राजेश हमाल महानायक भए अभिनेता शिव श्रेष्ठ र भूवन केसीको मूल्यांकन खै त ? यस प्रश्नको सटीक उत्तर हो, एक्सन किंग उपनामले चिनिने अभिनेता शिव श्रेष्ठ नेपाली चलचित्र जगतका फस्र्ट सुपरस्टार हुन् । त्यसैले उनी युग नायक हुन् । रोमान्टिक हिरोको छवि बनाएका अभिनेता भुवन केसी हिजो हिरो थिए, आज बुढेसकालमा पनि हिरो जस्तै छन् । त्यसैले उनी इभरग्रिन सुपरस्टार हुन् अर्थात् सदावहार नायक हुन् ।

अतः अभिनेता शिव श्रेष्ठ युगनायक, अभिनेता भुवन केसी सदावहारनायक तथा अभिनेता राजेश हमाल महानायक । यी तीन लेजेण्डरि अभिनेताहरुको असली मूल्यांकन यही हो । अब महानायकको विवाद सकियो ।

(लेखक मनोविद् हुन् ।)