• मंसिर १२ २०८१, बुधबार

तनावमुक्त जिन्दगी

आश्विन १३ २०७८, बुधबार

माइकल टी, पावर्स । एउटा व्यवसायिक व्यक्ति भएको नाताले मैले थुप्रै काम सिध्याउनु थियो । मैले भिडियो सम्पादन गरिसक्नु पर्ने थियो ।

मैले पढ्न सुरु गरेको किताब पढिसक्नुपर्ने थियो । म अफिस जानुअघिको २० मिनेटमा तनावमुक्त भएर उही घिसिपिटी काम गर्नुपर्ने थियो ।

मलाई मेरो कामप्रति मोह त थियो । तर कामको चापले गर्दा मलाई घरभित्र शान्ति चाहिएको थियो । त्यो शान्ति मैले पढ्न बाँकि रहेको किताब च्यापेर तातोपानी सहितको बाथ टबमा केहीबेर डुबुल्की लगाउँदै पढ्दा हुन्छ कि भन्ने सोचाइमा थिए । मैले तातोपानी टबमा भरें र किताब च्यापेर त्यहाँ छिरें ।

तर मैले त्यहाँ शान्ति अनुभव गर्न सकिनँ किनभने मेरो छोरो श्याम, जो भर्खर चार वर्ष टेक्दैछ, उसले प्रस्ताव राख्यो– “बाबा ! म पनि नुहाउँछु नि ।” यस्तो बेलामा स्वाभाविक रूपमा मेरो उत्तर हुन्थ्यो– “अहिले हुँदैन, केहीबेर पख, मलाई शान्तपूर्वक केही पेज पढ्न देऊ, त्यसपछि तिमी र म नुहाउँला ।” मैले त्यही भने । यस्तोमा केटाकेटीहरू अलि बढि नै जिद्दी गर्छन् ।

उसले भन्यो– “नाइँ के । म पनि नुहाउँछु । उसले सैयौँचोटी नुहाउँछु भन्यो र मैले त्यत्ति नै पल्ट किताबबाट आँखा नउठाई “नाइँ” भनिरहे । तापनि उसले आफ्नो जिरिह छोडेन । उसको पिण्ड छुटाउन मैले भने “ल केहीबेर तिमी शान्त बस्यौ भने म तिमीलाई यही बाथ टबमा नुहाइदिनेबारे सोच्न सक्छु ।”

मैले नाइँ भन्दै गर्दा उसले केही पटक उसकी आमासँग पनि सोही प्रस्ताव राख्न पुगिसकेको चाल पाएको थिएँ र उसकी आमाले पनि बाबालाई सोधेर नुहाए हुन्छ भनिसकेकी थिई । मेरै थाप्लामा यी कुरा परिसकेपछि मैले किताबमा ध्यान केन्द्रित गर्न पाउने कुरै भएन । तर म पनि कहाँ कम थिएँ र ।

जसोतसो केही पृष्ट पढ्न भ्याइहालेँ । घरिघरि बाथ टबको तातो पानीले पनि ध्यान भङ्ग गथ्र्यो । किनभने, यो मेरो आवश्यकताभन्दा बढी पनि थियो । तर मनमनै लागिरहेको थियो, तातोपानीमा बस्नुको वास्तविक मज्जा चाहिँ आज आइरहेको छ । म किताबमा डुबिरहेको बेला फेरि छोराले सोध्यो– “बाबा, तपाईंको नुहाउने काम सकिएपछि म त्यहाँ त्यसरी नै बस्न सक्छु ?”

मेरो छोरो असल थियो, उसलाई पानी खेल्न ज्यादै मन लागिरहेको थियो । ऊ कपडासिहित त्यहाँ हाम्फालिरहेको थिएन । मसँग सोधिरहेको थियो, मेरो पानीमा तैरिने काम सकिएपछि ऊ त्यसरी नै तैरिन पाउला ? अब के भनुँ ? मैले हुन्छ भनिदिएँ– “जब म पढिसक्छु, तिमी मसँग पानीमा खेल्न आउन सक्छौ ।”

त्यसपछि छोरो खुशी भयो । “द्याट विल बी ग्रेट ।” यो शब्द उसको मनपर्ने शब्द थियो । खुशीमा सबैभन्दा बढी यही शब्द प्रयोग गथ्र्यो । अझ बढी खुशी भयो भने त ऊ यही शब्दलाई दोहोर्याई तेहरयाई वाचन गरिरहेको हुन्थ्यो । केहीबेर पन्नामा केन्द्रित भइरहेको बेला छोरातिर ध्यान खिचियो । ऊ लुगा खोलेर नुहाउनलाई तम्तयार थियो । नाङ्गो जीउ देखाएर ऊ टुक्रुक्क बाथ टब छेउमा बसेको थियो । त्यो देखेर मेरो मुखबाट फुत्त निस्कियो– “यस्तो के गरेको ?”

“म नुहाउनलाई कुरिराछु । अहिले मलाई हतार छैन । पहिला तपाईं पढी सिध्याउनुस्न ।” उसको धैर्यतापूर्ण उत्तर सुनेर म चित खाइरहेको थिएँ । मैले भनेँ– “श्याम जब मेरो काम सकिन्छ म तिमीलाई बोलाइहाल्छु नि, जाऊ केहीबेर खेल ।” उसले हुन्छ भन्यो र म पुनः किताबमा तानिएँ ।

केही क्षणपछि छोरो पुनः बाथरुममा छिरेको चाल पाएँ । यसपल्ट चाहिँ उसले माछा मार्ने बल्छी ल्यायो । यो उसको प्रिय खेलौना थियो । यो सानोसानो आकारको खेलौना बल्छीले धेरै पटक उसकी बहिनीले “आची गर्ने गरेको भाँडोमा डुबाएर माछाको साटो आची मारेको छ ।” गएको वर्ष उसले उसकी सानीमाबाट यो उपहार पाएदेखि प्रायः पानी जमेका ठाउँमा उसले यो बल्छी डुबाएकै छ । उसले यसपटक मेरो टबमा बल्छी डुबाएन । बरु बल्छीलाई आफूछेउ राखेर उसैगरी टुक्रुक्क बस्यो ।

“के गरेको श्याम ?” मैले सोधेँ तर पुनः शब्दहरु छुट्लान भनेर किताबतिर आँखा पुरायाइहालेँ । “क्यै हैन म तपाईलाई कुरिराछु ।” उसको जवाफ थियो । “बाबु म तिमीलाई बोलाइहाल्थे नि, कुनै आवश्यकता नै थिएन,” मैले उसको प्रतिक्षाप्रति चासो व्यक्त गरेँ । ठीकै छ, तपाईले बोलाएर मेहनत गर्नुभन्दा म यहीँ ठीक छु”, उसको दृष्टि मैतिर थियो ।

उसको हाँसो उठ्दो टुक्रुक्के बसाइले फेरि किताबबाट ध्यान मोडियो । मुसुक्क हाँस्दै पुनः म किताबमा मोडिएँ । तर टुक्रुक्क बसिरहेको छोरो देखेर मैले किताबमा ध्यान केन्द्रित गर्न सकिनँ । अब मसँग मात्र २० मिनेट थियो र यो २० मिनेटमा मैले किताबमा ध्यान केन्द्रित गरूँला र सकुला भन्ने आशा त्यगिसकेँ । छोराका कारण मैले चाहेजस्तो तनावमुक्ति पनि पाइनँ ।

“छाप्ल्याक्क” आवाजले मेरो ध्यान मोडियो र मैले बाथ टबमा हेरेँ । छोराले त्यहीबेला बल्छी त्यहाँ हालेछ । के मार्न हो कुन्नि ?

यतिबेला मेरो कन्सिरी तात्नु स्वाभाविक थियो । मैले आँखा तरें । उसले तीन चोटी भन्यो– “आ’म सरी, आ’म सरी, आ’म सरी ।” उसले बल्छी त्यहाँबाट झिकेन । बल्छी त्यहीँ रह्यो र त्यसले मेरो ध्यान झनै विकेन्द्रित गरिदियो । अब म के गर्नु ? छोराको प्रत्येक क्रियाकलाप बिस्तारै ध्यान विकेन्द्रित भइरहेको थियो र अब त अति भयो ।

त्यसो त मेरो चार वर्षे छोरो यति धैर्यता भएको केटो होइन । हरेक मिनेट केही न केही उपद्रो गरिरहेको हुन्थ्यो, तर यस पटक ऊ टबमा टाँसीएझैँ छ । उसको धैर्यताबाट म छक्क परिरहेको थिएँ । ऊ न त रोइकराइ गरिरहेको थियो, न त उपद्रो गरिरहेको थियो । मात्र केही बालसुलभ काम गरिरहेको थियो ।

यो देखेर मलाई उसप्रति माया खनिएर आयो । “अब पानीमा खेल्ने हो त” ले सोचेँ । उसको आँखा चम्कियो र आवाजमा तीक्ष्णता पनि थियो, भन्यो–“क्या बात !!” मैले हात दिएँ र ऊ टबमा छिरायो । २० मिनेट मैले राम्रोसँग उपयोग गरेँ । छोरासित मैले टबमै “माछा” मारेँ । पानीले उसलाई निथ्रुक्क पारिदिएँ । केहीबेर खेलेँ, बातचित गरेँ र सबैभन्दा ठुलो कुरा म पनि बच्चा भइदिएँ ।

म किताब पढेर साँच्चिकै आनन्दित हुन चाहन्थेँ । म आनन्दका लागि ज्यादै व्यग थिएँ, त्यो आनन्दका लागि मैले एउटा वास्तविक आनन्द झन्नै फुत्क्याएको रहेछु भन्ने पछि चाल पाएँ । जब म कारमा कार्यालय जाँदै थिएँ, मलाई एकाएक महसुस भयो कि कैयौँ पटक मैले श्रीमती र छोराछोरीलाई “म ज्यादै व्यस्त छु, भोलि जाउँला” वा “अहिले होइन, मेरो थुप्रो काम सक्नुछ” भनेँ होला ।

तर छोरासँग केहीबेर पानीमा खेलेपछि अब म शान्त थिएँ । मेरा छोराछोरी जन्मिदा मलाई कति ठुलो आनन्द र खुशी लागेको थियो । दिनहरु कस्तरी चिम्लिएका ! मेरो मनले मलाई नै सोधिरहेको थियो– “जीवनमा आनन्द लिनका लागि कति घण्टा तिमीलाई ताजगी देला त ?”

अब मलाई थाह भयो, कसरी रिल्याक्स हुने ! कसरी आनन्द लिने ! कसरी तनावमुक्त हुने !

अच्युत कोइरालाको जिन्दगी तपाईंको जित पनि तपाईंकै पुस्तकबाट ।