• मंसिर १२ २०८१, बुधबार

माया पलाउने गीत ‘मनमाया’को भिडियोमा उत्कृष्ट अभिनय

कार्तिक १४ २०७८, आईतवार

काठमाडौँ । ‘मै पनि राम्री रैछु’ म त्यसै दुःखी रैछु, मेरा नि बेला रैछन्, मेरा नि बैंस रैछन्, ए मनमाया ।
माथि उल्लेखित शब्दहरु सुन्दा र लेख्दा लाग्छ कतै हेला गरेर फालिएकी, बैंस जोवन बित्नै लागेकी कुनै युवतीले कसैले आफूलाई मन पराएको जस्तो भावले हेर्दा उसको मनमा आउने शब्दहरु हुन् यिनी । गाउँ, समाज होस् वा शहर नै किन नहोस् कसैको बैंस जोवनलाई कसैले उपयुक्त नठानी दिँदा सम्बन्धित पात्र वा प्रवृतिमा निरासा आउनुलाई त्यति साह्रो अस्वभाविक मानिँदैन ।

तर कसैले उपयुक्त नठानिएको बैंस जोवनलाई समय घर्किंदै जान लाग्दा पनि कुनै पात्र आफ्नो परस्थिति सम्हाल्न आइपुग्दा मानिसमा फेरि अर्को आशा पलाउन जान्छ । त्यस्तो समयमा बालल्यकालको जस्तै मानिसको मन फुरुङ्ङ हुन जान्छ । त्यसरी आफ्नो बैंस जोवन सम्हाल्न कोही आइपुग्दा खासगरि महिला पात्रमा एउटा छुट्टै खालको उमङ्ग पलाउने गर्छ ।

मनमाया’को पोस्टर

प्रणय जीवनमा आइपर्ने यस्तो संयोगलाई गायक, गीतकार, निर्देशक र समग्रमा संगीतकर्मी देबेन्द्र बब्लुले एउटा गीत र त्यसको भिडियो मार्फत् उतार्ने प्रयास गरेका छन् । गीतको नाम हो, ‘मनमाया’ । मनमाया गीतको भिडियो हालै बजारमा सार्वजनिक भएको छ ।

गीत र भिडियोमा आफूलाई कसैले जीवनको रुपमा अंगाल्न आइसकेको सुइँको पाउँदा महिला पात्रहरुका मनमा उत्पन्न हुने विभिन्न मनोवादहरुलाई समेट्ने प्रयास गरिएको पाइन्छ । माथि उल्लेख गरिएका शब्दहरु ‘मै पनि राम्री रैछु……’ भिडियोमा बैंस जोवन बित्ने लागेकी एउटी अधबैंसे जस्ती लाग्ने महिला पात्रले गाउँमा गाउँले महिलालाई साक्षरता सिकाउन आएका ग्रामिण महिला शिक्षा कार्यकर्ताले आफूलाई मन पराएको भावले हेर्दा उत्पन्न भएका भावनाहरु हुन् ।

त्यस्तो समयमा युवतीहरुको मन उडेको जस्तो भएको हुन सक्छ, उनीहरुलाई आफैले आफ्ना खुट्टाहरु भूईंमा टेकेको हुँ कि आकास नै टेकेको छु भन्ने भान भएको हुनसक्छ । आफूलाई हेर्ने र मन पराउने मानिसमा उनीहरुको ध्यान गएको गयै गर्छ । यस्तो भावलाई गीतकार बब्लुले शब्दमा यसरी उतारेका छन्, ‘यो मन उड्यो कता कता छैन पाऊ भूईंतिर, थाहै पाउन्न किन जान्छ ध्यान सबै उहीतिर’ कतै मनमाया मायामा पो परिन कि ?

आफूले अनुभूत गरेको भावलाई आफ्नो प्रिय मान्छेसँग शब्दमा व्यक्त गर्न लजाउने महिला प्रवृतिलाई गीतमा अभिव्यक्त गरिएको छ । गीत भन्छ, ‘भनम भने नसुहाउला भन्ने डर फेरि, उर्लिएको मनको चाह रोकु मैले के गरी ?’

मायामा पर्दा युवक वा युवती आफ्ना गतिविधि र भावहरुलाई हिमाल, पहाड, झरना, खोला, हरियाली, आदिसँग मिसाउन र तुलना गर्न खोज्छन् । मानिसमा आउने यस्तो भावधारालाई बब्लुले यसरी लेखेका छन्, ‘हिउँ पग्लेर पानी भयो पानी बगी खोला, मन पनि त बगिगयो कहाँ मिसाउने होला ?’

मनमाया गीत र त्यसमा संगीतको सिर्जना देबेन्द्र बब्लुले गरेका हुन् भने सो गीतमा संगीत संयोजन कार्य श्यामस्वेत रसाइलीले गरेका छन् । चर्चित गायिका देवी घर्ती र देबेन्द्र बब्लुको सुमधुर आवाजमा सजिएको उक्त गीत प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको छ । गीतमा हेमन्त कान्छा रसाइलीले सारंगी बजाएका छन् भने संजीव बराइलीले गीतार ।

देबेब्द्र बब्लु र पशुपती राईले जीवन्त अभिनय गरेको मनमाया गीतको भिडियोलाई बब्लु आफैले निर्देशन गरेका छन् । भिडियोका दृश्यहरुलाई अनिल के मानन्धरले क्यामरामा कैद गरेका छन् भने भिडियोको सम्पादन दिन्सन शाहले सम्पन्न गरेका छन् । भिडियोमा सिर्जनात्मक निर्देशकको रुपमा बिशाल घिमिरे रहेका छन् । कला प्रस्तुती, छायाङ्कनको सेरोफेरो, गीत र संगीत सिर्जना देखि गायनसम्म मात्रै होइन जीवन्त अभिनयले गर्दा ‘मनमाया’ गीतको भिडियो एउटा उत्कृष्ट रचनाको रुपमा रहेको छ ।

हेरौं भिडियो ⇓