• मंसिर ११ २०८१, मंगलवार

राजनीतिमा युवा नेतृत्व : आजको आवश्यकता

आश्विन २० २०७८, बुधबार

काठमाडौँ। राजनीतिक दलहरुले युवाहरूलाई सही मार्ग दिन सक्नु पर्दछ । दल र तिनका नोकरहरुले युवाहरूलाई केवल आफ्नो स्वार्थ पूर्तिको लागि झोले कार्यकर्ताको रूपमा लिनु हुँदैन ।

कार्यकर्ताको नयाँ परिभाषा आवश्यक :

कार्यकर्ताको रूपमा प्रयोग गर्दा उनीहरूलाई सही ढङ्गले राजनीतिक शिक्षा दिनु जरुरी हुन्छ । अहिले पछिल्लो समय सही शिक्षा दिनेभन्दा पनि उनीहरूलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गइराखेको छ ।

युवाहरूले पनि उचित राजनीतिक दृष्टिकोणभन्दा पनि नेताको कति नजिक हुन सकिन्छ भन्ने आधारमा आफूलाई सीमित स्वार्थमा लिप्त गराएको छ । अहिलेका युवालाई सही राजनीतिक शिक्षा दिन सकेनौ भने त्यसले देशको लामो समय वर्बाद हुन सक्दछ ।

युवामा नेतृत्वको हैसियतः

अब युवाहरूले यो राष्टले हामीलाई के दियो र के पाएभन्दा पनि हामीले के दियौ अनि के दिनेछौ भनेर सोच्ने बेला आएको छ । दल र नेताको स्वार्थभन्दा माथि देश र समाजको लागि एक कदम अगाडि बढ्नु पर्ने बेला आएको छ ।

राजनीति एक संस्कार पनि हो । यो संस्कारले देश, जनता र दुबैको भविष्य निर्धारण गर्दछ र यो सत्य हो । बिगतदेखि वर्तमासम्मका ती खराब संस्कार र कुराजनीतिक संस्कारकै कारण देश बन्धक बन्यो र आज पनि अवस्था उस्तै छ ।

युवा नेतृत्वको स्वीकार्यता:

नेपालको समग्र राजनीतिलाई अझ नियाल्दै गर्दा व्यक्तिगत रुपमा पनि युवावर्गलाई खुलेर राजनीतिमा आउन अनुरोध गरिरहेकै हुन्छु । कारण पुरातन राजनीतिक ब्यबस्था तिनै युवावर्ग अनि योग्य र सक्षम ब्यक्ति राजनीतिमा नआएसम्म बूढा भएका, खिया लागेका ती साम्राज्य ध्वस्त पार्न कठिन छ ।

विकास तराजुमा जोख्न सकिने वस्तु मात्र नभई जनताको सक्षममताको स्तर तथा अनुभूतिको विषय पनि हो । देशको विकासमा आर्थिक, सामाजिक, मानवीय, भौतिक, राजनीतिक, प्राविधिकजस्ता पक्षहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।

सक्षमतामा बृद्धि:

देशको कर्मचारीतन्त्र लगायत अन्य जनशक्तिहरू जति नै सक्षम र सुदृढ भए पनि तिनीहरूलाई चलाउने सबैभन्दा माथिल्लो सयन्त्र राजनीति खराब भयो भने यहाँ विकासको परिकल्पना गर्न सकिँदैन ।

शिक्षा, स्वास्थ्य, रोजगारी, यातायत, विधुत, खानेपानीजस्ता भौतिक पूर्वाधारको जस्तोसुकै विकास भए पनि त्यससँग प्रत्यक्ष सम्बन्ध राख्ने राजनीति खराब भयो भने भए गरेका र हुने सरचनालाई पूर्णता दिन सकिँदैन ।

नेपालमैत्री विचार निर्माण:

देशमा रहेका राजनीतिक दल र सो दलले लिएको राजनीतिक सिद्धान्त र विचारले देशलाई कस्तो बनाउने भन्ने विषयमा ठोस योगदान दिन सक्दछ । राजनीतिक दलको मूल्य मान्यता र विचारलाई भन्दा माथि उठि देश विकासको संकल्प प्रत्येक राजनीतिक दलमा हुनै पर्दछ ।

देशमा पछिल्लो तथ्याङ्कले सबैभन्दा बढी भ्रष्टाचार गर्नेहरुमा राजनीतिक दल र कर्मचारीतन्त्रलाई बताएको छ । यो देश विकासका लागि भयानक डरलाग्दो र लाजमर्दो विषय हो । यसको न्युनीकरणमा सरकार तथा सबैको ध्यान जान जरुरी छ ।

विरासत र नयाँपन:

पुरानो पुस्तालाई ससम्मान राजनीतिबाट बिदा गराइ उनीहरूको अनुभव र राम्रो शिक्षालाई सिक्दै राजनीतिको बागडोर युवाहरूले लिनु पर्ने बेला आएको छ । युवाहरुले आर्थिक एजेन्डालाई केन्द्रविन्दु बनाएर आफूलाई तयार पार्नु पर्दछ ।

देशका राजनीतिक दलहरुलाई सही निर्णयको लागि हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्दछ । अन्तमा, जबसम्म राजनीतिले सही बाटो लिन सक्दैन, तबसम्म देशले प्रगति गर्न सक्दैन ।

विकास केन्द्रित राजनीति:

त्यसैले आमयुवाले देशको चौतर्फि विकासका लागि राजनीतिमा सकारात्मक भूमिका लिनु जरुरी छ । राजनीति भनेकै राज्य सञ्चालन कसरी गर्ने भन्ने नीति भएकाले स्वतः युवाहरुको विकास पनि यसैमा निहित रहेको छ ।

तसर्थ, योग्य, सक्षम युवाको खाचो नेपाल र नेपाली राजनीतिले टड्कारो आवश्यकता महसुस गरेको छ । छिटोभन्दा छिटो यसको पूर्ति गर्नतर्फ हामी युवा लाग्नु पर्दछ ।

(सितापाइला, काठमाडौं)