• मंसिर १४ २०८१, शुक्रबार

मुस्कानको शक्ति

कार्तिक १४ २०७८, आईतवार

स्पेनको गृहयुद्धताका फाँसीवादीहरु विरुद्ध लडदै गर्दा म पक्राउ परें । मेरा दुस्मनले मलाई कालकोठरीमा हालिदिए र त्यहाँबाट अब बच्न सकिन्छ भन्ने मलाई पटक्कै थिएन ।

आँखा अगाडी मृत्यु देखेर को डराउँदैन ? को काम्दैन ? चिन्ता र डरले थर्थराएको जिउलाई साम्य पार्न चुरोट पिउन मन लाग्यो । शत्रुहरुले मलाई पक्रंदा सबै चिजबिजहरु लगेका थिए । कसो हुनाले यो एउटा चुरोट बाँकी रहेछ । चुरोट ओठमा त लगाएँ तर त्यसलाई सल्काउने चिजबिज मसँग थिएन ।

मलाई थुनिएको ठाउँबाट जेलरलाई स्पष्ट देख्न सक्थेँ । जालीबाट यता देखिन्थ्यो कि देखिंदैनथ्यो म ठयाक्कै भन्न त सक्दिनँ तर यसो ठूलो स्वरले बोल्यो भने त्यता नसुनिने कुरै थिएन । मैले हिम्मत जुटाएँ र भनेँ ‘चुरोटको ज्यादै तलतल लाग्यो । निगाह भए म छ्यास्स आगो पाउँथें कि ?’ जेलर निकै कोमल रहेछ । ऊ लुखुरलुखुर आयो र सलाई कोरिदियो । ऊ बार बाहिर म बार भित्र ।

सलाईको झ्यारर्र आवाजसँगै ‘अनायास मेरो आँखा उसको आँखासँग जुध्यो । ‘जसै आँखा जुध्यो, मेरा ओठ मुस्कानले तनक्क तन्किए । त्यो क्षण म जेलरसँग किन मुस्काएँ, मलाई नै थाहा छैन तर मेरो मुस्कानको असर के परिदियो भने, जेलरका ओठ पनि मुस्काए ।’

मलाई थाहा थियो, ऊ मालिक अनि म बन्दी । ऊ मसँग कसरी मुस्काउन सक्छ ? ऊ मसँग मुस्काउन चाहँदैन थियो तर मेरो मुस्कानका कारण अकस्मात ऊ पनि मुस्कायो । यो मुस्कानले मनको दुरी मेटिदिएको थियो । चुरोट सल्काइसकेपछि पनि जेलर केहि बेर आमने सामने भएरै बस्यो र हामी एक अर्कालाई हेर्दै मुस्काइरहेका थियौँ । त्यहाँ उसका लागि कैदी थिइनँ म र, ऊ पनि जेलर थिएन मेरा लागि ।

अकस्मात जेलरले सोध्यो ‘बच्चाबच्ची कति छन् नी ? ‘मृत्युको चिन्ता र डर अझै घटिसकेको थिएन र बोल्ने आँट अझै आइसकेको थिएन । मैले उसको प्रश्नमा आफ्नो गोजीमा भएको फोटोबाट उत्तर दिन चाहन्थेँ । गोजी छामछुम पार्दैगर्दा उसले आफ्नो गोजीबाट एउटा राम्रो बच्चाको तश्विर निकाल्यो । उसलाई आफ्नो निनोजप्रति ठूलो आशा थियो र ऊ कल्पिरहेको थियो ।

निनोजका लागि ऊ यसो गर्नेछ, उसो गर्नेछ । उसले आफ्नो छोराका बारेमा भन्दै गर्दा मेरो आँखामा चाहिँ आँशु आयो । नआओस् पनि किन ? अब म उसलाई कहिल्यै देख्न पाउन छैन । मैले भनेँ पनि ‘मैले कहिल्यै पनि मेरा सन्तान र श्रीमानलाई हेर्न नपाउने भएँ । मेरा सन्तानहरु हुर्किरहेको मैले देख्न नपाउने भएँ ।’

मैले त्यसो भनिरहँदा उसका आँखामा पनि आँशु देखें । अचानक ऊ जुरुक्क उठयो र मेरो कोठाको ताला खोल्यो । मेरो कोठाभित्र छिरायो र मेरो हातमा समात्यो । भित्रि चोटाकोठा हुँदै उसले जेलबाहिर निकाल्यो र सुरक्षित ठाउँमा आइपुगेपछि मलाई छाडेर ऊ जेलतिर लाग्यो । एउटा मुस्कानले मेरो ज्यान जोगिएको थियो, अब मैले मेरा बच्चा र श्रीमतीलाई हेर्न पाउने भएको थिएँ ।

–एन्टोइन डि सेन्टएक्जुपेरी (स्पेनको गृहयुद्धमा नाजीहरु विरुद्ध लडेका साहित्यकार एन्टोइनले लेखेको यो कथा निकै लोकप्रिय भएको थियो । यो उनको सत्य घटना थियो । उनी लडाकु जहाजका पाइलट पनि थिए । पछि दोस्रो विश्वयुद्धमा लड्दै गर्दा उनी मारिएका थिए । उनी स्पेनका प्रख्यात साहित्यकार हुन् ।)

यो सामग्री हामीले अच्युत कोइरालाद्धारा सम्पादित ‘जिन्दगी तपाईंको जित पनि तपाईंकै’ पुस्तकबाट लिएका हौं ।