नेपाल विविधतायुक्त देश हो । यहाँ विविध जातका मानिसहरु बस्दछन् र उनीहरुको जातियता फरक–फरक छ । फरक जात, फरक भाषा, फरक संस्कार भएपछि मानिसको सोच्ने तरिकामा पनि भिन्नता आउनु स्वभाविकै हो ।
हरेक मानवजातिको फरकफरक विशेषता हुनुलाई अन्यथा मानिन्न । तर फरक वा अविकसित अवस्थामा रहेकै कारणले सो जातिमाथि गरिने थिचोमिचोलाई भने स्वभाविक मान्न सकिन्न । राज्यले यस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी छ ।
तर ध्यान दिनु पर्नेमा राज्यले नै थिचोमिचो गरेपछि मानिसले आफूलाई हेपिएको महसुस गर्नु पनि स्वभाविकै हो । हेपिएको महसुस गरेकै कारणले नेपालका जनजातिले अधिकारका लागि आन्दोलन गर्दै आएका छन् ।
जनजाति एकढिक्का छन् भन्ने सन्देश गइरहेका बेला पछिल्लो चरणमा मगर समुदायभित्र रहेको पुन थरका अगुवाहरुले आफूलाई छुट्टै जातिको रुपमा आफूलाई चिनाउने प्रयास गरेका छन् । यो कुरा कति वैज्ञानिक र प्रामाणिक छ भन्ने कुराको बहस चलिरहेको बेला लामो समयदेखि नेपालका जनजातिका बारेमा खोज र अनुसन्धान गर्दै आएकी बमकुमारी बुढालाई के पुनहरु छुट्टै जाति हुन् ? भनेर गोलमिडिया डटकमका संवाददाताले सोधेका छन् । प्रस्तुत छ, सोही विषयमा गरिएको कुराकानीको सार संक्षेप–सम्पादक) ।
१) पुनका अगुवाहरुले हामी छुट्टै जाति हौं भनेर संगठन नै बनाएछन् । यो विषयलाई कसरी लिनु भएको छ ?
पुन मगरभित्रको थर हो, तर छुट्टै जाति भने होइन । बुढा भनेजस्तै हो, अलग जाति होइन । केही जिल्लाका पुनहरुले छुट्टै जाति हौं भनेर कुरा ल्याएका छन् ।
तर त्यसको स्थानीय कारण ‘इगो’ हुनसक्छ । कुनै राजनीतिक पार्टीको प्रभाव पो हो कि ! जस्तै क्षेत्रीभित्र तपाईं हमाल पर्नु भयो, तर हमाल जाति होइन, थर हो । त्यस्तै शाह, सिंह पनि थर हो, जाति होइन ।
त्यस्तै जनजातिभित्र पनि रोका, बुढा, थापा, पुन आदि थर हुन्छन् । खासगरी मगरभित्र पुराना र मुख्य ७ वटा थरहरु छन् । त्यसभित्रको गोत्यारलाई पनि पछिपछि थरको रुपमा लेख्न थालियो ।
आफ्नो पुरानो थर छोडेर बसाई सर्नेबेला पनि जुन ठाउँबाट आए, सोही ठाउँको नामबाट थर लेख्ने गरेको पनि पाइन्छ । जस्तैः दाङका आएकाले दङ्गाली, अछामबाट गएको अछामी, प्यूठानको लुङबाट गएकोले लुङ्गेली, रोल्पाको नम्जाबाट गएकाले नम्जाली, कालिकोटको रास्कोटबाट आएकालाई रास्कोटी आदि थर लेख्ने गरेको पाइन्छ ।
यसकारणले मगरहरुको थरहरु बढी नै भएका छन् । यसरी लेखे पनि उनीहरु सबै मगर नै हुन् । पुन त्यसै भित्रको एउटा थर हो । पुन थरका मानिस ठूला सरकारी ओहदा पनि छन् ।
पुनहरुले हामी छुट्टै जाति हौं भन्ने सवाल धौलागिरिको म्याग्दी र पर्वतमा उठेको छ । त्यसपछि त्यो कुरा बुटवल र भैरहवातिर पनि गएको छ । मलाई यसबारेमा धेरैले प्रश्न गर्ने गरेका छन् । तर मैले जे बुझेको छु, त्यही जानकारी दिएको छु ।
मैले पुन छुट्टै जाति होइन, मगरभित्रको एउटा थर हो भनेको छु । पुनभित्र बिहेबारी चल्नका लागि गोत्यार फरक हुनुपर्छ । एउटै गोत्यार पर्न गएका पुनहरुका बीचमा बिहे हुँदैन ।
२) कुनै राजनीतिक पार्टीले यो कुरा उठाएको होला कि इतिहास पढेका पुनहरुले उठाएका होलान् ?
यही पार्टीले उठायो भनेर भन्न सकिने अवस्था छैन । यो कुरा उठ्न लागेको धेरै समय भएको छ । खासमा रिडी–गण्डकीदेखि पूर्व र पश्चिममा फरकफरक जातीय विशेषता वा भिन्नता छ । हामी सबै मगर नै भएपनि सांस्कृतिक भिन्नता छन् ।
रिडीदेखि पूर्वका मगरहरुले सुँगुरले कुलपुजा गर्छन् । तर पश्चिमका मगरहरुले भेडाले कुलपुजा गर्दछन् । हामी पश्चिमका भएकाले कुलपूजा गर्दा भेडा चाहिन्छ । बोका र कुखुराले पनि गर्ने गरिन्छ तर मुख्यगरी भेडाले नै कुलपूजा गर्ने गरिन्छ ।
उठायो, भाकल गर्यो, मन्स्यो अनि कुनै तिथिमा पूजा गरिन्छ । तर पूर्वतिर चाहिँ सुँगुरले कुलपूजा गर्ने गरिन्छ । म्याग्दी र पर्वतका पुनहरुले मगर भाषा बोल्दैनन् । पहिला हाम्रो अठार मगरात तिरको भाषा बोल्थे । पछि खानीहरुमा काम गर्दा सरकारले नै उनीहरुलाई आफ्नो भाषा बोल्न रोक लगाएको रहेछ ।
त्यो भएपछि उनीहरुले बोल्ने भाषा लोप भएको हुनसक्छ । त्यसकारण अहिले केही पुनहरुले हामी छुट्टै हौं भन्ने कुराको पछाडि यो भाषाको कारण पनि हुनसक्छ । भाषा बोल्न जान्ने र नजान्ने कुरा, राँगा खाने र सुँगुर खाने कुरामा पनि भिन्नता छ ।
धौलागिरिमा राँगाको मासु घरभित्र लैजान्छन् । चुलोमा पकाउँछन् । धेरैले सुँगुर पाल्दैनन् र छुँदैनन् पनि । नछोएपछि घरभित्र लैजाने कुरै भएन । रोल्पा, रुकुमतिर पनि सुँगुर घरभित्र लैजान्नन् । बाहिर नै पकाइन्छ र बाहिरै खाइन्छ ।
हाम्रोतिर सुँगुर पाल्ने र खाने गरिन्छ । तर झाँक्री र पुजारीले भने खाँदैनन् । यो हाम्रो सांस्कृतिक विविधता हो । पुनहरु छुट्टै हौं भन्ने कुरा थापा र पुनका बीचमा पोखरातिर आएको सवाल हो । यो धेरै वर्ष अघिको कुरा हो । तर पुनहरु छुट्टै जातको रुपमा विकास भएको भन्ने दरिलो प्रमाण भने छैन । अरु जिल्लामा पुनहरु छुट्टै जात हुन् भन्ने कुरै छैन । म्याग्दी र पर्वतमा मात्रै हो । २०६२-०६३ को आन्दोलनपछि नै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.ओम गुरुङको अध्यक्षतामा सरकारले जातीय सूचीकरण गर्ने समिति गठन गरेको थियो । त्यो समितिले पनि पुनहरु अलग जाति हुन् भनेर लेखेको थियो । तर पुन अलग जाति होइन ।
३) यो समस्या कसरी हल गर्ने त ?
छलफलबाटै हल गर्ने विधि अपनाउनु पर्छ । छलफलपछि पुन अलग जाति हौं भन्ने साथीहरुले हामी अलग होइन रहेछौं भन्ने महसुस गर्नुहुनेछ । बुढामा पनि थुप्रै गोत्यार हुन्छ । पुनमा पनि हुन्छ । घर्तीको पनि हुन्छ । गोत्यार मिल्न गयो भने बिहे हुँदैन ।
यसरी सबै थरले हामी छुट्टै जाति हौं भन्दै जाने हो भने हाम्रैलागि यो काम आत्मघाती हुनजान्छ । बुझ्ने प्रयास नगरेर यत्तिकै बोल्दाखेरि हचुवा हुनजान्छ ।