काठमाडौं । बागलुङ जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । जानकारीमा आएअनुसार यो जिल्लामा हालसम्म ४१४ वटा पुल निर्माण भइसकेका र ३१ वटा निर्माणकै चरणमा रहेका गरी ४४५ वटा झोलुङ्गे पुल रहेका छन् ।
त्यस्तै विश्वकै लामो झोलुङ्गे पुल पनि यही जिल्लामै बनेको छ । बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुल विश्वकै लामो भएको दाबी गरिएको छ ।
सोही दाबीका साथ गिनिज अफ द वर्ल्ड रेकर्डमा दर्ताको लागि प्रक्रिया सुरु भएको छ । विश्व रेकर्ड राख्न सफल भएमा बागलुङ जिल्ला ४४५ वटा झोलुङ्गे पुलको जिल्ला भनेर विश्वप्रसिद्ध हुनेछ ।
कात्तिकको पहिलो साता हामी बागलुङ भ्रमण जाँदा पुल नजिक भेटिएका स्थानीयहरु आफ्नै ठाउँमा यति लामो पुल बनेर २ जिल्ला सजिलै वारपार गर्न पाएकोमा निकै खुशी देखिन्थे । यो पुल बनेपछि आफूहरुको दैनिक जीवनमा धेरै परिवर्तन आएको किराना पसलको सामान बोकेर पुल पारी पर्वतको अदुवाबारी जान लागेका एक स्थानीय व्यापारी सुनाउँदै थिए ।
एका बिहानैको सूर्यको सुनौलो किरणको उदयसँगै सो पुलबाट रमाउँदै पारी पर्वत पुगेका हामी पुलबाटै धेरै दृष्यहरु हेर्दै रमाउन पायौं । पुलमा मात्रै आँखा पुग्दा सामान्य लागेपनि पुलको चरबाट निकै तल उर्लिरहेको कालिगण्डकी नदीतिर आँखा लगाउँदा भने डर लाग्थ्यो ।
पुलकै वारपारको रमाइलोमा रमाउँदै गर्दा पारिपारि देखिने पाखा, गाउँ–बस्ती र भौतिक विकास हुँदै गरेको देखिएका दृष्यले नेपाल बल्ल पो विकासको चरणमा प्रवेश गर्दैछ भन्ने अनुभूति हुन्थ्यो भने उत्तरतिर गजधम्म परेर बसेको धौलागिरि हिमाल पनि सजिलै देख्न सकिन्थ्यो ।
बागलुङ बजारको आसपास पुगेपछि आकाश खुल्दा देखिने धौलागिरि हिमालले धेरैको मन लोभ्याइरहेको हुन्छ । असोज अन्तिम सातामा देशै भर परेको भीषण वर्षातका कारण कालो न कालो बनेर बगरिहेको कालिगण्डकी नदीले सयौं खोला र खोल्सालाई समुद्रतिरै लैजाने अभियान चलाइरहेको थियो ।
एक दुई दिनको घुमफिरपछि हामी काठमाडौं फर्कियौं । छोटो समयको रमाइलो यात्रामा हामीले हाम्रा पाठकहरुलाई दिन सक्ने सानो र रोचक जानकारीमा विश्वकै लामो भनिएको पलुपनि थियो, जसका बारेमा जानेजति र पाएजति जानकारी दिने प्रयास गर्यौं ।
नेपालको मध्यभागमा रहेका पर्वत, बागलुङ र म्याग्दीजस्ता जिल्लाहरु जोड्नका लागि ठूला नदी र खोँचमा समेत झुलुङ्गे पुल निर्माण हुँदै जानुले बागलुङ जिल्ला झोलुङ्गे पुल मात्र होइन लामा र अग्ला पुलहरुको जिल्लाका रुपमा समेत परिचित बन्दै जानसक्ने सम्भावना पनि रहेको छ ।
उक्त पुलको लम्बाइ ५६७ मिटर र चौडाइ १ मिटर रहेको छ भने १३१ मिटर उचाइ रहेको छ । पुलले एकैपटक ६१२ जना पैदल यात्री धान्न सक्छ ।
पुलको बागलुङको भागतिरको सूचना पाटीमा यस्ता कुराको जानकारी दिइएको छ । हालसम्म स्विट्जरल्याण्डमा ४९४ मिटर लामो पुल बनेको रेकर्ड भएकाले बागलुङ र पर्वत जोड्ने यो पुल नै विश्वको लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै यसअघि नै बागलुङ र पर्वत जोड्ने गरी बलेवाको कैया–कुस्मा जोड्ने ३४७ मिटर लामो र १५९ मिटर उचाइको पुल, कुस्मा बलेवा यन्त्रिक पुल र कुस्मा बलेवामा बनाइएको विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण भइसकेको छ ।
कुस्मा–कैया जोड्ने पुललाई हालसम्मकै अग्लो पुलका रुपमा समेत व्यख्या गरिंदै आएको छ । त्यसपछि पुनः बागलुङ र पर्वत जोड्ने लामो पुल निर्माण हुनुले जिल्लामा झोलुङ्गे पुल सम्बन्धी एकपछि अर्को पहिचान बन्दै गएको छ ।
माथि उल्लेख गरिएको बाङ्गेचौर–अदुवाबारी जोड्ने पुल बनेपछि बागलुङ र पर्वत जिल्ला मात्रै नभई म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत सो पुल हेर्न जानै पर्ने बनाएको छ ।
यो पुल बनेपछि एक घण्टाको उकालो र ओरालो गर्नु पर्ने पैदल यात्रा १० मिनेटमा सिमित भएको छ । यसरी अब पर्वतको पाङ र बागलुङको रामरेखाको दुरी १० मिनेटको बन्न गएको छ ।