काठमाडौँ । नेपालीहरुको कुनै कुनै दुःख र पीडाको कथा पनि सुन्नेलाई समेत पीडा हुने खालका देखिन्छन् । गरिब गाउँले बस्तीहरु मिलेर बनेको नेपाल देशमा जनताका पीडाका र वेदनाका श्रृंखला यस्ता भेटिन्छन कि, ती पीडा र वेदनाहरु त कसैले पत्याउनै गाह्रो पर्न जान्छ । जुन समस्या अहिले धादिङ्ग जिल्लाका एक जोडीले भोगिरहेका छन् । त्यो समस्या सुन्दा सुन्ने मानिसको मन भक्कानिएर आउँछ ।
धादिङ्ग खानियाबास गाउँपालिका वडानम्बर ४ दार्खाका राजु थापामगर र अञ्जना थापा मगरको परिवार दुई बालबच्चाको साथमा जेनतेन जीवन निर्वाह गरेर गुजारा चलाएर बसेको थियो । तर एक्कासी उनीहरुको जीवनमा बज्रपात बनेर आएको स्वास्थ्य समस्याले उनीहरु झण्डै घरबार विहीन बन्न पुगेका छन् । अञ्जना थापामगर जीवन र मरणको दोसाँधमा रहेकी छिन् भने उनका श्रीमान राजु थापामगर भएको जायजेथा अस्पाताललाई बुझाएर घरबार विहीन जस्तै हुन पुगेका छन् ।
कथा यसरी सुरु हुन्छः – सधैं झैं थापामगरको परिवार गत २०७७ साल पुष २९ गते पनि आफ्नो दैनिक जीवनचर्या सकेर दिनभरिको थकाईलाई बिट मार्दै खानपान गरि सुते । मध्यराति १२ बजे एक्कासी राजु थापाकी श्रीमती २५ वर्षिया अञ्जना थापामगर टाउको दुखेर फत्रक्कै परिन् । राजुले गाउँघर वरपरका साथीभाई बोलाउँदा बोलाउँदै छिमेकी जम्मा हुदाँ बिहान भयो ।
३० गते राजुले एक्कासी बिरामी भएकी आफ्नी श्रीमतीलाई एम्बुलेन्समा हालेर उपचारको लागि राजधानी काठमाडौँ ल्याए । सरकारी अस्पतालमा उपचार गर्दा सहज होला भन्ठानेर उनले बिरामी श्रीमतीलाई त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्ज पुर्याए । तर अफसोच ! उनले सो अस्पतालमा बिरामी श्रीमती राख्ने शैया पाएनन् ।
उनकी श्रीमती न त बोल्ने, न त चल्ने अवस्थामा थिइन् । नेपाली समाज माघे संक्रान्तिको रमाइलोमा भुलिरहेको त्यो दिन राजुको जीवनमा भने पर्नु चोट परेको थियो । सुविधा सम्पन्न भनिएको देशकै राजधानी काठमाडौँमा समेत उनकि बिरामी श्रीमतीलाई राख्ने शैया नपाएर उनी छटपटाइरहेका थिए ।
सामाखुसीको अल नेपाल अस्पतालमा उनले बल्लबल्ल बिरामी राख्ने शैया पाए । सो अस्पतालमा डा.बद्री रिजालको नेतृत्वको चिकित्सकको समूहले उनकी श्रीमतीको उपचार थाले । चिकित्सकसम्म पुग्दा थापाकी श्रीमतीको शरीरमा अक्सिजनको मात्रा जम्मा ५ प्रतिशत रहेको उनलाई जानकारी भयो ।
उनकी श्रीमतीको जीवन फर्किन्छ कि फर्कंदैन चिकित्सकले पनि केही भन्न सकेनन् । उपचार गर्दै गर्दा १५ दिनसम्म चिकित्सक समेत छक्क परे । अञ्जनाको कुनै शरीर चल्दैनथ्यो । नाकबाट उनको सास मात्रै बाहिर भित्र गथ्र्यो । उनलाई नाकबाटै पाइप हालेर तरल खानेकुरा खुवाइयो । चिकित्सकहरुले एमआरआई गर्दा उनको टाउकोमा रगत जमेको जानकारी दिए ।
राजु थापामगर बिरामी श्रीमतीलाई ल्याएर काठमाडौँ आएदेखि घर गएका छैनन् । उता उनीहरुका ६ वर्ष र ४ वर्षका लालाबाला कहाँ गए होलान के खाए होलान् ? आफन्तहरुले उनीका बच्चाहरुलाई संरक्षण दिएर राखेका छन् रे ।
४ महिनासम्म अल नेपाल अस्पतालमा राजुकी श्रीमतीलाई राख्दा उनको २२ लाख खर्च भयो तर बिरामीको होस् आएन । २२ दिन आईसियुमा राखेको समयमा मात्रै राजुले बिरामीको औषधी मात्रै १२ लाखको किनेको बताउँछन् । सो अस्पतालमा २२ लाख खर्च भएपछि बल्ल चिकित्सकहरुले उनकी बिरामी श्रीमतीलाई थेरापी गर्नुपर्ने बताए ।
थेरापी गर्न वीपी स्मृति अस्पताल बसुन्धारा हुँदै सहारा फिजियोथेरापी तथा ट्रेनिङ सेन्टर महाराजगञ्ज जाँदाको समयमा श्रीमतीको उपचारको लागि राजुको सिरीखुरी सबै रित्तिइसकेको थियो । गत जेठमा उनले बिरामीलाई सहारा फिजियो थेरापी तथा ट्रेनिङ सेन्टर महाराजगञ्जमा पुर्याए । त्यहाँ उपचार हुँदाहुँदा बल्ल उनकी श्रीमतीले आँखा खोलेकी छिन् । बोल्न नसकेपनि अलिअलि हाँसेको जस्तो बान्की अनुहारमा ल्याउँछिन् । त्यही नौं महिनापछि श्रीमतीको अनुहारमा फर्केको अलिकति उज्यालोपन देखेर सिरीखुरी गुमेको पीडा पचाउँदै राजु भन्छन्, ‘उनको शरीर बाँचे आखिर केहि न केहि न हुँदो त हो ।’
धादिङमा रहेको आफ्नो जग्गा जमिन धितो राखेर श्रीमतीलाई सहारा फिजियोथेरापी तथा ट्रेनिङ सेन्टर महाराजगञ्जबाट डिस्चार्ज गरेर बाहिर ल्याएका उनलाई श्रीमतीलाई बिहान बेलुका फिजियोथेरापी गराउने र नियमित औषधी किन्ने पैसाको अभावले गर्दा आजभोलि पिरोल्नु पिरोल्छ । भएको सिरीखुरी सबै अस्पतालमै सकियो । अस्पतालमै जग्गा धितो राखियो अब कसरी श्रीमतीको बाँकी उपचार गर्ने होला भनेर दानीगुनी दाताहरुको पर्खाइमा छन् राजु थापा ।