• मंसिर १७ २०८१, सोमबार

आएन दशैँ मजदूरी गरिखानेलाई

आश्विन २६ २०७८, मंगलवार

काठमाडौँ । यसवर्षको बडादशैंको रौनक चारैतिर छाएको छ । आफ्ना विभिन्न कार्यस्थलबाट जन्मथलोको भूमिमा पुग्नेहरु कोही पुगिसकेका छन् भने कोही पुग्ने लागेका छन् त कोहि बीचबाटोमै हिंडिरहेका छन् । गाउँघरमा पाइला टेक्ने, बाल्यकालका साथिभाई दौंतरी भेट्ने, आफ्ना अग्रजहरुबाट आशिर्वाद लिने गरेर मानिसहरुले दशैंको निहुँ पारि यस्तो यात्रालाई जारी राखेका छन् ।

वर्षमा नेपाली हिन्दुहरुले सबैभन्दा ठूलो र धुमधामका साथ मनाउने भएकोले पनि होला यसपर्वलाई नेपालमा बडादशैं भनिन्छ । यता जाने, उता जाने, यात्रा गर्ने, रस पिउने र रमाइलो गर्ने यस्ता कुराहरु हुनेखानेका अर्थात् पुगिपरी आउनेहरुका कुरा भए तर यही देशमा र शहरमा यस्ता पनि मानिसहरु रहेका छन्, जसलाई न दशैँ आएको रौनक छ न त गाउँघर फर्किने नै चमक आएको छ ।

महिनौं थपिने महंगीको मारमा परेर यसपाली दशैँमा घर जान नपाउने मानिसहरुको पीडा अर्कै खालको देखिन्छ । यस्ता पीडामा बसेर चाडबाडमा घर फर्किन नसक्नेहरुको कथा गोल खबरडटकमले प्राप्त गरेको छ । यसरी यसपाली आम्दानी नहुँदा घर जान नसक्नेहरुको कथामा मुख्य रुपमा राम्ररी हुन नसकेको उनीहरुको आयस्रोत नै रहेको देखिन्छ ।

यसरी आयस्रोत हुन नसक्दा कसैको श्रीमती र बालबच्चा गाउँमा र आफू एक्लै शहरमा हुनुपरेको पिडा रहेको छ भने कसैको महंगीको कारण बालबच्चाहरुलाई लुगाफाटो किन्न गाह्रो भएको कथा रहेको छ । कसैले भने छोराछोरी तथा नातिनातिनाहरुलाई टिका लगाएर दान दक्षिणा दिने पैसा नहुँदा घर जान नसकेको बताएका छन् ।

खोछाङ घर भइ राजधानीमा मजदुरी गर्न आएका शिव भुजेल हुन् या ओखलढुङ्गाबाट आएर यहाँ रिक्सा चलाइरहेका टेकबहादुर रानामगर हुन्, यात नुवाकोटबाट आएर मजदुरी गरेर ज्यान पालिरहेका सानु तामाङ नै किन नहुन वा ललितपुरका रिक्सा मजदुर वीरबहादुर सिलवाल नै किन नहुन यिनीहरुजस्ता सयौं मजदुरहरुका पीडाहरु उस्तै रहेका छन् । जसले यसपाली परिवारसँग बसेर सँगै चाडवाड  मनाउन पाएनन् ।

नुवाकोटबाट राजधानी आएर मजदुरी गरिरहेका सानु तामाङ भन्छन, ‘पैसा नहुँदा कसरी गाउँ जानु ?’ आम्दानी नहुँदा एक किलो मासु किन्न समेत पैसा नहुँदा गाउँ जान नसकेको बताउदै उनले अगाडी भने,‘श्रीमती गाउँमा उता एक्लै छिन आफू यता कमाई हुन नसक्दा गाउँ जान नपाएर एक्लो छु ।’ घर गएर आउन कम्तिमा ५ हजार रुपैयाँ आवश्यक हुने भएकोले त्यो जुटाउन नसक्दा आफू गाउँ नगएको उनले बताए ।

उता खोटाङबाट मजदुरी गर्न राजधानी छिरेका शिव भुजेलको पीडा पनि तामाङको जस्तै मिल्दो जुल्दो रहेको छ । भुजेल भन्छन्, ‘धनी र हुने खानेहरुको लागि पो दशैँ, हामी गरिबहरुको लागि के को दशैँ ?’ आउने जाने खर्च नभएकोले यसपाली घर जान नसकिएको उनको भनाइ रहेको छ । त्यही खर्च नभएकोले दशैं र चाडबाड आएको आफूलाई कुनै महशुस नै नभएको अनुभव उनले व्यक्त गरे ।

ओखलढुङ्गाबाट आएर काठमाडौँमा रिक्सा चलाइरहेका टेकबहादुर रानामगरले पनि रमाइलो गर्ने मोजमस्ती गर्ने त कुरै नगरौं आधारभूत आवश्यकता समेत चलाउन गाह्रो भएको बताए । उनले भने,‘चाडबाड सुरु भएपछि बालबच्चा लत्ता कपडाहरु चाहियो भन्छन्,महंगीले आकास छोएको छ, मासु खान खोज्छन् आम्दानी छैन ।’ गतिलो गरि बचत गर्न नसकेकोले यासपाली घर नगएको उनको भनाइ रहेको छ ।

उता उमेर ढल्कीउन्जेलसम्म राजधानीमा रिक्सा चलाएर गुजारा चलाइरहेका ललितपुरका वीरबहादुर सिलवाल भने नातिनातिना तथा आफन्तहरुलाई टिका लगाएर दिने दक्षिणाकोलागि रकम आम्दानी हुन नसकेकोले गाउँ नगएको बताए । ‘केही ल्याइदिन्छ कि भनेर आश गरेर बसेका हुन्छन्, यता आफ्नो आम्दानी भएन त्यसकारण यसपाली गइएन’ उनले भने ।