काठमाडौँ । मौलिक तथा पौराणिक लोकगीत ‘फाँक’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गरि विमोचन गरिएको सो फाँक गीत रोल्पा र रुकुममा रहेका बाक्ला मगर बस्तीहरुमा परापूर्व समयदेखि गाइँदै र नाचिँदै आएको गीत र भाका हो । बुढापाकाहरुका अनुसार फाँक गीत भनेको प्वाँख गीत अथवा प्वाँख जोरगीत समेत भनेर बुझिन्छ । यसको अर्थ प्वाँखमा प्वाँख जोडेर नाच्ने गीत समेत हुनजान्छ । यो गीत एक धर्के, दुई धर्के र तीन धर्के र दोहोरे गरेर विभिन्न लयमा गाएर नाचिने गरिन्छ भनेर मगर अगुवाहरु भन्ने गर्छन् । यो गीत र भाकालाई मगरहरुले विशेष गरेर भूमे पूजा दशैँ र तिहार माघे संक्रान्तिहरुमा रमाइलोका साथ गाएर नाँचेको पाइन्छ ।
परापूर्व कालदेखि जनसंस्कृतिको रुपमा रहेको फाँक गीतका शब्दलाई यसपटक कलाकार तिलक रोकामगरले सिर्जना गरेका हुन् । आफ्ना शब्दलाई आफैले संगीत सिर्जना गरेका उनले संगीतको एरेन्जर गर्ने काम भने डोलराज बार्हघरेमगरलाई सुम्पिएका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको सो गीतमा तिलक रोकामगर, बिमला रोकामगर, डोलराज बार्हघरे मगर, तुल्सी घर्तीमगर, सुवास अस्लामी मगर र करिश्मा घर्तीमगरको आवाज रहेको छ । गीतमा चर्चित मादल बादक खर्क बुढामगरले मादल बजाएका छन् ।
तिलक रोकामगर र बिमला रोकामगरले गीतको भिडियो निर्माण गरेको उक्त गीतको भिडियोलाई निर्देशन तथा छायांकन विशाल रोकामगरले गरेका छन् । अमिर मगरको सहनिर्देशन रहेको सो भिडियोमा कलाकारहरु तिलक रोकामगर, विरजंग बुढामगर, विकास बुढामगर, शिशिर विश्वकर्मा, शिरप्रसाद रोकामगर, ओजै रोकामगर, पुनबहादुर रोकामगर, भान्दिप रोकामगर, भूमिराज रोकामगर, आशबहादुर रोकामगर, बिमला घर्तीमगर, मनभुजा रोकामगर, मञ्जु बुढामगर, रामकुमारी रोकामगर, कमला रोकामगर, कल्पना बुढामगर, जोखसरी बुढामगर, सनम बुढामगर, बिनपुरा रोकामगर, मायापुरी बुढामगर, पार्वती बुढामगर र भावना बुढामगरले अभिनय गरेका छन् ।
अजय घर्तीमगरले निर्माण नियन्त्रणको भूमिका खेलेको सो गीतको सो भिडियोका दृश्यलाई ड्रोन क्यामराबाट उज्वल अधिकारीले कैद गरेका छन् । पूर्वीरुकुमको काँक्री, लुकुम र क्याङ्सी गाउँमा गएर स्थानीयको सहयोगमा गीतको भिडियोका दृश्यहरु निर्माण गरिएको बताइएको छ ।
हेरौं भिडियो ⇓