• मंसिर १२ २०८१, बुधबार

पाल्पाली राजा पृथ्वीपाल सेन र नेपाल दरवारको चक्रब्यूह

आश्विन १९ २०७८, मंगलवार

पाल्पाली राजा मुकुन्द सेन (द्वितीय) का महादत्त, सुरवीर, करुवीर, चन्द्रवीर र ध्वजवीर समेत पाँच भाइ छोरा थिए । छोरी राजेन्द्रलक्ष्मीको गोरखाली युवराज प्रतापसिं शाहसँग विवाह भएको थियो । जेठा छोरा राजा महादत्त सेनका पृथ्वीपाल, रणबहादुर र समरबहादुर समेत तीन भाइ छोरा थिए ।

महादत्त सेनको अवधका नवाब आसफुद्दौलासँग गहिरो दोस्ती थियो । नवाब बराबर तराइमा सिकार खेल्न आउने गर्दथे । उनी महादत्त सेनका छोराछोरीलाई समेत निकै माया गर्दथे । नवाबको सद्भावले गर्दा गोरखालीहरुले पाल्पालाई दबाउन सकेका थिएनन् ।

बहादुर शाहको पाल्पा दरबारसँग सुमधुर सम्बन्ध थियो । गोरखालीहरुलाई महादत्त सेनले जन, धन र बुद्धिले सहयोग गरेका थिए (डा. राजाराम सुवेदी, गुल्मीको ऐतिहासिक झलक) । पृथ्वीनारायण शाहले पनि पाल्पाली मामा उद्द्योत सेनबाट बौद्धिक सहायता पाएका थिए (पृना शाहको दिव्योपदेश) ।

बहादुर शाहसँग मिलेर युद्ध गरे बापत पाल्पाले अर्घा, खाँची र गुल्मी राज्य पुरस्कारको रुपमा पाएको थियो । बहादुर शाहले महादत्त सेनकी छोरी विद्यालक्ष्मीसँग विवाह गरेका थिए । अन्तिम पाल्पाली राजा पृथ्वीपाल सेन बहादुर शाहका साला थिए ।

महादत्त सेनको देहावसानपछि वि. सं. १८५० मा पृथ्वीपाल सेन पाल्पाका राजा भए । पृथ्वीपाल ओजस्वी राजा थिए । उनी प्रतापी, तेजस्वी र प्रकाण्ड व्यक्तित्वका धनी थिए ।

बचपनदेखि नै अवधका नवाबको विलासी जीवन, कम्पनी सरकारको निरन्तर बढोत्तरी र गोरखाली राज्यविस्तारको अविरल क्रम देखेका उनी अनुभवी र चतुर थिए । किन्तु सहजै विश्वास गर्ने र तुरुन्तै प्रसन्न हुने आशुतोष स्वभावले गर्दा उनी जीवनमा ठूलो धोका र घातको सिकार भए ।

नवाब आसफुद्दौलाको मृत्युपछि अवधको प्रभाव पहिले जस्तो रहेन । उता रणबहादुरले काठमाडौंबाट नवावसँग कुनै किसिमको सम्पर्क र सहयोग कायम गरे परिणाम घातक हुने धम्की दिइरहन्थे । हुन त पाल्पा स्वयं रणबहादुर शाहको साक्खै मावली हो ।

परन्तु बहादुर शाहका साला भएको हुँदा उनले पृथ्वीपाललाई पटक्कै मन पराउँदैनथे (डा.राजाराम सुवेदी ऐ.) । बहादुर शाहको देहावसानको लगत्तै रणबहादुर शाहले गुल्मी राज्य खोसेर आफ्ना जेठान सिद्धिप्रताप शाहलाई फिर्ता गरिदिए ।

मरेपछि पनि काकासँगको क्रोध शान्त नभएका रणबहादुरले पृथ्वीपाल आफ्नो मावली भएको बिर्से र काकाको सालो भएको मात्र सम्झे । किन्तु उनी आफूलाई अप्ठेरो पर्ने बित्तिकै पृथ्वीपालसँग गुहार माग्न पनि पछि पर्दैनथे ।

रणबहादुरले शास्त्र र कुल परम्पराविरुद्ध तिरहुते ब्राह्मणी कान्तिवतीसँग प्रतिलोम विवाह गरेका थिए । रोगले थला परेकी रानी आफ्नै जीवनकालमा छोरा गीर्वाणयुद्ध विक्रमलाई राजा बनाउन चाहन्थिन् । रानीसँग अत्यन्तै मोहित भएका रणबहादुर गीर्वाणलाई राजा बनाउन चाहन्थे, तर वैधानिकताको समस्या थियो ।

त्यस बखत पृथ्वीपाल मात्र शास्त्रसम्मत सार्वभौमसत्तासम्पन्न राजा थिए । उनकै हातबाट राजतिलक गराउन र श्रीपेच पहिराउन पाए छोराको राजसत्ताले वैधानिकता प्राप्त गर्ने आशाले रणबहादुरले पृथ्वीपाललाई निम्तो गरेर बोलाए । वि. सं. १८५५ फागुन २८ गतेका दिन डेढ वर्षका गीर्वाणलाई पृथ्वीपाल सेनले टीका र श्रीपेच पहिराएर राजगद्दीमा बसाले ।

उच्च व्यक्तित्व, वैदेशिक पहिचानले युक्त र पाल्पाली सभ्यताका जीवन्त प्रतीकबाट छोराको राजतिलक गराएर राजारानी ढुक्क भए । तर आफ्नो अवैधानिक र अनैतिक कामबारे हीनग्रन्थी पालेका रणबहादुरको मनमा कतै भारदारहरु मिलेर पृथ्वीपाललाई नै समग्र नेपालको राजा बनाउने हुन् कि भन्ने डर र शङ्का थियो ।

स्वार्थी रणबहादुरले आफ्नो अभिष्ट पूरा हुनासाथ तुरुन्तै पृथ्वीपाललाई नजरबन्दमा राखे । पृथ्वीपाल रानी राजराजेश्वरीको सहयोगमा स्वदेश फर्कन सफल भएका थिए (ह्यामिल्टन) । २४ वर्षको चढ्दो जवानीमा सन्की राजा रणबहादुर ‘संसार त्याग गरी तपस्या गर्ने इच्छा भयो’ भन्दै गेरुवा वस्त्र धारण गरी पशुपतिको धर्मशालामा बस्न गए ।

अस्थिर चरित्रका स्वामी नेपालमा अनेकौं बबाल मच्चाएर काशीतिर लागे । केही वर्ष काशीवास गरेपछि नेपाल फर्केका उनले भीमसेन थापालाई प्रधानमन्त्री बनाएर आफू मुख्तियारको कार्यभार ग्रहण गरी शासन गर्न थाले । काशीमा रहेको समयमा रणबहादुरले नेपाल फर्काउन सहयोग गर्नुपर्यो भनेर पृथ्वीपाललाई चिठी पठाउने गरेका थिए ।

यता काठमाडौंबाट पनि राजा गीर्वाणको नामबाट स्वामीका कुराको वास्ता नगर्नू भन्ने दवाब थियो । दोहोरो चेपमा परेका उनी स्वामीलाई कुनै प्रकारको सहयोग गर्न असमर्थ थिए । रणबहादुरले मनमनै सो कुराको पनि इबी लिएका रहेछन् ।

स्वामीले यहाँ टुहुरो नानी राजाको लागि आमा चाहियो, तपाईंकी बहिनी विवाह गर्छु, लिएर आउनुहोस् भन्ने सन्देशसाथ एक प्रतिनिधिमण्डल पाल्पा पठाए । पृथ्वीपालले माहिला भाइ रणबहादुर सेनको साथ लगाएर बहिनी नजरहजुरलाई काठमाडौं पठाए ।

तर रणबहादुर शाहले तपाईंको भाइ मभन्दा कान्छो छ । आफूभन्दा कान्छोसँग कसरी कन्यादान लिऊँ ? तपाईं राजा पनि हो र मभन्दा जेठो पनि हुनुहुन्छ, कृपया कन्यादान गर्न आउनुहोस् भनी पृथ्वीपाललाई फकाई फुल्याई गरेर खबर पठाए ।

काठमाडौंमा कुनै खतरा हुने छैन भनी प्रत्याभूति पाएका पृथ्वीपाल ४०० सैनिक साथमा लिएर १८६१ जेठमा काठमाडौं पुगे । परन्तु सहरभित्र प्रवेश गर्न नपाउँदै नेपाली सैनिकले पाल्पाली सैनिकलाई निःशस्त्र पारे । राजालाई पाटन दरबारमा लगेर थुनियो । विवाहको कुरा त्यसै हराएर गयो ।

वि. सं. १८६३ वैशाख १४ गते राति त्रिभुवन काजीको घरमा कचहरी बसिरहेको समयमा भाइ शेरबहादुर शाहले स्वामी महाराज रणबहादुरलाई काटे । भात खाएर हात पुछ्दै आएका प्रधानमन्त्री भीमसेन थापाले त्यो दृश्य देखेपछि भनेका थिए, ‘चौतरिया, गुरु पुरोहित, पाण्डे, बस्नेत थरघर तिमीहरू सबै बसी स्वामीलाई गादीमा मरायौ । लौ हेर त अब तिमीहरूको तमासा । टेकु दोभानदेखि आर्यघाटसम्म सोला चढाउन सकिन भने म भीमसेन थापै होइन ।’ (ज्ञानमणि नेपाल, नेपालको महाभारत) ।

त्यसदिन रातभर र अर्को दिन बिहानसम्म अनेकौं निर्दोष भारदारहरुको निर्मम हत्या भइरह्यो । पाटन दरबारमा थुनामा रहेका पाल्पाली राजा र उनका भाइ चौतरिया रणबहादुर सेनलाई बाँधेर घिच्याउँदै भण्डारखालमा ल्याइयो । भीमसेन थापाले पाल्पाली राजालाई रणबहादुर शाहको हत्याको षड्यन्त्रमा संलग्न रहेको झूटो दोषारोपण गरे । राजा अवध्य हुन्छन् भनी पृथ्वीपाललाई मार हान्न कोही तयार भएन ।

तर त्यही अलमलका बीच एक जना विराज बिस्ट नाम गरेको अर्दली ‘म काट्छु’ भन्दै कस्सिएर आयो । उसले ४७ वर्षीय राजा पृथ्वीपाल र भाइ रणबहादुर सेनलाई काट्यो । भनिन्छ, काट्नुअघि राजालाई अपार यातना दिइएको थियो । पाल्पाली राजा काट्ने अर्दली विराज बिस्टलाई भीमसेन थापाले लप्टनको दर्जा दिए ।

राजा पृथ्वीपाल सेन, चौतरिया रणबहादुर सेन र १८ जना पाल्पाली राजाका नातेदार र सैनिकको लास दाम्लाले बाँधेर घिसार्दै विष्णुमतीको किनारमा मिल्क्याइयो । निर्दोष पाल्पाली राजा, राजकुमारहरु र सैनिकहरुको सतगत गर्न पनि दिइएन (मोहन थापा, ती सैनिक ) ।

कुनै अपराधमा संलग्न नभएका, गोर्खाली शक्तिलाई निरन्तर सहयोग गर्दै आएका र वैवाहिक सम्बन्ध कायम गर्ने निमन्त्रणामा उपस्थित भएका पृथ्वीपाल सेनलाई थुनेर राख्नु र पछि अनाहक आरोप लगाएर जघन्य हत्या गर्नु असह्य र अमानवीय कृत्य थियो । पाल्पा र गोरखा दुबै राज्य लामो समयसम्म टिकिरहनु सम्भव थिएन । एक दिन दुईमध्ये एउटा अर्कोमा विलय हुनु समयको आदेश नै थियो ।

पाल्पालीहरु शक्तिशाली भए तापनि मुलुकको एकीकरण गर्न सक्दैनन् भन्ने कुरा मुकुन्द सेन (प्रथम) को समयमै प्रमाणित भइसकेको थियो । उत्पन्न परिस्थितिमा ढिलो या चाँडो पाल्पा एकीकृत नेपालमा गाभिनु अवश्यम्भावी नै थियो । पाल्पालाई सैनिक कारवाही गरेर नेपालमा गाभ्न सकिन्थ्यो । युद्ध भएको भए पाल्पाली राजाले लडेर वीरगति पाउन पनि सक्दथे ।

सल्लाहले नै पनि सल्यान, जाजरकोट र बझाङजस्तो गरी अर्धस्वायत्त राज्यको रुपमा स्वीकार गर्न सकिन्थ्यो । परन्तु पाल्पा अधिराज्यलाई नेपाल अधिराज्यमा गाभ्ने कार्य सारा वैधानिक तरिकालाई लत्याएर साह्रै कायर र प्रतिशोधपूर्ण हत्याकाण्ड मच्चाएर गरियो ।