• मंसिर १२ २०८१, बुधबार

राजनीतिको बाला नलाग्ने नेपालमा धानको पनि बाला लागेन

कार्तिक १६ २०७८, मंगलवार

पहेल्पुरभै पाकेर घरभित्र मुरीकामुरी ‘सुन अन्न’का रुपमा भित्र्याइने धान काट्ने बेलासम्म पनि बाला लागेन । धानमा बाला नलागेपछि माइतीघर मण्डला नजिकै उपत्यकाका किसानले बाला नलागेको भन्दै मंगलबार सामूहिक प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा उनीहरुले सरकारसँग उचित क्षतिपूर्ति पनि माग गरे । सम्बन्धित सरकारी निकायहरुले किसानको सामूहिक प्रदर्शन देखेर प्रतिक्रिया दिए– ‘सरकारले फल्न नदिएको हो र ?’ झट्ट सुन्दा यो कुरो नराम्रो पनि होइन ।

तर देशमा के भइरहेको छ भन्ने कुरा अभिभावकका रुपमा रहेको सरकारले ख्याल त राख्नै पर्छ । त्यसमा पनि सरकारले नेपाललाई अहिले पनि कृषि प्रधान देश भने थाक्दैन र थाकेको पनि छैन । अनि फेरि कृषिमै यो बेहाल किन ?

जनगुनासो :

‘साना किसानको ऋण मिनाह गर’, ‘किसानको उत्पादनको सम्मान गर’, ‘धान उत्पादक किसानका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर’, ‘निशुल्क कृषि तथा पशुपंक्षीको व्यवस्था गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी किसानहरु आफूहरु मारमा परेको गुनासो गरे ।

यो किसानका लागि साह्रै नमीठो भोगाइ पनि हो । खेतको क्षेत्रफल वा आकारअनुसार पाँच मुरी धान फल्ने खेतमा यसपटक आठदेखि दश पाथीसम्म धान फल्यो । किसान सबैले धानको बिउ पसलबाटै लगेका थिए । किनेको धानको पोकामा रहरलाग्दा धानका बाला देखाइएका भए पनि आफूहरुले त्यसको खेती गरिसकेपछि पोगटा बाहेक धानको दाना नै लागेन ।

कतिपय धानका बोटमा त बाला नै लागेनन् । जेजतिमा बाला देखिए तिनमा पनि गेडा लागेनन् । पोगडै पोगडा भएका एउटा बालामा १ देखि ३ वटा गेडासम्म पाइएका छन् । बढी फल्छ भनेर नयाँ प्रजातिको हाइब्रिड धान लगाए पनि त्यसले यो वर्ष किसानलाई निकै मारमा पारेको छ ।

क्षतिपूर्तिका कुरा :

धानमा बाला नलागेपछि सरकारले किसानलाई उचित क्षतिपूर्ति दिनुपर्ने किसानको दाबी छ । उपत्यकाको ठूलो खेतीयोग्य भूमिमा खेती गरिएको धानको बालीबाट किसानलाई अपूरणीय क्षति हुन गएको छ ।

उपत्यकाको ५ सय रोपनी जमिनको धान खेतीमा यो वर्ष समान समस्या देखा परेको छ । धेरै धानका बोटमा बाला नै लागेका छैनन् । जति धानका बोटमा बाला लागेका छन्, तिनमा गेडा लागेका छैनन् । त्यसैले किसानले यो वर्ष सरकारबाट क्षतिपूर्तिको अपेक्षा गरिरहेका छन् ।

बाढी, पहिरो र डुबान :

किसानहरु प्रदर्शनमा उत्रिए पनि सरकारले आश्वासनका कुराभन्दा बढी केही पनि गरिरहेको छैन । तराइ तथा अन्य पहाडी इलाकामा बेमौसी वर्षाका कारण बाढी, पहिरो तथा डुबानबाट धान खेतीमा ठूलो क्षति भैरहेका बेला उपत्यकामा पनि धानमा बाला नलाग्ने र लागेका बालामा गेडा नभएको हुँदा यो वर्ष नेपाली किसान ठूलो समस्यामा छन् ।

उपत्यकामा रहेका तीनवटै जिल्लामा सबैभन्दा बढी प्रभावित क्षेत्रमा भक्तपुरको तेलकोट, काठमाडौंका मातातीर्थ, दहचोक र ललितिपुरका चापागाउँ रहेका छन् । यहाँ गेडा त के धानको बाला पनि मुस्किलले देख्न सकिन्छ ।

किसानले नै गल्ती गरेको विज्ञको दाबी :

धानमा बाला लागेन र लागेका बालामा गेडा देखिएन भन्ने कुरा सार्वजनिक भएपछि राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका आफै धानखेतमा पुग्यो ।

यसको प्रारम्भिक अनुसन्धानमै किसानले धानको  बीऊको छनौट गर्दा नै गल्ती गरेको खुल्न आयो । विज्ञका अनुसार किसानले गलत धानको बिउ छनौट गर्न पुगेको दाबी गरेका छन् । यो गल्ती धेरै धान भित्र्याउने लोभमा हुन गएको उनीहरुको धारणा छ ।

अनुसन्धानबाट खुल्न आएअनुसार ‘समुन्द्री सतहबाट ७ सय मिटरसम्म उपयुक्त’ भनी सिफारिस गरिएको डीवाई–२८ चाइनिज धान उपत्यकामा लगाउँदा नै गल्ती हुन गएको खलेको छ । त्यसैले गर्दा पनि ठूलो क्षेत्रफलमा धानको बालामा भुसमात्रै लागेको छ ।

तर किसान भने यो कुरा मान्न तयार छैनन् । उनीहरुको दाबी छ– अघिल्लो वर्ष यही धान उपत्यकामा पनि धेरै फलेको थियो । तर किसान यो जातको बिउ सबैका लागि र सधैंका लागि उपयुक्त छ कि छैन भनी विशेषज्ञसँग  सल्लाह लिन पुगेनन् ।

विज्ञको भनाइ छ– कुनै वर्ष फल्यो भन्दैमा माटो र हावापानी अनुकूल सिफरीश नगरिएको धानको जातको बीउ सधै फल्छ भनने ग्यारेन्टी हुँदैन । अनुसन्धानसँगै धानको डीएनए परीक्षणका लागि अनुसन्धान गरिने पनि बताइएको छ ।

किसानमैत्री सूचनाको अभाव :

नेपालका किसान तथा कृषि पेसासँग सम्बन्धित सूचना किसानमैत्री कम छन् । के गर्दा प्रचार हुन्छ र विज्ञापनदाताको मोडलअनुसार जान्छ भन्ने कुरामा बढी जोड दिइएको हुन्छ । सरकार–किसानका बीचमा सहकार्य हुन नसक्दा र एकअर्काको समस्या र आकांक्षा बुझ्न नसक्दा यस्ता समस्या बारम्बार निम्तने गरिरहेका छन् ।

मकैको बीउको छनौटमा पनि यस्ता समस्या देखिने गरिरहेका छन् । तराइमा मकैको बीउको छनौटमा यस्ता समस्या निरन्तर देखिदै आएका छन् । धानमा बाला र गेडा नलागेको विषयलाई लिएर राष्ट्रिय कृषक महासंघले पीडित किसानलाई क्षतिपूर्ति दिइनु पर्ने आवाज उठाएको छ ।

महासंघले कहिले गरिमा जातको धान त कहिले डीवाई–२८ जस्ता धान बिउका प्रजातिबाट ठगिने किसान निकै पीडामा छन्, यिनलाई क्षतिपूर्ति दिएर काम गरिरखाने अवस्था सिर्जना गरिनु पर्छ भनी आवाज उठाइरहेको छ ।

राजनीतिको बाला नलाग्ने नेपालमा धानको बाला लाग्न छोड्यो :

नेपालमा राजनीतिक दलहरुले दाबा गरे अनुसारको राजनीतिको बाला कहिल्यै पनि लाग्न सकिरहेको र्छैन । नेपाली कांग्रेसको ‘प्रजातान्त्रिक समाजवादको बाला’ कसैले पनि देखेको छैन । यो एक स्वैर कल्पना जस्तो हुन गएको पाइन्छ । तर नेपाली कांग्रेसको दावा शायद यसैमा कायम छ ।

एमालेले भन्ने गर्दै आएको ‘बहुदलीय जनवाद’को बाला कसैले पनि देखेको छैन । यो बाला नलाग्दै एमालेले ‘समाजवादको बाला’ फलाउने सपना जनताका माझमा प्रचार गर्न थालिसकेको छ ।

माओवादी केन्द्रले पनि ‘जनवादको बाला’ फलाउने सपना निकै बाँड्यो । जनतामा आशा निकै देखायो, यो आखिर प्रलोभनका रुपमा मात्र बाँकी रहन गयो । अहिले यो जनवादको बाला नदेखिएपछि त्यसलाई छाडेर समाजवादको बाला फलाउने प्रचारबाजीमा जुटेको छ ।

निष्कर्ष : हावापानी र माटो अनुकूल बिउको छनौट जरुरी :

भनिन्छ ‘ढाँटको निम्तो खाएर पत्याउनू’ । बजारमा आएका प्रचार र होहल्लाको पछि नलागेर उचित बिउको छनौट गर्न सकेका भए आज उपत्यका किसान धानको बाला नै नलाग्ने र गेडा नै नदेखिने यस्तो समस्यामा पर्ने थिएनन् ।

त्यसमा नेपालको विशिष्टताअनुसार धानको बिउ छनौट गर्न नसक्नुमा समस्या देखिन गएको छ । नेपालका राजनीतिक नेताहरुले नफल्ने राजनीतिको खेती गरे पनि किसानले भने नेपाली हावापानी र माटोमा फल्ने जातको धानको बिउ छनौट र खेतीमा लाग्नु जरुरी हुन गएको छ । किनकि, साँझबिहानको छाक टार्ने खाद्यान्न आश्वासनको राजनीतिभन्दा निकै बढी नेपाली जनजीवनसँग छोइएर आएको छ ।