काठमाडौं । सामाजिक तथा भौतिक दूरीलाई कायम गर्दै गत असोज १६ गते तीर्थस्मृति प्रतिष्ठानले आफ्नो ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष विजयराज नेउपानेको सभापतित्व तथा विशिष्ट विद्वान् कूटनीतिज्ञ एवं परराष्ट्रविद् जयराज आचार्यको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा लक्ष्मण थापा गोदारद्वारा लिखित दामोदर कुण्ड नामक तीर्थयात्रा पुस्तक लोकार्पण गरियो ।
स्थानीय सामाखुसीस्थित लिङ्कन कलेजमा भएको सो कार्यक्रममा डा.होमप्रसाद भट्टराई र हेमराज अधिकारीले कृतिबारे समीक्षा गर्दै दामोदर कुण्ड, मुक्तिनाथजस्ता नेपालका धार्मिक तथा पर्यटनस्थललाई प्राथमिकता दिन सके नेपालकै आन्तरिक पर्यटनको पनि वृद्धि हुने बताउनु भयो । यस्ता कृतिहरूमार्पmत् त्यस क्षेत्रका प्रागैतिहासिक महत्व झल्काउन सके वर्षेनी नेपालीहरूको विदेशमा तीर्थ जाने परम्पराको अन्त्य भई आफ्नै देशका पवित्रस्थलहरूको अवलोकन गर्ने बानी बस्ने थियो ।
यस कृतिले सो आवश्यकतालाई परिपूर्ति गर्नेतर्पm दुवै समीक्षकले जोड दिनुभयो । लेखक लक्ष्मण थापाले दामोदर कुण्ड एवं मुक्तिनाथ दर्शन गर्न जानेले असुविधा भोग्न नपरोस् भन्ने हेतुले कृति लेखिएको बताउनु भयो । कार्यक्रममा स्कन्धा नेपाल र आह्वान नेउपानेले स्वागत गीत, गणेश नेउपानेले स्वागत मन्तव्य, रत्ननिधि रेग्मी शुक्राचार्य र हृदय अधिकारीले कविता वाचन तथा प्रतिष्ठानका अध्यक्ष विजयराज नेउपानेले प्रतिष्ठानको गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।
अतिथि उषा आचार्य, श्यामकला खनाल तथा प्रतिष्ठानका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन श्रीकृष्ण नेउपानेले गर्नुभएको थियो । लमजुङ जिल्लाको पूर्वोत्तर दुर्गम भेग बोराङमा जन्मेर आफ्नै बलबूताले शिक्षा आर्जन गरी गाउँ र आसपासमा थुप्रै विद्यालयहरू स्थापना गरी आजन्म शिक्षा सेवामा समर्पित बहिदार तीर्थराज नेउपानेको स्मृतिमा ११ वर्ष अगाडि स्थापित सो प्रतिष्ठानले स्थानीयस्तरमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ भने राष्ट्रियस्तरमा साहित्यकारलाई भानु जयन्तीमा छन्द स्रष्टा सम्मान र तीर्थराज नेउपानेको वार्षिकीमा कवि तथा स्थानीय बोराङ्मा रहेको महेन्द्र बाल विकास माविका छात्र छात्राहरूमध्ये उत्कृष्टलाई विभिन्न विधामा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, नरकान्त अधिकारी, प्रा.डा. ईन्द्रविलास अधिकारी, डा. तीर्थराज सुवेदी हंसपुरे, भुवनहरि सिग्देल आदिलाई सम्मान गरिसकेको छ । स्मरणीय छ, तीर्थराज नेउपाने तत्कालीन समयका समाज सुधारक, दोस्रो हलोक्रान्तिका प्रेरक तथा त्यस बेलाका न्यायकर्ताका रूपमा चर्चित हुनुहुन्थ्यो ।