• मंसिर १४ २०८१, शुक्रबार

जलवायु परिवर्तनका कारण ‘आधुनिक द्वारका’ बन्दै माल्दिभ्स !

कार्तिक १५ २०७८, सोमबार

काठमाडौं । बेलायतको ग्लास्गोमा विश्व जलवायु सम्मेलन हुँदै गर्दा यस अघि चर्र्चामा रहेको मालदिभ्सको विषय उठेन । महासागरमा द्वीपहरू मिलेर बनेको मालदिभ्स अब सिङ्गै डुुवानको अवस्थामा छ ।

यो देशको पाँच भागको चारभाग समुद्री सतहभन्दा बढीमा एक मिटरको उचाइमा मात्र रहेको छ । समुद्री किनारमा रहेको त्यहाँको ६४ प्रतिशत भूभाग तीव्र भूस्खलनको चपेटामा छ ।

आफै त डुब्दै गरेको मालदिभ्स, त्यसमा पनि चारैतिर भैरहेको भूक्षयले यसलाई डुवानको तिब्रतातिर धकेलिरहेको छ । यसको बारेमा अन्तर्राष्ट्रको चासो जाहेर पनि भैरहेको छ ।

संयुक्त राष्ट्र संघको युनिसेफका अनुसार मालदिभ्सका मानवसेवासँग जोडिएका अधिकांश विद्यालय तथा अस्पतालहरु समुद्री किनारदेखि मात्र १०० मिटरको दुरीमा छन् ।

कलिला केटाकेटी पढ्ने यी विद्यालय र बिरामीको सेवा दिने अस्पताको यो हालत देखेर वैज्ञानिक तथा विशेषज्ञहरुले गहिरो चिन्ता जाहेर गरिरहेका छन् ।

अहिलेको पूर्वानुमानमा सन् २०५०सम्म के मालदिभ्स एक बसोबासयोग्य देश रहला भन्ने आशंका उब्जिएको छ । जलवायु परिवर्तनको प्रत्यक्ष मार माल्दिभ्सले भोगिरहेको छ ।

समुद्री छालले देशको किनारा भत्काइरहेको छ । मालदिभ्स आफैले कार्बन उत्सर्जन घटाउन नवीकरणीय ऊर्जा र बिजुली गाडीको प्रयोग गरिरहेको छ । हरेक स्थानमा वृक्षरोपण गरिरहेको पनि छ ।

यस्ता महत्वपूर्ण कदमहरु चालिए पनि पर्यटकीय गतिविधिका कारण मालदिभ्स वरिपरिको समुद्री सतह भने प्लास्टिक प्रदूषणले आक्रान्त छ ।

तर भैरहेको ग्लास्गो सम्मेलनमा कार्बन उत्सर्जनका कुरा न त बलियो रुपमा उठ्न सके, न त यस अघि लिइएका निर्णय कार्यान्वयनका कुरा नै । हिमाली तथा कम विकसित देशका तटर्फबाट जलवायुजन्य क्षतिका सम्बन्धमा आवाज पनि जोडदार रुपमा उठ्न सकेन ।

अर्कोतिर औद्योगिक देशहरूले बाचा गरेअनुसार कम विकसित देशहरुलाई क्षतिपूर्ति दिने विषयमा पनि औद्योगिक देशहरुले कुनै कुरा दोहर्याएनन् । यसले वैश्विक तापमान कम गराउने देखिदैन बरु तापमान बृद्धिले निरन्तरता पाउने र मालदिभ्स आधुनिक द्वारका बन्ने देखिएको छ । स्मरण रहोस्, द्वापर युगमा समुद्रको बीचमा रहेको श्रीकृष्णको द्वारका अहिले समुद्रभित्र समाहित भएको अवस्थामा छ ।