• मंसिर ११ २०८१, मंगलवार

दशैं किन र कसरी मनाइन्छ ?

आश्विन २५ २०७८, सोमबार

आश्विन २१ गते, आश्विन शुक्ल प्रतिपदा, वि.सं २०७८ को बडादशैँ आरम्भसँगै नेपालीका घर आँगनमा दशैँको शुभारम्भ हुँदैछ । पूर्वीय धर्मदर्शनमा चार नवरात्रि– माघशुक्ल, चैत्रशुक्ल, आषाढशुक्ल र आश्विनशुक्लपक्षका नवरात्रिमध्ये शारदीयरात्रिका रुपमा देखिने आश्विनशुक्लपक्षको नवरात्रिलाई विशेषरुपमा मानिएको छ ।

शक्तिउपासनाको दृष्टिले अत्यावश्यक देखिएको यो नवरात्रिको पहिलो आकर्षण हो ‘घटस्थापना’ । घटस्थापनाका दिन सुरुमै आवश्यक पर्ने सामग्रीहरु–जमरा राख्ने राम्रो, चोखो, शुद्ध, बालुवा या माटो, तामा र माटोको घडा र तामाको थाली, पूजासामान, राम्ररी तयार पारिएको जौ,  फूल, दूबो, माला, शंख, घण्ट, डमरु, गोकुल धूप, कपुर, नौसूते बत्ती, वस्त्र, पानमसला, कुभिण्डो, नरिवल, गोबर, पञ्चगव्य, खड्ग, उखु, बेल, चामल–दियो, कलश, गणेश आदि र दसदिनसम्म आवश्यक विशेष सरसामग्रीहरु तयार पारिन्छ ।

घडामाथि तामाको थालीमा अष्टदल, श्रीयन्त्र लेखी नवदुर्गा स्थापना गरी विशेष पूजा गरिने देवीका तीन मूलस्वरुप श्रीमहाकाली, श्रीमहालक्ष्मी र श्रीमहासरस्वती हुन् । सृष्टिको आदिमकालदेखि ब्रह्मा, विष्णु, महेशको स्तुति वन्दना गरिएकी देवी संसारकै कल्याणमयीका रुपमा चिनिन्छिन् र उनलाई भूवनेश्वरीदेवी पनि भनिन्छ । मणिद्विपनिवासिनीदेवीको चर्चा नवरात्रिमा विशेष पारायण गरिने देवीभागवत, कालिकापुराण, दुर्गासप्तशती आदिमा गरिएको पाइन्छ ।

चैत्रशुक्लप्रतिपदादेखि आरम्भ गरी घटस्थापना गरेर पहेंला जमरा ग्रहण गरी शुभ आशीर्वाद लिई मर्यादापुरुषोत्तम श्रीरामले रावणमाथि विजय प्राप्त गर्न सकेको स्मरणस्वरुप मनाउँदै आएको शुभविजयाउत्सव सबैकालागि सजिलो होस् भनी शारदीय नवरात्रिका रुपमा मान्दै आएको हो । अघि नारदकै श्रापका कारण श्रीविष्णुले मनुष्यअवतार लिनु परेको र नारदगुरुकै उपदेशअनुसार लङ्काका रावणबाट अपहरित सीतालाई सकुशल फिर्ता ल्याउन र रावणमाथि विजय प्राप्त गर्न घटस्थापनाको विधि बताइएको हो ।

घटस्थापनामा प्रयोग हुने जौ अन्नको सर्वाधिक शक्तिशाली नै हो । जौ मा अत्यन्त पोषणतत्व रहेको र जुनसुकै बिरामीलाई पनि सेवनयोग्य भएको कुरा पुष्टि भएको छ । गाईको गोबर अत्यन्त पवित्र मानिन्छ । यसमा रोगका किटाणुहरु बस्न नसक्ने हुन्छ । माटाको घडामा गोबर टाँसी जौ रोप्ने र त्यसरी उमारिएको जौको जमरा शिरमा ग्रहण गर्नाले मन मस्तिष्क स्वच्छ, पवित्र भई आशीर्वाद योग्य हुन्छ । जौको जमरा मालाबाट देवी प्रशन्न हुने र इच्छासिद्धिको वरदान दिने कुरा शास्त्रहरुले पुष्टि गरेका छन् ।

घटस्थापनाको दिन विशेष वैदिक मन्त्रद्वारा स्थापित जमरावेदीमा नवदुर्गाको विशेष पूजा गरिन्छ । ९ दिनसम्म पूजा गरिने देवीका नामहरु–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । सुरुको दिन नवदुर्गा उपासना गर्नुअघि देवीको स्वर्णप्रतिमालाई पञ्चामृतले पखालेर, आगोमा सेकाई प्राणप्रतिष्ठा गर्ने क्रममा तिल जौ राखी तामाको थालीमा अष्टदल श्रीयन्त्रमाथि मध्यभागमा स्थापना गरिन्छ । कुश, फूल, अक्षता, जौ, तिल, जल सहित वेदका मन्त्रले प्राणप्रतिष्ठा गरिन्छ ।

आवाहन मुद्राले देवीको आवाहन गरेपछि ध्यानमुद्राले विशेष प्रार्थना गरिन्छ । सकेसम्म षोडशोपचारविधिले पूजा गरी अङ्गपूजा समेत गरिन्छ । अङ्गपूजा गर्दा पाउदेखि शिरसम्म क्रमशः दुर्गा, महाकाली, मङ्गला, कात्यायनी, भद्रकाली, कमला, शिवा, स्कन्दा, महिषासुरमर्दिनी, उमा, विन्ध्यवासिनी आदि देवीको विशेष पूजा गरिन्छ । निराजन, पुष्पाञ्जली गर्दै चण्डमुण्ड विनाशिनी देवीले मेरा सम्पूर्ण इच्छाहरु सिद्धि गरिदिउन् भनी स्तुति पुकार गरिन्छ । दुर्गा, क्षमा, स्वाहा, स्वधा, धात्री आदि देवीले मेरो सर्वत्र विजय गराऊ, आरोग्य प्रदान गर, सर्वत्र कल्याण गराई सुख र सम्पूर्ण मनोरथका साथै पुरुषार्थ प्राप्तिमा सहयोगी बन भनेर बन्दना गरिन्छ । सप्तशतीस्तोत्र पाठ गर्दै जगत्जननी माताले मेरा तनमा कान्ति र मनमा शान्ति प्रदान गर, म मेरो परिवार र मेरा सबै वातावरण अनुकुल बनाऊ भन्दै जगतकी माता जगतजननी अम्बाले मेरो सुकीर्ति बढाई सर्वत्र सिद्धि देऊ भनी विशेष उपासना गरिन्छ ।

देवीउपासनालाई नित्य र काम्य गरी २ प्रकारमा विभाजित गरिएको छ । नित्य उपासनाअन्तर्गत पाञ्चायन पूजामा ५ देवतामध्ये देवीशक्तिस्वरुपा प्रमुखरुपमा मानिएकी छिन् । देवीकै उपासनाले धर्म, अर्थ, काम र मोक्ष प्राप्ति हुनेहुँदा काम्यपूजा अन्तर्गत पनि उनको उपासना गरिन्छ । कामनापरक होस् या निष्कामनापरक देवीको आराधना गर्ने चलन पूर्वीयपद्धतिमा सृष्टिको उषाकालदेखि नै भएको हो । जलशायी सृष्टिकर्ता सर्वेश्वर श्रीविष्णु अघि देवीरुपमा नै रहेको र देवीको कृपाप्रसादले श्रीविष्णु महापुरुष बनेका हुन् । सृष्टिको आरम्भमा मधु र कैटभको विनाश गरी मोह र लोभरुपी संसारको साकार जगत स्थापनामा उनै परम्बादेवीको हात रहेको कुरा शक्तिसाधना, तन्त्रसाहित्य एवं देवी उपनिषद् तथा देवीमाहात्म्यहरुमा चर्चा पाइन्छ ।

देवीका उपासकहरु सात्विक, राजसी र तामसी तीनथरिका हुन सक्छन् । पूजा, प्रक्रिया र विधान फरक भए पनि सबै प्रकारका मानिसहरुले देवीको आराधना यथोचितरुपमा गरेकै हुन्छन् । छल, प्रमाद र आलस्ययुक्त भएर देवी उपासनामा निष्कृय रहनेहरुद्वारा देवी कु्रुद्ध भई श्राप गर्छिन् भनी कालिकापुराणले उल्लेख गरेको छ । विष्णुधर्माेत्तरग्रन्थले सूर्याेदयदेखि १० घडी अर्थात् ४ घण्टासम्मको समयलाई प्रातः बेला बताएको छ । घटस्थापनाकाल प्रातः बेला हो । औंशीसहितको प्रतिपदा भने घटस्थापनाको लागि निषिद्ध छ । नित्य प्रातःस्नान नित्यकर्मपछि प्रातः समयमै नवरात्रिभर देवीको विशेष पूजा सम्पन्न गर्दै देवीभागवत, दुर्गाकवचसहितको दुर्गा सप्तशती पाठ एवं बेलुकी सन्ध्यावन्धन तथा देवीको आरती आराधना गर्ने विधान छ ।

घटस्थापनाले जीवनको आरम्भ र स्थापनाको संकेत गर्छ । मानिसको पूर्णआयु १०० वर्ष हो । एकदिनलाई १० वर्षको संकेत गर्दै यवांकुर गरेर जीवनलाई जीवन्त बनाउन सुरुमा सिर्जनाको संकेत अन्नको राजा जौ छर्ने, जलपूर्ण घडा स्थापना गरी स्थापित जीवनको आरम्भको संकेत दिने समय हो यो । जीवनमा शक्तिपुञ्ज हरघडी आवश्यक पर्ने हुनाले शक्तिको पूजा गरी आपूm विजयी हुने र सकेसम्म कालजयी हुने प्रयास प्रारम्भको संकेत पनि हो । स्तुतिसाहित्यले सृष्टिकर्ता ब्रह्माकी शक्तिदाता सर्वेश्वरी ब्रह्मायणीको खुलेर प्रशंसा गरेको छ । नवरात्रिमा अलगअलग स्वरुपले पूजिने उनै देवी नवदुर्गाको पहिलोरुप हिमालयपुत्री शैलपुत्री हो । देवीकैस्वरुप सम्झेर नवरात्रिभर कन्यापूजा गर्ने पनि विधान र प्रक्रिया रहेको छ । पूर्वीयचिन्तनमा कुमारी-कन्यालाई देवी दुर्गाकारुपमा पूजागर्ने चलन

आदिमकालदेखि नै रहेको छ । हिमालयपुत्रीका रुपमा जन्मिएकी उमा स्वयं धर्तीरुपा मातृशक्ति हुन् । नवरात्रिमा कन्याको पूजा अधिक महत्वको रहेको छ भने अष्टमी र नवमीका दिनमा सर्वाधिक महत्व रहेको छ । कुमारीका प्रमुख ९ स्वरुपमध्ये–कुमारी, त्रिमूर्ती, कल्याणी, रोहिणी, काली, चण्डिका, साम्भवी, दुर्गा र सुभद्रा हुन् । स्वरुप फरक भएपनि कार्य एकै देखिने कन्या बालसुलभा हुन् । राजर्षि जनकको संरक्षणमा हुर्केकी कन्या जानकी सीता रासेश्वरी श्रीकृष्णकी बालसखा श्रीराधारानी वृन्दावनका गोपकन्या, देवहुतीपुत्रीका रुपमा धर्ती अवतरित नवधाभक्ति स्वरुपिणी नवदुर्गा स्वयं देवीका अनेकौं विभूति रुपहरु हुन् ।

कुमारीपूजामा आदिभौतिक दृृष्टिले २–१० वर्षभित्रकी रजस्वला नभएकी उत्तम कन्यालाई पूजा योग्य मानिएको छ । कन्या-कुमारी पूजाबाट कुलदेव इष्टदेव दुर्गासमेत प्रसन्न रही मनोकामना पूरा हुने, सम्पूर्ण आफ्ना कलुषित भावना दूर हुने हुनाले कुमारी पूजाको लागि सर्वप्रथम संकल्प गरिन्छ । गुरुवन्दना, दीपकलश पूजा, गणेशको पूजासहित कुमारीको प्रार्थना गर्दै–जगतकी माता जगत्द्वारा पुजित सर्वशक्तिस्वरुपिणी कुमारीदेवी मेरो पूजा ग्रहण गर भन्दै प्रार्थना गरिन्छ । जल, अघ्र्य, आसन, रक्तवस्त्र, सिँगारका सामान, चन्दन, सिन्दूर, गाजल, फलफूल, धूपबत्ती, नैवेद्य, भेटी, पानमसला अर्पण गरिन्छ । सुरुमा कुमारीको पाउ धोई सिरमा जलमार्जन गरिन्छ । उत्तम वस्त्र, गहना, माला, सौभाग्य आदि उपहार अर्पण गरी विधिविधानले कन्या-कुमारी पूजा गर्नाले जीवनका सबै अरिष्टहरु नाश हुन्छन् । कुमारको पनि पूजागर्ने चलन भएका स्थानहरुमा कुमारको समेत पूजा गरी उनीहरुबाट टीकाप्रसाद ग्रहण गर्ने विधान रहेको छ । कन्यालाई कुमारी र कौमारी पनि भनिन्छ । स्वामी कुमार कात्र्तिकेयको शक्तिलाई कौमारी र कन्या-कुमारीलाई योगमायाका रुपमा पनि हेर्ने चलन छ ।

कुमारीपूजामा सर्वसिद्धिका लागि ब्राह्मणकन्या, यश र कीर्तिका लागि क्षत्रियकन्या, धनप्राप्तिका लागि वैश्यकन्या र सन्तान प्राप्तिका लागि शुद्रकन्या पूजागर्ने विधान छ । उग्रसाधना र इच्छा मनोरथ पूर्ती गर्नेले चाण्डालकन्या पूजा गर्नुपर्ने विधान रहेको छ । शिष्टाचारअनुसार आपूmभन्दा माथिको जातको कन्या सर्वयोग्य मानिन्छ । सुकर्म गर्नेका लागि देवीस्वरुपा कन्याले शुभफल दिने र दुष्कर्म गर्नेका लागि उनै देवीले दुर्बुद्धिका रुपमा अन्तर्हृदयमा बसी कन्या सामान्य नारीमात्र नभएर लंकाजस्तो शक्तिसम्पन्न ऐश्वर्य र वैभवलाई खरानी पार्ने रावणजस्ता क्रोधीहरुलाई संहारकारी गुण सम्पन्न पनि गर्ने गर्छिन् । माता यशोदाको गर्भबाट बालसुलभा पुत्रीरुपमा जन्मिएर दुष्ट स्वभावको दुराचारी कंशको कालको संकेत गर्ने तिनै कन्या कंशले मार्न लाग्दा दुष्टको हातबाट छुटी आकाशमार्गले धावा बोल्दै सर्वकल्याणका लागि विश्वपुजिता विन्ध्यवासिनीका रुपमा पनि स्थापित बन्न पुग्छिन् ।

कन्यादान र कन्यापूजाले गृहस्थ पिता, दाजुभाइहरु सर्वगुणसम्पन्न सौभाग्यशाली तेजवृद्धि सहितका कल्याणमयी हुन्छन् । मनु महाराजले जहाँ स्त्रीको सम्मान र पूजा हुन्छ त्यहाँ सबै देवताहरु प्रशन्न हुन्छन् भन्नुभएको छ । मनुस्मृतिमा कन्यापूजाको विधान नारीधर्म नारीचरित्रको विशद व्याख्या भएको छ । अभिभावकले गुन्यू–चोलो दिएर सर्वप्रथम नै देवीका रुपमा परिवारमा कुलको संरक्षिकाको रुपमा स्थापित देवीस्वरुपा कन्यालाई बिहे गरी कन्यादान गर्दा सम्पूर्ण २१ कुलसम्मका कुलपितृहरु उद्धार हुने बताइएको छ ।

कन्याको पेवा, दाइजो, धनमा लोभ गर्नु नहुने, बालबालिकाको घात गर्नु नहुने, उनीहरुको इच्छामा आघात पर्न दिन नहुने, गच्छेअनुसार दाइजो सामग्रीहरु दिनुपर्ने, बालशिक्षामा अधिक प्रेरित गर्नुपर्ने, विवाहपछि चाडपर्व विशेषमा निम्ता गरी छोरीबेटीहरुको आत्मसम्मानलाई कदर गर्नुपर्ने अत्यन्त राम्रो चलन पूर्वीयदर्शनलाई सबैले अनुकरण गर्नुपर्ने देखिन्छ । नारी पूज्या हुन्, बन्दनीया हुन् उनलाई ढोग गर्ने चलन पूर्वीयदर्शनको अनुपम उदाहरण हो । स्त्रीधन, पेवामाथि कसैले पनि लोभ, लालसा गर्नु नहुने गरेमा दोषको भागी हुने, कुनै स्त्रीहरुको मर्यादामा ठेस पुग्न दिन नहुने, स्त्रीहत्या अक्षम्य अपराध हुने पनि पूर्वीयधर्मदर्शनको स्थापित मान्यता र परम्परा हो ।

काली र चण्डिका अनि किल्लारक्षणका नामले दुर्गाका रुपमा चिनिएकी कन्या महिषमर्दिनीको अर्काे रुप हो । आपूmमाथि पत्नीभावले हेरेपछि युद्धको हाँक दिने महिषासुर, उसका सेना चण्ड, मुण्ड, रक्तबिजदेखि शुम्भ, निशुम्भ र धुम्रलोचनसम्म विजय प्राप्त गरी एकछत्र सत्ता सञ्चालन गर्ने देवीलाई घोररुपा, रुद्रायणी, बज्रयोगिनी, दक्षिणकाली, उग्रतारा, शैलेश्वरी, मनकामना, गोरखकाली, ज्वालामुखी, बगलामुखी, गुह्येश्वरी, शोभाभगवती, भैरवी, भद्रकाली, पञ्चकुमारी, संकटा, महाकालेश्वरी, दन्तकाली आदि नामले पुकारिन्छ ।

देवीदुर्गाको व्याख्या लंकामा रावणका सभास्थलमा शिवरुपी हनुमानले खुलेर गरेका छन् कि नारी भोगसाधनाकी विषय मात्र होइनन् अपितु नारी आवश्यक परेका बखत एकैपटक कालरात्रिका रुपमा रहेर खड्ग पनि उठाउने छिन् भनी हनुमानले गर्जना गरेका छन् । जबजब मानिसलाई आपत्, बिपत्, विरह आइलाग्छ तबतब नारी हृदय कालरात्रि, उग्रचण्डी, महागौरीको साधना गरी शक्तिसम्पन्न, शक्तिसञ्चय गर्ने पूर्वीय परम्पराको थालनी सृष्टिको उषाकाल सत्ययुगबाटै आरम्भ भएको हो । हिरण्याक्ष हिरण्यकश्यपुरुपी मानवमा भएको क्रोध, आवेग, तनाव र रावणरुपी लोभमाथि विजय प्राप्त गर्न शक्तिकै उपासना जरुरी छ ।

स्यमन्तकमणिको प्रसंगमा कृष्णपिता वसुुदेव, देवकीबाट नवरात्रिको उपासना भै कालीसाधना भएको थियो भने दाशरथि रामले सीताको मिलनका लागि नवरात्रिभर देवी उपासना गरेका थिए । द्वापरयुगमा गुप्तवास बसेका बेला र वनवासका बखत धैर्यधारण गर्नेसक्ने शक्ति देवीबाटै प्राप्त गरेका थिए । गुप्तवासमा युधिष्ठिरले शक्तिसञ्चय गरेको प्रसंग महाभारतको उद्योगपर्वमा व्याख्या भएको छ । संकटबाट मुक्ति दिलाउने आफ्नो किल्ला अर्थात् सीमाना दूर्ग रक्षा गरी शत्रुपीडा हुन नदिने देवीको दुर्गाको स्वभाव भएकाले गुप्तरुपमा रहेर गोप्यवास गुप्तवास पूरा गर्ने क्षमता प्रदान गर्ने उनै देवीको आद्यगुरु शंकराचार्यले दुर्गापूजा बारे विशद् चर्चा गरेका छन् ।

शंकराचार्यले देवीलाई ललितत्रिपुरासुन्दरीका रुपमा पूजन गरेको अनेकौं स्तुतिवन्दना गरेको चर्चा स्तुतिसाहित्यमा यत्रतत्र सर्वत्र पाइन्छ । शंकराचार्यका अनेकौं देवीस्तुतिमध्ये नवरात्रिमा हर घर घरमा र शक्तिपीठहरुमा ‘देव्यापराधक्षमापनस्तोत्र’ पाठ गरिन्छ जुन निकै सरल र भावुक मन्त्र देखिन्छ यी मन्त्रहरुले सन्तान कुसन्तान हुन सक्छन् तर देवी स्वरुपा आमा कहिल्यै कुमाता हुन सक्तिनन् भनिएको छ ।