(देशमा अहिले समाजवाद निर्माणका लागि राजनीति अघि बढाउने होड चलेको छ । देशका सबै राष्ट्रिय राजनीतिक पार्टीहरुले आफूहरु नेपालमा समाजवाद निर्माणको बाटोमा लागिरहेको प्रचार गरिरहेका छन् । माधवकुमार नेपालको नेतृत्वमा भर्खरै निर्माण भएको एकीकृत समाजवादी पार्टीले पनि बहुदलीय जनवादका कार्यक्रम लागु गर्दै समाजवाद निर्माणको बाटोमा अघि बढ्ने सार्वजनिक घोषणा गरेको छ । यसै विषयको सेरोफेरोमा रहेर गोलखबर डटकमका संवाददाताले एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालसँग लिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ– सम्पादक ।)
१. राष्ट्रिय राजनीतिक पार्टी सबैले समाजवादी बाटोमा अघि बढ्ने बताइरहँदा तपाईहरुले पार्टी विधानमा त्यही कुरा गर्नु भएको छ । सबैको समाजवाद एउटै हो कि फरक छ ?
संसारभर समाजवादका दुई भिन्न धारा छन् । एउटा, लोकतान्त्रिक समाजवाद र अर्को कम्युनिष्ट समाजवाद अर्थात् वैज्ञानिक समाजवाद । विपीले भन्नु भएको लोकतान्त्रिक समाजवाद हो । नेपाली कांग्रेसले यसको वकालत गर्छ ।
तर पुष्पलालले भन्नु भएको समाजवाद भनेको वैज्ञानिक समाजवाद हो । त्यो माक्र्सवादी विचार र मार्गदर्शनमा आधारित छ । यही दिशामा अघि बढ्छ । हाम्रो पार्टीले तय गरेको समाजवादी बाटोको मार्गनिर्देश भनेको पुष्पलालले भनेको समाजवादको बाटो हो ।
सबैले भन्ने गरेको समाजवाद यही दुई भिन्न धारामा विभाजित हुन जान्छ । नाम सबैले भन्ने र जप्ने गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने भन्ने आरोप सबैमाथि छ । त्यो आरोप हामीमाथि पनि छ । हामी हिजो एमालेमा रहँदा पनि यही दुई भिन्न दिशाका बारेमा सैद्धान्तिक बहस गर्ने गर्दथ्यौं ।
हामीले पार्टीको मूल सिद्धान्तबाट विचलित भैरहेका छौं भनेर पनि निरन्तर बहस चलाइरहेका थियौं, त्यहाँ । अहिले आएर अलग नै हुनुपर्ने अवस्था नै सिर्जना हुन गयो । हामी अहिले सार्थक पहलका लागि लागिपरिरहेका छौं । हामी कति अघि जान सक्छौं, त्यो कुराले भन्दा पनि काम गरेर देखाउने हो ।
२. त्यसो भए तपाईहरुले भन्ने गरेका नेकपाको पुनर्गठन र रुपान्तरण यसैसँग जोडिएर आएको हो ?
हामीले नयाँ पार्टी निर्माण र यसैसँग पुनर्गठनको प्रक्रियालाई अघि बढाउँछौं । त्यो भनेको वैज्ञानिक समाजवाद निर्माण गर्नेहरुका बीचमा एकता र सहकार्यको कुरा हो । यो संगठनात्मक र संरचनात्मक कुरा पनि हो । अर्को भनेको नेपाली कम्युनिष्ट आन्दोलनभित्र मौलाएका विकृति र विसंगतिलाई नहटाइकन यहाँ हामीले भनेजस्तो समाजवादी व्यवस्था आउन सक्दैन । यसका लागि स्पष्ट विचारधाराको हुनु आवश्यक छ । यसका लागि माक्र्सवादी विश्वदृष्टिकोण निर्माण हुनु जरुरी छ ।
यो भनेको नेपाली समाजलाई परिवर्तनशीलता र गतिशीलतामा हेरिनुपर्छ । नेपाली समाजलाई आमूल रुपमा परिवर्तन गर्नेतिर लाग्नुपर्छ । त्यो हो, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकलगायतका सबै पक्षमा ध्यान पुर्याउनु पर्छ ।
तेस्रो महत्वपूर्ण मान्यता भनेको श्रमजीवी जनताका पक्षमा र उनीहरुका हितमा काम गर्नुपर्छ । यो भनेको वर्तमान नेपाली समाजमा रहेको शोषण र उत्पीडन अन्त्य गर्नका लागि गरिने कार्य हो । यसलाई माक्र्सवादले वर्गीय शोषणका रुपमा व्याख्या गरेको छ ।
३. यसको अभ्यास हुन नसकेर हो एमाले र माओवादी मिलेर बनेको नेकपा असफल भएको ?
विचार र रुपान्तरणका कार्यभारलाई कम आँकियो । अगाडि बढाउन सकिएन । आर्थिक समाजिक रुपान्तरणका अभियान सञ्चालन गर्ने भनिएको थियो, सो हुन सकेन । त्यति ठूलो जनमत हामीले प्राप्त गरे पनि त्यसअनुसार अघि बढ्न सकिएन । कार्यान्वयनकर्ता आखिर सरकार हो । तर सरकारले त्यो दिशातर्फ जाने काम नै गरेन । पार्टीभित्रै विचार दृष्टिकोणको समस्या र व्यवहारको समस्या रहेपछि यस्तो अवस्था सिर्जना हुन पुग्यो ।
विचारविहीनता, व्यक्तिवादी स्वार्थ र खिचातानी आदिलाई हटाएर मात्र हामी अघि बढ्न सक्छौं । कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजानका लागि यो मात्र एक निर्विकल्प उपाय हो ।
४. तपाईहरुले अर्को पार्टी बनाउने वित्तिकै ती प्रवृत्ति निमिट्यान्न त भएका छैनन् होला ?
हो, ती प्रवृत्तिबाट हामी पनि मुक्त छैनौ । हामीसँगै आएका हुनसक्छन् ती प्रवृत्ति । हामी ती प्रवृत्तिबाट प्रभावित पनि भएका हुन सक्छौं । हामी आफू रुपान्तरणकारी शक्तिमा बदलिने हो भने आफू पनि रुपान्तरण हुन जरुरी छ ।
हामीमा रहेका कमी, कमजोरी, विकृति, विसंगति सबैको अन्त्य गर्दै लैजानु पर्छ । त्यसलाई हटाएर जान हामी प्रतिबद्ध छौं ।
५. आफूसँगै अरुलााई पनि साथमा लिएर रुपान्तरणको अभियानमा अघि जानका लागि कार्यक्रम के के छन् त ?
पहिलो कुरा, हामी आफूहरुको रुपान्तरणको कुरा आउँछ । त्यसैले हामीले मूल राजनीतिक कार्यदिशाका बारेमा वृहद् किसिमले सोचेका छौं । हाम्रो नारा ‘वैज्ञानिक समाजवाद निर्माणको दिशामा अघि बढौं’ भन्ने छ । यसले युवा पंक्तिमा सकारात्मक प्रभाव पारेको छ ।
यो आकर्षणसँगै हामीले केही प्रभावकारी कार्यक्रमहरु पनि अघि बढाउनु पर्छ । हामीमा रहेका नकारात्मक सोच, विचार, शैली र संस्कारहरुलाई हटाउँदै लैजानु पर्छ । यो कार्यक्रमिक हिसाबले तय गरिने छ । संगठन रुपान्तरणको औजार बन्नुपर्छ । हामी आफूसँग रहेकालाई होल्ड गर्ने र अरुलाई आकर्षित गर्ने अभियानमा छौं ।
६. तर संगठन त आफैमा भद्दा र ठूलो भएको भनी आलोचना हुन थालेको छ त ?
हो, संगठनको आकार सोच र जिम्मेवारीका हिसावले ठूलो भएको हो । हामीले केही फरक किसिमले सोचिरहेका छौं । हाम्रो पार्टीलाई नबुझ्नेले यसो आरोप पनि लगाउन सक्छन् ।
हाम्रो पार्टीमा निरन्तर काम गरिआएका नेता तथा कार्यकर्ताको ठूलो पंक्ति छ । यो नेपालमा समाजवादी रुपान्तरण ल्याउन आफ्नो अमूल्य योगदान दिन निकै इच्छुक छ र क्रियाशील पनि उत्तिकै रहेको छ ।
आन्तरिक रुपमा सोहीअनुरुप सोच र बाह्यरुपमा राज्यसत्ताको नयाँ संरचना अनुरुप यसरी सोचिएको हो ।
७. भागबण्डा मिलाउन थाल्दा ठूलो भएको भनाइमा सत्यता छ ?
त्यसो होइन, मैले अघि नै भनिसके– हामीले केही फरक किसिमले सोचिरहेका छौं । हामीले कर्णालीमा थप सोच्नुपर्ने अवस्था छ, त्यसलाई पूर्णता दिंदै छौं । सुदूरपश्चिम सिंगैको कुरा चलिरहेको, त्यहाँका साथीहरुको भनाइमा हामी पर्खिरहेका छौं ।
तपाईहरुले देखेको यो संरचना हामीले निर्वाचन आयोगमा दल दर्ताकै क्रममा व्यवस्था गरिसकेका थियौं । अहिले त मात्र त्यसलाई पूर्णता दिइरहेका छौं । हामी कसैको पनि दबाब र चापमा छैनौ । हामी लचकताका साथ गृहकार्य गर्दै अघि बढिरहेका छौं ।
हामी विधानतः गएका हौं भागबण्डाका कारण यसो गरिएको होइन ।
८. केन्द्रीय तहमा दुईवटा संरचना भए । त्यति ठूलो केन्द्रीय समिति हुँदाहुँदै केन्द्रीय परिषद किन निर्माण गर्नुभएको ?
हो, हामीले केन्द्रीय तहमै दुईवटा संरचना बनाएका छौं : केन्द्रीय समिति र केन्द्रीय परिषद । केन्द्रीय परिषदमा प्रदेशस्तरसम्मको प्रतिनिधित्व होस् भनेर सोचिएको छ । यसमा संघीय तथा प्रादेशिक तहको प्रतिनिधित्व हुने छ । यसले वास्तविक जनताको राजनीतिक सरोकारलाई सम्बोधन गर्ने छ । यो तहबाट नै केन्द्रीय तहमा प्रतिनिधित्व होस् भन्ने सोचिएको छ ।