• मंसिर ११ २०८१, मंगलवार

हामी प्रजातान्त्रिक हुन सकेनौं : विश्वप्रकाश शर्मा, प्रवक्ता नेपाली कांग्रेस

आश्विन १७ २०७८, आईतवार

(नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व प्रतिस्पर्धाको महाधिवेशन बन्ने पक्कापक्की भएको छ । पार्टी सभापतिदेखि अन्य सबै पदहरुमा तीब्र प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसको पार्टी महाधिवेशन विचारभन्दा पनि पद र प्रतिष्ठाको महाधिवेशन बन्न गैरहेको भनी टिकाटिप्पणी भैरहेका बेला समसामयिक विषयमा गोलखबर डटकमका संवाददाताले नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मासँग लिएको अन्तर्वार्ताको प्रमुख अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।)

१. तपाईले नेपाली कांग्रेसको महामन्त्रीका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ? एक पदमा धेरै उम्मेदवारी किन ?

महाधिवेशनको प्रक्रिया प्रजातान्त्रिक प्रक्रिया भएकाले एउटै पदमा धेरैको आकांक्षा र उम्मेदवारी हुनु स्वभाविकै हो । महाधिवेशनमा अबको नेतृत्व को हुन्छ भन्ने चर्चापरिचर्चा पनि निकै चल्छ । चासो पनि हुन्छ । तर नेताहरुको चासो भनेको अबको समाज रुपान्तरण कसरी गर्न सकिन्छ ? कस्तो खालको सोच बोक्ने नेतृत्व आएमा यो संभव हुन्छ भनेर विविध विषयमा छलफल चलिरहेको हुन्छ ।

अहिले चौधौं महाधिवेशनको घोषणासँगै विचार र नेतृत्वका कुरा निकै छलफलमा आएका पनि छन् । राजनीतिक परिवर्तनको विषय अहिलेलाई अल्प विराम लागे पनि सामाजिक रुपान्तरणको विषय भने निरन्तर अघि बढिरहेकाले आआफ्ना मत र विचार बोकेका साथीहरु विभिन्न पदीय जिम्मेवारीको प्रतिस्पर्धामा उत्रनु भएको छ ।

२. नेतृत्व हस्तान्तरण हुन नसक्दा यसो हुन गएको हो ?

नेतृत्व बन्दै आउने हो । यो प्रक्रिया पनि हो । नेपाली कांग्रेस आफैमा लामो विरासत बोकेर आएको छ । यो कहिले सरकारमा छ, कहिले सरकार बाहिर छ । तर जनतामा निरन्तर छ । सिंगो पार्टी नै नेतृत्वका रुपमा स्थापित छ ।

वीपी कोइरालाले यो पार्टीको निर्माण गर्नुभयो । यसका लागि एउटा संकल्प र परिकल्पना पनि अघि सार्नुभयो । यो दलले महाधिववेशन गर्दै गर्दा हरेकले आआफ्नो बारेमा सोचेर मात्र पुग्दैन । देश, जनता र समाज परिवर्तनका बारेमा सोच्नै पर्दछ ।

अहिले देशमा व्यवस्था ठीक छ, तर अवस्था ठीक छैन । यही ठीक नभएको अवस्थालाई ठीक गर्न हामी युवा पुस्ता लागि परेका छौं ।

३. तपाईहरुका क्रियाकलाप त महाधिवेशन केन्द्रित मात्र देखिन्छन् त ? यस्ता बहस र विचार पहिले देखिएका होइनन् पनि ।

हामीले हाम्रो केन्द्रीय समितिका बसाइहरुमा यी र यस्ता कुराहरु भएनन् भनेर छलफल चलाइरहेका हुन्छौं । ती कुरा सञ्चारमाध्यममार्फत् प्रवाह भैरहेका पनि हुन्छन् । नेपाली कांग्रेसमा विचार बहस हुँदैन भन्ने कुरा साँचो होइन ।

नीति, विचार वा मत कुनै व्यक्ति वा संस्थाले पनि ल्याउन सक्छ । नेपाली कांग्रेसमा यसको लामो अभ्यास र परम्परा छ । नेपाली कांग्रेस भित्रका युवाहरुसँग प्रश्न मात्र छ भन्ने होइन, बरु त्यसको समाधानको विकल्पसहितका मत र विचारहरु पनि छन् ।

राजनीतिक नेतृत्वसँग सबैभन्दा बढी तयारी र समस्या समाधानका विकल्पहरु हुनुपर्छ । अहिले म लगायत युवा नेताहरुले तयार पारेको अवधारणामा नीति विचारका कुराहरु बढि गरिएका छन् ।

४. नेपाली कांग्रेसमा व्यक्ति प्रधान हुन्छ कि विचार ? धेरैले व्यक्ति प्रधान हुन्छ भन्ने मान्यतालाई स्वीकार गर्छन् त ।

विचार र नीति उत्तिकै आवश्यक छ । कुन वैचारिक पृष्ठभूमिबाट आएको हो भनेर सोधिनुको पछाडि यसैले काम गरिरहेको हुन्छ । कुन राजनीतिक तथा वैचारिक धरातलमा उभिएको हो ? यसले उसको भविष्य पनि निर्धारण गरिरहेको हुन्छ । यसकारण विचारको कुरा गरिरहँदा व्यक्ति त्यहाँ गौण हुँदैन । र, व्यक्तिको कुरा गरिरहँदा विचार त्यहाँ गौण हुन जाँदैन ।

व्यक्ति विचार बमोजिमको र विचार व्यक्ति बमोजिमको छ वा छैन भनी छलफल त चलिरहेको हुन्छ । यसमा रुप र सार जोडिएर आाएको हुन्छ । व्यक्ति स्वरुप हो, विचार गुदी हो ।

५. राजनीतिक पार्टीहरुमा त व्यक्ति हाबी भएको देखिएको छ नि ।

नेपाली राजनीतिमा पनि र विश्व राजनीतिमा पनि यसो देखिने गरिरहेको छ । परिवर्त पछिका वर्षहरुमा पनि यस्ता कुरा देखिने गरिरहेका छन् । विचारका कुरा चाहिने भन्दा बढी गौण भएका होइनन्, तर व्यक्तिका कुरा हाबी भने भएका पाइएका छन् ।

हाल नेपाल कांग्रेसमा समाज रुपान्तरणको बहस राम्रैसँग चलेको छ ।

६. के गरिएमा विचार बहस अघि आउन सक्थ्यो होला ?

यसका लागि हामीले गम्भीर रुपमा सोच्नै पर्छ । मलाई त कस्तो लाग्छ भने नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक फरक भैदिनु पर्छ । नीति अधिवेशनमा नीति, विचार र मत कस्तो बन्ने भन्ने कुराको निकर्यौल गरिनु पर्छ । यो अधिवेशन नीति विचार र मतमा केन्द्रित हुनु पर्छ ।

त्यसै गरी नेतृत्व अधिवेशनमा नीति, विचार र मतका साथै त्यो विचार कसले हाँक्न सक्छ, त्यस्तो व्यक्तिको चयन गरिनु पर्छ । पारित भएको नीति कसले कार्यान्वयन गर्ला भन्ने कुरा नेतृत्वमा लगेर टुंग्याउनु पर्छ ।

७. अहिले त विचार पनि देखिदैन र नेतृत्व पनि बढी रुपान्तरण हुन सकेको छैन नि त ?

नेपाली राजनीतिक रंगमञ्चमा सबै कुरा सकिएको र सत्यानास भैसकेको होइन । तर चाहेको जति गति लिन सकिरहेको छैन । यसको अर्थ अबका दिनमा कसैले पनि गरिखान सक्दैनन् भन्ने अर्थ निकालिनु हुँदैन ।

नेतृत्वले सापेक्षतमा नेतृत्व र अभिभावकत्व पनि दिइरहेकै छ । परिवर्तनमा योगदान पनि छ । तर पनि नेपाली राजनीति त्यति सुसंस्कृत, हार्दिक र जनमुखी बन्न सकिरहेको छैन । अहिले केही नेताहरुले भाषाको निकै दुरुपयोग गरिरहेको देखिएकाले ‘भाषा लज्जित बनाउँदै शीर्ष नेता’ भन्ने कुराहरु पनि समाचारपत्रहरुमा आइरहेका छन् । सहिष्णुता गुमाउने, एकले अर्कालाई स्वीकार गर्न नसक्ने आदि कुरा त राम्रो भएनन् ।

८. के नेताहरु अब एकले अर्काको आलोचना सहन गर्न नसक्ने अवस्थामा पुगेका हुन् ?

लोकतन्त्रमा आलोचना सहन सक्नु पर्छ । वी पी कोइरालाले २०१५ सालमा आफू र आफ्नो नेतृत्वमा रहेको सरकारको आलोचना गर्न मदनमणि दिक्षितलाई बोलाएरै भन्नु भएको थियो । आलोचना भएमा सुध्रन सकिन्छ भन्ने सोच उहाँमा थियो । त्यो वास्तवमा प्रजातान्त्रिक सोच थियो ।

अहिलेका राजनीतिक दलका नेताहरुमा यो विचार राख्नु त कहाँ हो कहाँ सामान्य आलोचना पनि सहन गर्नसक्ने स्थिति देखिदैन । कमजोरी औल्याउँदा सच्चिन सकिन्छ भन्ने धारणा नेतृत्वमा पाच्य भएको देखिदैन ।

९. किन यसो भयो होला ?
हामी प्रजातान्त्रिक हुन सकेनौ । हामी ‘प्रजातन्त्रवादी’ भयौं । तर हामी ‘प्रजातान्त्रिक’ भएनौ । बदल्ने संंसार र समाज मात्र होइन, हामी आफू पनि बदलिनु जरुरी छ । समस्या हामी बदलिन नसक्नुमा हो ।