• मंसिर ११ २०८१, मंगलवार

नेपाली राजनीतिको शीर्षतहमा तरमारा वर्गको चलखेल

आश्विन १२ २०७८, मंगलवार

व्यक्तिवादी बन्दै गएको राजनीतिमा दलहरुमा सिद्धान्त अनुसरण गर्ने अभिरुची देखिएको छैन । व्यक्ति सांसदले कसरी बढि सुविधा प्राप्त गर्ने ? एकल सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता राष्ट्रिय समस्यामा नभई आफ्नो सरकार केही दिन निरन्तरता दिनेमा सीमित छ ।

देशमा सुशासन कायम गर्ने, विकास निर्माण गर्नेदेखि देशको विदेश नीति, छिमेकी लगायत सबै सहयोगी मित्र राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखी सबल कुटनीतिक माध्यमबाट देशले आफ्नो पहिचान कायम गर्ने र सहयोगको आदानप्रदान गर्ने विषय छायामा पर्दै आएको छ ।

बहुदलीय शासन प्रणाली राजनीतिक दलहरुले अबलम्बन गर्दै आएका आदर्श र सिद्धान्तका आधारमा परिचालित हुनु पर्दछ । नेपालको राजनीतिमा मुख्यतया दुईवटा राजनीतिक शक्तिहरू रहेका छन् ।

एउटा लोकतान्त्रिक सिद्धान्त मूल्यमान्यतामा विश्वास राख्दछ, सबै प्रकारका स्वतन्त्रताको उपभोग नागरिकले गर्न पाउनु पर्ने मान्यता राख्दछ । मानव अधिकारको प्रत्याभूतिमा विश्वास गर्दछ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादतर्फ आफ्नो प्रतिवद्धता ब्यक्त गरिराखेको छ । दोस्रो शक्ति साम्यवादी, समानतावादी कार्यदिशा अवलम्वन गर्दै अघि बढ्ने घोषणा गरिरहेको छ ।

यसबाहेक केही सानातिना राजनीतिक दल नेपाली राजनीतिमा अस्तित्वमा रहेका छन् । सानै भए पनि मधेसीवादी क्षेत्रीय दलहरुले विविध कारणले नेपालको राजनीति प्रभावित हुँदै गएको छ ।

यी सबै दलहरु आफ्नो सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिंदै व्यक्तिगत र समूहगत स्वार्थमा लिप्त छन् । सिद्धान्त र आदर्शलाई राजनीति गर्ने ब्राण्ड र मतदातालाई राजनीतिक सिद्धान्तका आधारमा आफूतर्फ आकृष्ट गर्ने माध्यम मात्र बनाइराखेका छन् ।

यो यथार्थता सचेत नागरिकले बिस्तारै बोधगर्न थालेका कारणले गर्दा यी कुनै पनि दलप्रति सचेत, देशभक्त नागरिक अन्धोसमर्थक बन्न सकिराखेका छैनन् । स्वतन्त्र विश्लेषण गर्दै यी दलहरुको आलोचना गरिराखेका छन् ।

यथार्थता जनसमक्ष आउँदा कुनै पनि दलले आफ्नो उपस्थिति सबल रुपमा राष्ट्रिय राजनीतिमा दिन सकिराखेका छैनन् ।

नेपालको राजनीतिमा प्रभावशाली देखिएको साम्यवादी शक्तिमा आएको विचलन, कमरेड पुष्पलाल र मनमोहनदेखि माधव नेपाल र ओलीसम्म आइपुग्दा यस दलहरुमा नायकभन्दा खलनायक ज्यादा देखिए ।

सबैको चट्टानी अडान दलमाथि नियन्त्रण कायमगरी सत्तामा पुगेर व्यक्तिगत र गुटगत स्वार्थमा लिप्तहुनु मात्र प्रस्ट देखिएको छ । लामो समयदेखिको यस शक्तिको राजनीतिक उतारचढावलाई अध्ययन गर्दा यो शक्ति नेपालमा फुटको पर्याय नै बनेको छ ।

एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने, लोकतान्त्रिक मूल्य र मान्यताले साम्यवादी दलमा कामै नगर्ने, साम्यवादी दलको मौलिक चरित्र भनेको सर्वसत्तावाद र एकल शासन हो, यस प्रकारको निखार पनि नेपालका साम्यवादी दलहरुमा आउन सकेको छैन ।

त्यसैले यी दलहरू कम्युनिष्ट पनि बनेनन्, लोकतन्त्रको मूल्य मान्यतालाई अवलम्वन गर्दै लोकतान्त्रिक दलकै रुपमा राजनीति गर्ने तत्परता पनि देखाउन सकेनन्, यसले गर्दा साम्यवादी ब्रान्डमा राजनीतिगर्दै आफुलाई लोकतन्त्रवादी सम्बोधित हुन मनपराउने नेपालका कम्युनिष्टहरुको राजनीति बिस्तारै न हासको चाल न कुखुराको चालमा परिणत हुदैगएको छ । यसबाट ठूलो राजनीतिक शक्तिको रुपमा स्थापित नेकपा अस्थिरताको कारक बन्न पुगेको हो ।

देशमा ब्याप्त भ्रष्टाचार, भ्रस्टाचार बृद्धि गर्न सबै दलहरुका बीच प्रतिस्पर्धा छ । भ्रस्टाचारकै कारण सबै दलका शीर्षस्थ नेतृत्व तहमा रहनेहरु आफ्नो कार्यकर्तामा सच्चरित्रता र इमान्दारिताको अपेक्षा गर्न र आफ्ना निर्र्दशनमार्फत् उनीहरुमा सुधार ल्याउन असमर्थ बनेका छन् ।

ठूला भ्रष्टाचारका घोटालालाई नियन्त्रक निकायले अनुसन्धान नै गर्न नपाउने गरी कानूनी व्यवस्था गरेर भ्रष्टाचारीले अभयदान प्राप्तगरेका छन्, यसमा सबै दलहरुमा मतैक्यता देखिएको छ ।

यसले गर्दा देशमा सुशासनको सन्दर्भ छायामा परेको छ । राजनीतिक दल र समाज अनुशासनहीन बन्दै गएको छ । लोकतन्त्रको दुरूपयोग हदैसम्म हुँदै गएको छ । यसबाट सबै कार्यकर्ता र नेता वर्गको अर्जुनदृष्टि राष्ट्रिय स्वार्थलाई गौणमान्दै व्यक्तिगत स्वार्थमा केन्द्रित रहने अवस्था सृजना भएको छ ।

यो दुरावस्थाबाट देशले मुक्तिन पाउँदा सबैक्षेत्र अस्तब्यस्त छ परिणामस्वरूप राजनीतिक अस्थिरता हुने नै भयो । शारीरिक र मानसिक अवस्था कमजोरभएका बृद्धको नेतृत्वमा नेपालको राजनीति केन्द्रित भएको छ ।

बृद्धव्यक्ति तुलनात्मक रुपमा आत्मरतिमा रमाउँछ । विकास निर्माण र परिवर्तनको बाहक बन्न सक्दैन । गुट उपगुट सृजना गरेर आफ्नै स्वार्थलोलुप झुण्डहरुको प्रशंसामा रमाएर बस्दैगर्दा वादशाहका नयाँ कपडाको अवस्था सिर्जना हुन पुग्दछ ।

आफ्नै समुहलाई संसार देख्ने गलत प्रवृत्तिबाट ग्रसित हुन पुग्दछ । नेपालमा यही अवस्था छ । सरकारमा रहनेहरुको सकारात्मक प्रभाव र संदेश जनस्तरमा प्रवाहित हुनसकेको छैन, सीमित झुण्डले प्रशंसा गरिरहदा नेताहरु मुग्ध छन्, यथार्थताभन्दा धेरैटाढा पुगेका छन् ।

ठूला दलका नेताहरुको दिनको तीनपटक समान सन्दर्भमा बोली फेरिएको अनुभूति गरिरहदा हाम्रा बृद्ध नेताहरूबाट केही अपेक्षा गर्नसक्ने अवस्था छैन । युवाहरुलाई दलभित्र दासका रुपमा स्थापित गरिएको छ उनीहरुमा त्रास र लघुताभास मात्र देखिदै छ ।

नेताहरुलाई सही दिशामा अभिमुख गराउने सन्दर्भमा नेपालका युवाहरू प्रायः उदासिन छन् । युवाहरुका बीच समेत समान मुद्दामा समान धारणा बनाएर अघि बढ्ने सदविचारको अभाव छ । यसले गर्दा नेतृत्व तहकाहरुले आफ्नो अवस्थाको आकलनसम्म पनि गर्न सकेका छैनन् । निर्वाचनमा जनताले पाठ सिकाउँदा समेत उनीहरुमा चेतआउन सकेको छैन ।

नेपालको निर्वाचन प्रणाली समेत अस्थिरताको लागि जिम्मेवार छ । निर्वाचन धेरै खर्चिलो छ । राजनीतिलाई ब्यापारका रुपमा ग्रहण गरिएको छ, मिश्रित निर्वाचन प्रणालीको अवलम्बन गर्दै सबै वर्ग, क्षेत्र, जात, जातिको प्रतिनिधित्व गराउन समानुपातिक निर्वाचनमार्फत् दलीय मनोनयनका आधारमा जनप्रतिनिधि बन्ने अवसर प्रदान गरिएको छ ।

यसमा समेत कमजोर व्यक्ति नभई तरमारा वर्गहरुले अवसर प्राप्त गरिराखेका छन् । सबै दलको आकर्षण व्यापारिक कुल घरानाका सदस्यलाई आफ्नो दलभित्र स्वागत गरी जिम्मेवारीमा पुर्याउने रहेको छ । यसबाट नेपालको राजनीति अझै प्रदुषित भएको छ ।

इमान्दार र निष्ठावान कार्यकर्ता र नेता सधै पछिपर्ने अवस्था छ । सबैतिर स्रोतसाधन सम्पन्नले अवसर प्राप्त गर्दै आएका छन् । यस अवस्थामा सिद्धान्त र मूल्यमान्यताको राजनीतिको खोजि गर्नुपर्ने हुन्छ ।

मिश्रित निर्वाचन प्रणाली अवलम्वन गर्ने राष्ट्रहरुमा सानासाना दलहरुको राजनीतिमा सौदाबाजी गर्ने अवसर हुने भएकाले सरकारलाई उनीहरुको व्यवस्थापन समेत भारी हुने गर्दछ । नेपालजस्तो विकासोन्मुख देशको मात्र होइन, युरोपका देशहरुमा समेत यो समस्या देखिएको छ । यी कारणहरुले गर्दा राजनीतिले निर्धक्क भएर कामगर्न सकिराखेको छैन ।

यस अवस्थाबाट गुज्रिएको नेपालको राजनीतिमा वर्तमान सरकारको स्थायित्वका बारेमा चिन्तनगर्दा अस्थिरताको सामना गर्दै अघि बढ्नु यसको नियति हो । सत्ता साझेदारहरुमा स्वार्थलोलुपताको पराकाष्ठा छ, लामो समयसम्म सरकारमा सहभागी दलहरुले मन्त्रीहको नामावली दिन सकेका छैनन् ।

आआफ्ना दलभित्रको व्यवस्थापन उनीहरुलाई भारी भएको छ । एक नेता छन् आफ्नै दलभित्र फुटगराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका, अन्य दलसँग गठबन्धन गर्दै व्यक्तिगत अभिष्टमा थोरै मात्र समझदारी गरेर स्थिरताको पक्षमा योगदान गर्न अनिच्छुक भएकाले सबै दलहरुमा आफ्नो परिचय स्थापित गराइसक्नु भएको छ ।

नेपाली जनताले उनको परीक्षण गर्न अवसर दिएका तर असीमित स्वार्थ र उच्च महत्वकाङ्क्षाका कारण असफल हुँदै अन्य दलसँग गठवन्धन नगरी अस्तित्वमा रहन नसक्ने अवस्थामा रहेका छन्, उनको दलको आकार बिस्तार साँघुरिदै छ । राजनीतिक चालबाजी गर्न पोख्त छन्, त्यो नकारात्मकतातिर उन्मुख छ ।

अर्का छन् आफ्नै दलमा व्यक्तिगत अभिष्ट पूरागर्न नसकेर सो पूरा गर्ने अभिलाषासहित वर्तमान सरकारमा सामेल हुन तयार पात्र, लोकतान्त्रिक मूल्य र मान्यतामाथि हदैसम्मको समझदारी गरेर भए पनि आफू र आफ्नाहरुलाई जिम्मेवारीमा पुर्याउनुपर्ने एकसुत्रीय लक्ष निर्धारण गर्न विशेष दक्षता प्राप्तगरेका छन् ।

उनको विगतले यही प्रमाणित गर्दछ । लामो समयसम्म एमाले दलमा ठूलो योगदान गरेका व्यक्ति व्यक्तिगत अभिष्टकै कारण आफ्नै दलमा विभाजन ल्याउने खलनायक प्रमाणित भएका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्रलाई हदैसम्म शीर निहुराएर मोहोर चढाउँदा गौरव मान्ने व्यक्ति स्वघोषित ठूला गणतन्त्रवादी बनेका छन् । दुईदुईवटा निर्वाचन क्षेत्रवाट निर्वाचनमा पराजय भोगेपश्चात मतनदिने जनतालाई पाठ पढाउन सरकारको नेतृत्व मात्र गरेका होइनन, लोकतन्त्रको मूल्य र मान्यतामा हदैसम्मको अवमूल्यन गर्न अग्रसर पात्रका रुपमा आफ्नो पहिचान स्थापित गराएर गौरवान्वित बनेका छन् ।

सत्तामा भागबण्डा वहाँको एकल उद्देश्य हो । आफ्ना नातागोता इष्टमित्रहरुलाई जिम्मेवारी प्रदान गर्न अब्बल छन् । कानूनअनुसार आफ्नै अयोग्य भाइलाई उक्त कानुन मै सुधार गरी योग्य बनाई महावाणिज्यदूत बनाएको इतिहास मन्त्रिपरिषदको दस्तावेजमा सुरक्षित छ । यस्ता लोभीपापीसँगको गठबन्धनबाट सरकार चलाउन अत्यन्त कठिन छ । प्रधानमन्त्री देउवा आजित भइसकेको अनुमान गर्न सकिन्छ ।

आफ्नै दुइतिहाईको सरकार अपदस्थ गराउने अब्बल भूमिका निर्वाह गरेका दुई खलपात्रको गठबन्धनमा सरकार चलाउँदा उनीहरुका अनुपयुक्त कुरालाई समेत स्वीकार गर्नुको विकल्प हुँदैन । यो अप्ठेरो प्रधानमन्त्रीलाई छ ।

यस अवस्थामा समेत यी दुवै नेताहरुको पटकपटकको आग्रहबाट शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको छ । जीवनको उत्तरार्धमा प्रधानमन्त्री देउवाले आफ्नो छवी उच्च राखेर सरकार चलाउनु पर्ने अवस्था छ तर यस्ता बाधाहरुलाई हटाउने सामथ्र्य राख्न सक्नु पर्दछ ।

वर्तमान प्रधानमन्त्रीमा एउटा ठूलो गुण छ, त्यो हो सहकार्य, सहमति र समझदारी गरेर अघि बढ्न सक्ने क्षमता । देश र प्रजातन्त्रको पक्षमा रहेर समझदारी गरी देशलाई अघि बढाउन सक्ने नसक्ने विषयमा उनी पनि परीक्षामा छन् ।