काठमाडौं । सन् २०१९ को अन्त्यबाट सुरू भएको कोरोनाभाइरसको महामारीले संसारभरि यात्रालाई अवरोध गर्यो । लकडाउनका बेला मानिसहरू घरबाट बाहिर निस्कन पाएनन् भने विश्वका शक्तिशाली राष्ट्रका नेताहरूले पनि एकअर्काको मुलुकमा भ्रमण गर्न सकेनन् ।
गत वर्ष कोरोनाविरूद्धको खोप आएको र संक्रमण घट्दै गएपछि पछिल्लो समयमा धेरै देशले प्रतिबन्ध खुकुलो बनाएका छन् । अन्तराष्ट्रिय सभा सम्मेलन पनि भौतिक रूपमै हुन थालेका छन् ।
यही साता इटालीको रोम र स्कटल्यान्डको ग्लास्गोमा दुई ठूला अन्तराष्ट्रिय सम्मेलन हुँदैछन् । रोममा शनिबार र आइतबार विश्वका २० ठूला अर्थतन्त्र भएका देश जी–२० को शिखर सम्मेलन हुँदैछ भने ग्लास्गोमा राष्ट्रसंघीय जलवायु सम्मेलन हुँदैछ । जसलाई कोप–२६ भनिएको छ ।
यी दुबै सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्ररसरकार प्रमुखहरू सहभागी हुँदैछन् तर चिनियाँ राष्ट्रपति सी चिनफिङ भने यी दुबै सम्मेलनमा देखिने छैनन् । जी–२० को सम्मेलनमा राष्ट्रपति सीले भर्चुअल सम्बोधन गर्ने चाइना डेलीले जनाएको छ । कोप–२६ मा सी नजानेबारे बेइजिङले कुनै घोषणा गरेको छैन तर उनी उक्त सम्मेलन सहभागी हुने सम्भावना छैन ।
यस विषयमा केही समयअघि अमेरिकी अधिकारीहरूले असन्तुष्टि नै जनाएका थिए । जलवायु परिवर्तनमा प्रभाव पार्ने कार्बन उत्सर्जन धेरै गर्ने मुलुकमध्ये चीन पनि एक हो । त्यही भएर कोप–२६ जस्ता सम्मेलनमा चीनका शीर्ष नेताको सहभागिता हुनुपर्छ भन्ने उनीहरूको ठम्याइ छ ।
अहिले युरोपमा भइरहेका दुई सम्मेलनमा मात्र होइन सन् २०२१ भरि नै सीले चीन छोड्ने सम्भावना छैन ।
सीले चीन नछोड्ने र नेताहरूलाई बेइजिङमा स्वागत नगर्ने भएपछि यस वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र सीबीच भौतिक रूपमा भेट हुने सम्भावना न्यून हुँदै गएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले सन् २०२१ भरि सीले चीनबाहिर जान नचाहेको बताएका छन् ।
चीनको वुहानबाट कोरोना महामारी सुरू हुनुभन्दा अघि सीले विदेश भ्रमण गर्ने र विदेशी नेतालाई बेइजिङमा स्वागत गर्ने क्रम बढ्दो थियो ।
वाल स्ट्रिट जर्नलका अनुसार सन् २०१९ मा सीले २३ विदेशी नेतालाई स्वागत गरेका थिए भने ११ मुलुकको भ्रमण गरेका थिए । सन् २०२० को जनवरीमा सीले म्यानमारको भ्रमण गरेका थिए भने त्यही वर्ष मार्चमा पाकिस्तानी राष्ट्रपतिलाई बेइजिङमा स्वागत गरेका थिए । त्यसयता उनले कुनै पनि विदेशी नेताले फेस टु फेस भेटेका छैनन् ।
उनीमात्र होइन यो अवधिमा प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ कम्युनिष्ट पार्टीका अरू पाँच जना पोलिटब्युरो सदस्य पनि विदेश भ्रमणमा गएका छैनन् । विदेश मन्त्री याङ यीले भने विदेश भ्रमण गरिरहेका छन् ।
चीनले कोरोनाभाइरसको नियन्त्रणमा लागि निकै कडा मापदण्ड अपनाएको थियो । अहिले पनि केही दर्जन संक्रमितहरू भेटिएका सहरमा पूर्ण रूपमा लकडाउन गरिएको छ । १४ वटा देशसँग भूसीमा जोडिएको चीनले विदेशीलाई प्रवेश निकै कडा गरेको छ ।
कोरोना नियन्त्रणका लागि अपनाइएका मापदण्डको महत्व कति छ भन्ने सन्देश दिनका लागि पनि सी चीनबाहिर नगएको हुन सक्ने विश्लेषकहरूले बताएका छन् ।