• मंसिर १२ २०८१, बुधबार

दसैं : एक सांस्कृतिक पर्व

आश्विन २२ २०७८, शुक्रबार

तीज पछिको अर्को लोकप्रिय चाड दसैं सुरु भैसकेको छ । घटस्थापनाका दिन जमरा राखेपछि विधिवत सुरु भएको दसैं १५ दिनसम्म लगातार चलिरहन्छ । तीजमा शिवको पूजाआराधना प्राथमिकतामा रहे झैं दसैंमा देवी दुर्गा र उनका नौ रुपहरुको स्मरण र धुमधामका साथ पुजाआराधना गरिन्छ ।

तीजमा महिला ब्रत बस्ने तर पुरुषरुपी शिवको प्रार्थाना गरिन्छ भने दसैंमा पुरुषद्वारा दुर्गारुपी महिलाको नवरुपको पुजा गर्ने गरिन्छ । तिहारमा भाइ टीका भनिए पनि दाजुभाइ र दिदीबिहिनीको बीचको रक्त सम्बन्धलाई प्रगाढ बनाउन यो पर्व मनाइन्छ ।

दसैंमा रामले रावणको बध गरेर लङ्कामाथि विजय हासिल गरेकाले विजया दशमीका रुपमा मनाइएको भन्ने तर्क तथ्यमा आधारित छैन । रामायणमा वर्णित कथाको परिवेशलाई लिने हो भने राम–रावणको लडाइँ चैत्र महिनामा (कतिपयले ‘चैते दसैं’ पनि भन्ने गर्दछन्) सम्पन्न भएको पुष्टि हुन्छ ।

असोजमा मनाउने गरिएको दसैं तात्कालीन भारत वर्षमा मौर्यवंशी सम्राट अशोक मौर्यका पालामा प्रचलनमा ल्याइएको थियो । यो हाल महाभारतकै महाकाव्यीय कथाको धज्जी उडाउने गरी रामले रावणमाथि विजय प्राप्त गरेकाले ‘विजया दशमी’ का रुपमा मनाउन थालिएको गलत रुपमा अथ्र्याउँदै आइएको छ ।

तात्कालीन भारत वर्षमा अति प्रभावशाली राज्य मगधका राजा अशोक मौर्यले कलिंगको महारक्तपातपूर्ण युद्ध र त्यसले निम्त्याएको विपत्तिलाई प्रत्यक्ष भोगेपछि असोज महिनामा उनले शान्तिका लागि बौद्ध धर्म अंगीकार गरेका थिए । त्यसैलाई पर्वका रुपमा मनाउँदै आउँदा असोज महिनाको पर्व स्थापित हुन आएको मत निकै बलिया ऐतिहासिक तथ्यको नजिक छ ।

चैते दसैं र असोजमा पर्ने दसैंका बीचमा आनकातान फरक छ । हिन्दु धर्मअनुसार युग विभाजनको कुरामा पनि कहाँको तेत्रा युगको राम–रावणको लडाइँको कुरा, कहाँको कलियुगको मौर्य वंशीय राजा अशोक मौर्यको पालाको कुरा !

हिन्दु धर्मले परिकल्पना गरेको हजारौं र लाखौं वर्षको अन्तरालमा हुने युग विभाजनमा पनि सत्यपछि त्रेतायुग, त्रेतापछि महाभारतको युद्ध चलेको द्वापर युग र त्यसपछि मात्र कलियुग आउँछ । त्रेतामा पनि राम–रावणको लडाइँका कुरा र कलियुगको मौर्य कालमा पनि उनै रामरावण लडिरहेका हुने त कहि पनि हुँदैन ।

साढे पैतीस लाख वर्ष मानिएको सत्य युग, साढे १७ लाख मानिएको त्रेतायुग, साढे आठ लाख मानिएको द्वापर र हालको चारलाख मानिएको कलियुगको समयमा निकै अन्तर पर्न आउँछ ।

ईशापूर्व चौथो शताब्दीमा स्थापित मौर्य वंश (नन्द साम्राज्य) को अन्तिम कालतिर हिन्दु र बौद्धको बीचमा ठूलो लडाइँ चलिरहेको थियो । बौद्ध धर्म मान्दै आएका मौर्यवंशी दशौं राजा बृहदरथ मौर्यको हत्या गरेर उनकै सेनापति हिन्दु धर्मावलम्बी पुष्यमित्र सुङले आफूलाई सम्राट घोषणा गरेका थिए ।

भारतको इतिहासमा मौर्य वंशपछि सुङ वंशको उदय भएको इतिहास ताजै छ । मौर्यपछि ईशापूर्व दोस्रो शताब्दीमा सुङ वंश सत्तामा आउँदा वंशमात्र होइन, धर्म पनि परिवर्तन हुन गएको स्पष्ट देखिन्छ ।

इतिहास जे होस् तापनि नेपालमा मनाइने दसैं धार्मिकभन्दा पनि बढि सांस्कृतिक नै देखिन्छ । हिन्दु तथा गैरहिन्दुले पनि दसैंलाई उत्तिकै मान्यताका दिने गरेका छन् । यो नेपालीको पर्वका रुपमा मानिन्छ । तर पनि स्पष्ट परिभाषा नहुनु र हिन्दुहरुले ‘हिन्दु पर्व’ का रुपमा यसलाई रंगरोगन दिइरहनुले यो पर्व सबैको संस्कृतिको मान्यता भने पाउन सकेको छैन ।

वास्तवमा दशैं चाड र संस्कृति नै हो । यसका क्रियाकलाप बढी पूर्ववैदिक छन् । मातृ सत्ताको शक्ति र अभिभावकत्वलाई यसमा स्वीकार गरिएको छ । दसैंमा गरिने क्रियाकलापका सबै पक्षलाई नियाल्दा अधिकांश सांस्कृतिक नै रहेका छन् ।