• मंसिर ११ २०८१, मंगलवार

युवा स्वरोजगार भर्सेस वैदेशिक रोजगार

आश्विन १९ २०७८, मंगलवार

युवा जनसङ्ख्यालाई सीपालु र उद्यमशील बनाई राख्न सरकार गतिशील हुनु पर्छ ।

जनसांख्यिक लाभांश हासिल गर्न, युवालाई राष्ट्र निर्माणमा मूल प्रवाहीकरण गर्न, युवाहरूको शक्ति र भूमिकाप्रति जागरुकता ल्याउन कार्यक्रमिक रुपमा सोचिनु पर्छ ।

युवा लक्षित कार्यक्रम :

युवालक्षित कार्यक्रमलाई बिस्तार गर्दै लैजान, राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्न, उनीहरूका अधिकारको उपयोग गर्ने वातावरण सिर्जनामा सामूहिक प्रतिवद्धता र जवाफदेहिता ल्याइनु जरुरी छ ।

युवाद्वारा युवाका लागि विकास गर्ने मूल अवधारणाका साथ युवाको विकासका लागि युवालाई नै परिचालन गरी युवाका निम्ति निर्मित संरचनागत र कानूनी आधारको पर्याप्त प्रयोग गरी अधिकारको सुनिश्चिततासँगै युवालाई दायित्व बोध गराउन सक्नु पर्छ ।

कृषिमा लगानी :

ग्रामीण कृषियोग्य भूमि बाँझोमा परिणत भएका छन् । ग्रामीण क्षेत्र खास गरी पहाडबाट तराइतिर बसाइसराई तीब्र रुपमा बढेको छ जसका कारण तराई क्षेत्रमा जग्गाको तीब्र खण्डीकरण भएर गएको छ । देखासिखी उपभोग प्रबृत्तिमा बृद्धि भएको छ ।

सक्षम जनशक्ति विदेश पलायन हुँदा देशको आन्तरिक विकास संकुचित हुन पुगेको छ । आन्तरिक अर्थतन्त्रको सृदृढीकरण नभई परनिर्भरता तीब्र रुपमा बढेर गएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा ठगी तीब्र रुपमा मौलाएर गएको छ । परिवारमा निष्क्रियता र आश्रित सदस्यको संख्यामा बृद्धि हुँदै गएको छ ।

मौलिक विशेषतामा ध्यान :

मौलिक सिर्जना तथा विकासमा गम्भीर आघातले मुद्रास्फितिमा टेवा प्र्याएको छ । वैदेशिक रोजगारसम्बन्धी स्पष्ट नीति तथा मार्गदर्शन बन्न नसक्नु तथा भएका नीति तथा योजनाहरु समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । वैदेशिक रोजगारीको सम्बन्धमा नियमन, अनुगमन तथा नियन्त्रण गर्ने वैदेशिक रोजगार तथा श्रम विभागमा सदाचारिता छैन ।

वैदेशिक रोजगारमा संलग्न मेनपावर ऐजेन्सीको मनोमानी तथा लापरवाही बढिरहेको छ । वैदेशिक क्षेत्रमा कार्यरत राजदुतावास, नियोग, श्रमसहचारीमा काम गर्ने कर्मचारीले वैदेशिक रोजगारीका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सकिरहेका छैनन् ।

प्रभावकारी रोजगारी कुटनीति :

नेपाल सरकारले वैदेशिक रोजगारदाता मुलुकसँग प्रभावकारी रुपमा वार्ता तथा संवाद गर्न नसक्दा नेपाली मजदुरहरु अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा जाने मजदुरहरुको आर्थिक तथा भौतिक रुपमा क्षति भए सोको उचित क्षतिपूर्ति उपलब्ध हुन सकिरहेको छैन ।

तालिमको व्यवस्था :

सम्बन्धित काममा जाने श्रमशक्तिलाई कामसँग सम्बन्धित पूर्वतालिमको अभाव छ । काम गर्न जाने देशको सामान्य भाषा सिकेर जानुपर्ने व्यवस्था लागु नहुनाले नेपालीहरु विदेशमा गएर समेत ठगिनु पर्ने अवस्था छ ।

गैरकानुनी रुपमा विदेश पठाउने क्रम नरोकिनु आदिजस्ता समस्याहरु पनि देखा परेका छन् ।

नेपालको वैदेशिक रोजगारी समस्या समाधानका उपाय :

१. वैदेशिक रोजगारीसम्बन्धी स्पष्ट नीति तर्जुमा तथा सोको कार्यान्वयन गरिनु पर्छ ।
२. कस्ता खालका श्रमशक्तिको आपूर्ति गर्ने हो सो अनुसारको शिक्षा तथा तालिम दिएर मात्र मानिसलाई बैदेशिक रोजगारीका लागि पठाइनु पर्छ ।
३. वैदेशिक रोजगारीमा संलग्न सरकारी निकाय, एजेन्सीमा हुने गरेको लापरवाही तथा अनियमितताको अन्त्य गरिनु पर्छ ।
४. वैदेशिक क्षेत्रमा काम गर्ने राजदुतावास, नियोग तथा श्रमसहचारीलाई प्रभावकारी रुपमा परिचालन गरी वैदेशिक रोजगारीमा गएका नेपालीको सम्पूर्ण विवरण संकलन गरिनु पर्छ ।
५. वैदेशिक रोजगारीको सिलसिलामा हुने दुर्घटना तथा क्षतिको उचित क्षतिपूर्ति दिइनु पर्छ ।