• मंसिर ११ २०८१, मंगलवार

कारुणिकताको प्रतीक : ‘स्यानी’ उपन्यास

आश्विन ६ २०७८, बुधबार

‘तँलाई ज्योतिषले हेराम्दा बाँच्तैन भने, देउरे कानाँ माथिपट्टि सुनको मुन्द्रो लाए बाँच्न सक्च भने, तेरा शरीरमा खोटी नभकाले खोटी बनाम्न देउरे कानका माथिपट्टि मुन्द्री लार तँलाई सुनारको छोरो बनाएको ।’

नेपाल सरकारका पूर्वसचिव खगराज बरालकी आमा लीलावतीले बरालले छोरालाई सुनाएको घटना हो यो । ज्योतिषीले बाँच्दैन भनेका तर सुनारले बाँधेर बाँचेका उनै बरालको हालै प्रकाशित औपन्यासिक कृति हो ‘स्यानी’ । श्रमिक बरालका नामबाट यसअघि थुप्रै कृति लेखेका उनले आफ्नो वास्तविक नामबाट भने यो नै पहिलो कृति लेखेका छन्– उपन्यास विधामा । स्यानी भनिने आमा लीलावतीले यसरी नबचाएको भए आज आफै मर्दा उनलाई सम्झेर करुण रसमा यसरी उपन्यास तयार गर्ने पुत्ररत्न खगराज बराल नै सायद उनले पाउदैनथिइन् होला ।

समालोचकहरु उपन्यास कथा साहित्यभित्र पर्ने गद्य रचना हो भन्छन् । यसको उदयमा प्रचलति पे्रमाख्यानहरु, धार्मिक र काव्यात्मक कथाहरुको योगदान छ । तर उपन्यास भन्नुसामाजिक जीवनमा आइपरेका क्रान्ति र नयाँ पुँजीवादी व्यवस्थाको धरातलमा उभिएको एउटा नौलो विधा पनि हो । यसरी हर्दा रुपमती(१९९१ )बाट थालनी भएको आधुनिक नेपाली उपन्यासमा विविध शैलीहरु भित्रिएका छन् । उपन्यासभित्र समाज,चरित्र, कथावस्तु, भाषाशैली स्वभावैले आउँछन् नै ।

यसै सन्दर्भमाबरालको प्रस्तुत ‘स्यानी ’उपन्यासलाई सरसर्ती हेर्दा औपन्यासिक क्षेत्रको नवीन प्रयोग भन्न मिल्छ । लेखकले आमाको मृत्युहुँदा आफूमा उब्जेका भावलाई अतीतका घटनासँग सान्निध्यता मिलाउँदै पस्केका छन् । प्रत्यक्ष रुपमा लेखककी आमा थिइन्, मरिन, आमा मर्दाको घटनादेखि १३ औं दिनसम्मको घटनालाई व्यक्त गर्ने क्रममा उपन्यास बनेको छ । उपन्यासको कथा यत्ति हो । तर कथाभित्रका अनेकानेक उपकथा, प्रसंग र सन्दर्भले कृति बढी पठनीय बनेको छ । कौतुहलता सिर्जिएको छ । कथा हो वा घटना, त्यसैको वरिपरि उपन्यास घुमेको छ । गद्यमा लेखिएको हुँदा शोक काव्य नभएर शोक उपन्यास बन्न गएको छ ।

कथावस्तु :

यो शोक उपन्यास हो । ‘भाट खोलाले बगाउन नसकेकी मेरी आमालाई के ले बगायो ?’ कम करुणा छैन लेखकीय अभिव्यक्तिमा । आमा बिरामी भएको प्रसंगदेखि आमा बितेर १३ औं दिनको अन्तेष्टिकर्म गर्दासम्मका लेखकीय भावहरु यहाँ समेटिएका छन् । यस क्रममा आमासँगका विगतका प्रसंगहरु यहाँ आएका छन् । कतिपय प्रसंगमा पुर्वस्मृति शैली पाइन्छ । स्वस्थानीका फुल सेलाउन लगेको जुन गंगाजीमा आमासँग लेखक गए, त्यसैमा अर्कोपटक आमालाई दागबत्ती दिन गएको कुरा स्मरण गराइएको छ ।

कथामा कम कारुणिकता छैन । तुलसीको मोठमा आमासँग भएको कुराकानी सम्झदै गर्दा त्यही तुलसी मोठमा आमालाई सुताएर प्राण गएको प्रसंग आएको छ । अर्थात अहिलेको घटनासँग विगतका घटनालाई जोडेर प्रस्तुत गर्नु लेखकीय कौशलता हो । प्रत्यक्ष कथा निकै कारुणिक छ । त्यसबाट मन अलग गर्न उपकथाहरु आएका छन्, जसले हाम्रो धर्म, दर्शन, विज्ञान र संस्कृतिको प्रतिनिधित्व गरेका छन् । एक तीरले दुई सिकार गर्न उपन्यासकार सफल छन् ।
१३ भागमा विभक्त कथामा अलग, अलग प्रसंग आएपनि मुल कथा भने लेखककी आमा स्यानीकै वरपर फन्को मारेका छन् ।
भाषा शैली :
उपन्यास भाषाका दृष्टिले आञ्चलिक छ । प्रथम पुरुष शैली अँगालिएको छ । गण्डकी र धवलागिरी अञ्चलका वरपर बोलिने कथ्य भाषालाई उपन्यासले राम्रोगरी समेटेको छ । सुन्त,निराजो पर्ना,आम्दै छन् जस्ता अनेकौ कथ्य भाषाको प्रयोगले उपन्यासलाई बढी पठनीय र सुवोध्य बनाएको छ । पढदै जाँदा भाषिक क्लिष्टता कतै पाइदैन ।
१३ भागमा विभाजित उपन्यास पहिलो भाग पढन बस्नुपर्छ बाँकी भाग यहाँको कथा र भाषाले आफै डोर्याएर पढने बनाउँछ । यसपछि के भएहोला ? पाठक यसको उत्तर खोज्न उपन्यास नपढी बस्नै सक्दैनन् । यो सामथ्र्य थोरै लेखकसँग मात्र हुन्छ । जुन बरालमा प्रसस्त देखिन्छ ।

उपन्यासमा बालाई उच्चआदरार्थी र आमालाई आदरार्थी मात्र प्रयोग गरिएको छ । आमा र बाबीच भाषिक भेद पाइन्छ । यसो त लेखकले आइमाइहरुको गफ गर्ने थलो रुम्टाको पँधेरो हो भनेर महिलालाई होच्याएका पनि छन् । नत्र त बाहरुले गफ गर्ने चिया वा भट्टी पसलको पनि नाम आउँथ्यो होला । आएको छैन ।

भाषाअनुप्रासीय छ । ‘कसला काटेपछि मसला’ मिल्दो रैछ यसैको उदाहरण हो । संस्कृत, नेपाली र अङ्ग्रेजी भाषा पनि यहाँ प्रसङ्गअनुसार आएको छ । बाल गीत, संस्कार गीतको प्रस्तुतीले भाषामा सजीवता थपेको छ ।
‘दगुर दगुर कुहिरो तेरो घरमा चोर पस्यो’ र ‘अकना बकना चारै चकना’ जस्ता बालगीतले उपन्यासमा सजीवता थपेको छ ।
भाषालाई स्थानीयकरण गर्ने नाममा कृत्रिमता देखिएको पनि छ । लेखकले आफूमार्फत् अरुको कुरा पस्कनु परेकाले यो अवस्था आएको हुन सक्छ । कतिपय ठाउँमा भाषिक पक्षलाई बढी स्थानीय बनाउन खोज्दा लेखक चिप्लिएका पनि छन् । ‘कान्छी आमाले यो स्वाँखरले सारै प्रष्ट र मीठो अरी पढ्च’ भनिन् भनिएको छ । तर गहिरिएर हेर्दा लेखकले कान्छीआमा भन्ने महिलाले स्वाँखर (लेखकका बा) लाई तँ, तिमी भन्ने साइनो पाइँदैन । यहाँनेर लेखक चिप्लिएका छन् ।

नगर्नुलाई ‘गर्ननु’ लेखिएको छ । आसामबाटलाई ‘आसामबड’ बनाइएको छ ।‘ मन उर्लियो ’भन्नुपर्नेमा ‘म उर्लियो’ छ । ‘कर्याङ्कुरुङ् अकासाँ आएसी’ भनिएको छ । अकासाँ भन्नेले ‘आएसी’ बोल्दैन, बरु ‘आसी’ बोल्छ । भाषालाई जवर्जस्त स्थानीयकरण गर्ने रहर लेखकमा जागेको देखिन्छ । किनभने एउटै वक्ताले ‘अकासाँ’ जस्तो स्थानीय बोली र ‘आएसी’ जस्तो स्तरीयनिकट बोली बोल्दैन ।
लेखकका बा शोभाखरलाई स्वाखर भनिएको छ । स्थानीय बोली भनेको कथ्य बोली हो । यस्तो बोलीमा जनजिब्रोले सरलता खोज्छ भन्ने भाषा विज्ञानको मान्यता छ । यस्तो अवस्थामा स्वादासु जनजीब्रोले बढी टिप्नुपर्ने हो ।

बिम्ब, प्रतीक :

उपन्यासमा धार्मिक मिथकहरु आएका छन् । विभिन्न बिम्ब र प्रतीकले उपन्यास माझिएको छ । पढ्दै जाँदा म पुस्तक पढ्दै छु वा कुनै कार्यक्रममा सरिक हुँदैछु ? पाठक दोधारमा पर्छन् । गरुड पुराण भन्दाका बिम्वात्मक दृश्यहरु कम जीवन्त छैनन् । प्रत्येक दिनका पुराणका सार लेखकले पस्केका छन् । स्वस्थानी ब्रतको बेलाका क्रियाकलाप हुबहु बर्णन गरेर एकातिर पाठकका लगि पूजाविधिको स्मरण गराएका छन् भने अर्कोतिर पाठकलाई म किताबमा छु कि स्वस्थानी पुजामा भन्ने अवस्थामा पुुर्याएका छन् ।

यद्यपि यो शोककाव्यकै व्यतिरेकी हो, शैलीका हिसाबले । कवितात्मक शैली नअपनाएकोले मात्र यो उपन्यास भएको छ । यहाँ शोकलाई भुल्न विगतका प्रसङ्ग अघि सारेर लेखकले आफूमार्फत् पाठकलाई हँसाएका पनि छन् । शोक उपन्यास पढ्दा पनि हासिन्छ र ? र किन ? नहाँसी सुखै छैन । यो कृति पढ्दा त्यस्तै लाग्छ । ‘मुती मुती गाई साउनमा ब्याई’ भन्दा, देवी भागवत्को पुस्तक लिन जाँदा देवी (पात्र) को किताब मागी ल्याएको प्रसङ्ग निकाल्दा, कुकुरले नटोक्ने ‘ॐ कालीकुत्ते सेती दाँत, आयो कुत्ते लफर लफर कान, फर्किंदो कुत्ते महादेवकी वहान फट्’ भन्दाका प्रसङ्गहरु कम हाँसोलाग्दा छैनन् ।

समाज चित्रण :

उपन्यासले हाम्रो समाजको यर्थाथ चित्रण गरेको छ । भैंसी लड्दा रोएको प्रसङ्गले मानवेत्तर प्रेम झल्किन्छ । यहाँ कराइ खाने संस्कार होस वा आफन्तहरु बिरामी पर्दा भाकल गर्ने चलन होस त्यसको विम्बात्मक प्रस्तुती पाइन्छ । दाइँमा गाइने गीत, मर्दा गरिने संस्कार, नाग पुजाको प्रसङ्ग, लुतो फाल्ने चलन आदिको प्रस्तुतिले उपन्यासमा समसायिक समाज बोलेको छ । सामाजिक पक्ष सजीव भएर आएको छ ।

लेखककै शब्दमा “म हुर्किएको परिवेशमा प्रचलित स्वस्थानी ब्रतकथा वाचन, लुतो फाल्ने परम्परा, नागपूजा, दाइँमा खलो पुजा, क्रियाकर्म आदिलाई आफूले भोगेअनुसार नै कथानक बनाएको छु ।”

लेखकले भनेअनुसार नै यहाँ तत्तत् समाजको यथार्थ चित्रण आएको छ । आगो लागेपछि इनार खन्ने कुराले हाम्रो सामाजिक पछौटेपनको चित्रण गरेको छ । अस्पतालले सञ्चो नगराएको बिरामीलाई फुफा, नाग पुजाले निको बनाएको प्रसङ्गले हाम्रो सामाजिक विश्वासको चित्रण गरेको छ । हाम्रो समाज आज पनि आध्यात्मिक छ भन्ने कुराको चिनारी यसले दिन्छ ।
उपन्यासमा फुरेउलाका कथा, भजन, दाइँ गीत, तीज गीत र रत्यौलीसम्मको दृश्य आएको छ । रत्यौलीका सन्दर्भमाउपन्यासकार भन्छन् ‘रत्यौली भनेपछि आमाहरू देउराली स्वाँरादेखि साइ स्वाँरासम्म पुगिहाल्थे ।’ बरालका मात्र होइन, धेरैका आमाहरु रत्येउली मिस गर्दैनन् । हाम्रो समाजको यो पृथक पहिचान हो ।

सामाजिक व्यवहारको क्रममा एकपटक आमा डाँडातिरकी हजुरआमासँग अनमेल विवाह गराउने काममा पनि सामेल भएको प्रसङ्ग छ । बालबिबाह त भयो, तर त्यसपछि ती नानी कहाँ गइन, कसरी जीवन निर्वाह गरिन् होला ? यो प्रश्न भने अनुत्तरित नै रह्यो ।

उपन्यासको शीर्षक ‘स्यानी’ छ । उपन्यास शीर्षकका वरपर घुमेको छ । कथा, उपकथा अन्यथा गएपनि अन्त्यमा घुम्दैफिर्दे रुम्जाटार भएका छन् । अर्थात् स्यानीमा आएर टुङ्गिएका छन् । तर उपन्यासका १२ भागसम्म स्यानी को हो ? थाहा हुँदैन । १३ औं भागमा पुगेपछि मात्र उपन्यासकारकी आमा स्यानीको चिनारी छ । यसैले उपन्यासको नाम ‘आमा’ जुराउन सकेको भए अझै बढी उपयुक्त हुन्थ्योजस्तो लाग्छ । किनभने उपन्यासभर आमा, आमा भनिएको छ । उनैको चर्चा छ । आमा अर्थात् स्यानी १३औं भागले बल्ल प्रष्ट पार्छ ।

बहुविधाका धनी खगराज बरालको प्रस्तुत उपन्यास ‘स्यानी’ कारुणिकताले भरिएको बहुकथा अँगालेर लेखिएको पृथक पहिचानसहितको नवीन तथा पठनीय र संग्रहणीय कृति होभन्दा अत्युक्ति हुँदैन ।