• मंसिर ११ २०८१, मंगलवार

पर्वको आगमनसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्दो

आश्विन १९ २०७८, मंगलवार

‘न झरी नहुरी दशकोण खुली, न चिसो छ त्यति न छ गर्मी उति, नव फूल अनेक फुलाउँछ रे, अब साथी शरद ऋतु आउँछ रे ।’ बर्खाको पातलिंदै जाँदा मनसुनले छाड्दै गएको आभाष हुन थालेको छ ।

किसानहरु उघारीमास लागेको बताउन थालिसकेका छन् । फूलहरु फूल्न थालेका छन् । तीजको बिदाइसँगै दसैं र तिहार आइसकेका छन् । तराइमा छठीको आगमनको पनि व्यग्र प्रतिक्षा भैरहेको छ ।

नेपाली महिलाको सर्वमान्य पर्व तीज निकै धुमधाम साथ मनाइयो । भगवान शिव र पार्वतीको महिमा निकै भए पनि तीजका अवसरमा पशुपति मन्दिर खुल्ला गरिएन । यसको एउटै कारण बताइएको थियो, कोरोना संक्रमणको डर ।

पर्व सबै नेपालीको घरदैलो नजिकै आए पनि कोरोना महामारी संक्रमणको डर भने हटेको छैन । यसले अझैं पनि सामाजिक दुरी कायमै राखिरहने र एक्लाएक्लै बस्ने भनिरहेको छ । तर नेपालीहरुले भने चाडपर्व कसरी मनाउने तयारीमा छन् भन्ने कुरा तीजमा पशुपतिमा भक्तजनको भीडलाई हेरे पुग्छ ।

पशुपतिमा शिव र पार्वतीको पूजाआराधना गर्ने भीडको व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको थियो । हेर्दा मुखमा मास्क लगाए पनि भिडभाड भने निकै बाक्लो थियो । अहिले पनि दसैं मान्न घर जानेको भीड कम छैन । सामाजिक दुरी कायम गर्न सकिने अवस्था नै छैन ।

सबैले कोरोना अब ‘बिगत भैसकेको’ भने झैं गरी तयारी गरिरहेका छन् दसैं मनाउने । तर स्वास्थ्यकर्मी तथा स्वास्थ्य विशेषज्ञ भने कोरोना संक्रमण यस्तो बेलामा व्यापक हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

दसैंमा घर जानका लागि बसको टिकट बुकिङ खुल्ला गरिएको छ । टिकट लिनका लागि मानिसको निकै बाक्लो भीड लागिरहेको छ । घरघरमा मनाइने दशैं यस पटक निकै भव्य तयारी गरिएको देखिन्छ । कोरोना महामारीको संक्रमण चहचह गरिरहेको मनको पर्दा पछाडि धकेलिएको छ ।

विदेशमा रहेका नेपालीहरु पनि बाक्लै हुने गरी स्वदेश फर्किइरहेका छन् । अन्तरदेशीय भेटघाट जस्तो देखिने वडादशैंको मिलन कोरोना महामारी संक्रमणको हिसाबले निकै जोखिमपूर्ण हुन जाने देखिएको छ । बडादशैं लगत्तै कार्तिक महिनामा आउने तिहारको तयारी पनि अहिलेदेखि चर्चा सुरु भएको छ ।

धेरैको मुखबाट सुनिने गरेको छ, ‘पोहरपरार दसैं र तिहार त्यति राम्रो गरी मनाउन पाइएन, तर अहिले दसैं र तिहार निकै धुमधामका साथ मनाइने’ छ । पर्व मनाउन बाँकी रहेको धोको पनि पूरा गरिने छ ।

पर्वहरुमा हुने घुलमिल र भेटघाट क्षणिक हुँदैनन् । केही दिन लम्बिने र आमन्त्रण तथा प्रतिआमन्त्रण गरिरहने खालका हुन्छन् । भेटघाट र पाहुनापाछाको ओइरो लागिरहन्छ । आफन्तकहाँ घरघरै हिँड्ने र आशीर्वाद माग्ने चलन पनि छ ।

निर्माण गरिएका विभिन्न परिकार वियर, ह्वीस्की र माछामासु तथा मिठाइ एकअर्कामा बाँडिचुँडी खाने र एक ठाउँबाट अर्को ठाउँमा लाने क्रम धेरै दिनसम्म व्यापक रुपमा चलिरहन्छ ।

यसले पनि महामारी संक्रमण एकबाट अर्कोमा र एक ठाउँबाट अर्को ठाउँमा सर्न र सार्न मद्दत पुर्याउने देखिन्छ । त्यसैले यी पर्वहरुमा बढि सतर्क रहनु जरुरी देखिन्छ ।