१. जलवायु परिवर्तनको चुनौती :
जलवायु परिवर्तन आज पृथ्वी र पृथ्वीवासी दुबैका सामु असाधारण
चुनौतीका रुपमा उपस्थित छ । जलवायु परिवर्तनका विरुद्ध बलियो
अन्तर्राष्ट्रिय साझेदारीको खाँचो छ । औद्यौगिक राष्ट्रहरुले देखिने गरी
कार्बन उत्सर्जन घटाउनु र हरित अर्थतन्त्र एवम् हरित विकासका लागि
ठोस कदम चाल्नु आवश्यक छ । जोखिममा परेका मुलुकका लागि वित्तीय
सुविधा अत्यावश्यक छ ।
२. छिमेकीको स्वार्थबीच छिनाझप्टी :
चीन र भारतबीच सुरु हुन लागेको संवाद, समझदारी र सहकार्यलाई
तनाव र सीमा विवादले विस्थापन गर्दै लगेको छ । दुई देशबीच संवाद
भए पनि समस्या कायमै छ । दुई देश बीचको तनावको असर समग्र दक्षिण
एसियामा अनुभूत भएको छ । भारत–पाकिस्तानबीच तनाव जारी नै छ
। भारतसँग नेपाल लगायत विभिन्न छिमेकी मुलुकका कतिपय विवादित
विषय अझै समाधान हुन सकेका छैनन् ।
३. चिनियाँ विशिष्टतासहितको समाजवाद :
चिनियाँ विशेषता सहितको समाजवाद निर्माणमा चीनले हासिल गरेको प्रगति अभूतपूर्व छ । सन् २०२० मा चीनले आफ्ना सबै नागरिक गरिबीबाट मुक्त भएको घोषणा गरेको छ । चालीस बर्षको अवधिमा असी करोडभन्दा बढी नागरिकलाई गरिबीबाट मुक्त गर्न सफल चीन विश्वमै उदाहरणीय बनेको छ ।
चीनले औसत रुपमा समृद्ध समाजवादी राष्ट्र बन्ने पहिलो शताव्दी लक्ष्य हासिल गरेको छ । यस सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता बधाइका हकदार छन् ।
४. अफगान अमेरिकी सम्बन्ध :
अफगानिस्तानबाट अमेरिका र नेटो गठबन्धनका सैनिकहरु बीस वर्षपछि पछाडि हटेका छन् । यसले स्पष्ट पारेको छ– जुन सुकै बहानामा गरिए पनि बाह्य हस्तक्षेप र आक्रमण गलत हो । त्यसको असफलता अनिवार्य छ । कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्बन्धित मुलुककै जनताको हो, बाह्य शक्तिको होइन ।
अफगानिस्तान घटनाका बाछिटा दक्षिण एसियामा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुन सक्ने संभावनालाई पनि ध्यानमा राख्दै नेपाल स्पष्ट रुपमा अहस्तक्षेप, लोकतन्त्र, खुल्लापन र क्षेत्रीय शान्तिका पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।
५. प्रभावित दक्षिण एशिया :
चीन–भारतको सम्बन्धको प्रभाव नेपाल लगायत दक्षिण एसिया र समग्र विश्वमै गहिरो गरी पर्छ । हामी चीन र भारतबीचको सीमा समस्या लगायतका मतभिन्नताहरु चाँडै समाधान होउन् र दुई देशबीच सार्थक साझेदारी विकास होस् भन्ने चाहन्छौं ।
यसले विकास र सहयोगको त्रिदेशीय सहकार्यको संभावना पनि बढ्ने छ । नेपाल, आप्mनो भूभाग कुनैपनि छिमेकी तथा मित्र राष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने नीतिमा दृढ छ । त्यसैगरी नेपाल, एक चीन नीतिमा अडिग छ । नेपाल–भारत सीमा वारपार अपराध नहोस् र आतङ्ककारीले लाभ उठाउन नसकुन् भन्ने बिषयमा भारतको चासो देखिन्छ ।
६. नेपालको चासो र पहल :
भारतसँगको व्यापार घाटा, लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, सीमाको व्यवस्थापन, नेपालको आन्तरिक मामलामा हुने अनावश्यक चासोर हस्तक्षेपजस्ता विषयमा नेपालको चासो र सरोकार छन् । हामी हाम्रा छिमेकीका जायज चासो र सरोकारप्रति सजग छौं ।
त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरु, विशेषतः छिमेकीबाट चाहन्छौं । दुई देशबीचका समस्यालाई जिम्मेवार कूटनीतिक पहलका माध्यमबाट समाधान गर्न चाहन्छौं ।
(एमालेको विधान महाधिवेशन दस्तावेजबाट)