बाह्र वर्षकै कलिलो उमेरदेखि महिनावारीहुँदा कोठामा एक्लै सुत्नुपर्ने, चारदिनसम्म दूध, दहि खान नपाउने, कसैलाई छुन नहुने सिधा आँखाले घरका पुरुष सदस्यलाई हेर्न नहुने बानी लागिसकेको थियो । कतिपल्ट त विद्यालय जाँदा बाटोमा महिनावारी भएर घर फर्किनु पनि परेको थियो ।
महिनावारी भएको बेला मन्दिर नजिकै भएर हिंड्न पनि गाउँघरमा पाप मानिन्छ । एकपटक विद्यालयमै महिनावारी भएको कारणले भगवती मन्दिर छेउ भएर घर फर्कनुपर्यो । टाढाको विद्यालयमा एक्लै हिंड्न पनि डर हुने र बाटोघाटोहरु पनि अप्ठेरो हुनेहुँदा मन्दिर छेउकै बाटो हिंड्न बाध्य भएँ ।
त्यतिखेर आफू महिनावारी भएको कसैलाई नभने पनि मन्दिर छेउबाट हिंडेको हुँदा पाप लाग्छ कि भन्ने डर लामो समयसम्म मनमा रहिरह्यो । अहिले पनि बिहे गरेर अर्काको घर गइसकेकी छोरीले एकपटक जसरी पनि माइतीमा गएर मन्दिरमा पाठो काटेर आउनैपर्छ ।
मन्दिरको बाटो हिंड्दा कतै लसपस भइहालेको खण्डमा ‘माफ गर्नु माइती देवता’ भनेर यसो गर्नुपर्छ । यदि उसले यस्तो गरिन भने उसलाई देवता लाग्छ भन्ने भनाइ छ । आफूले केहि गल्ती नगरी कसरी देवता लाग्छ ? त्यो पनि सँधै छोरीमान्छेलाई मात्रै ?
पटक्कै विश्वास गर्न नसकिने प्रथाहरु अहिले पनि गाउँघरमा चलिरहेका छन् । गाउँका बिहे गरेर अर्काको घर गइसकेका सबै चेलीहरुले पाठो काट्ने प्रथा पूरा गरेको भएपनि मलाई भने यसमा रत्तिभर विश्वास लाग्दैन । दाइहरुसँग बसेर पढ्न भन्दै काठमाडौं छिरें ।
सानैदेखि लागेको बानी महिनावारी हुँदा कोठामा पकाउन अप्ठेरो मानें । दाइले हामी काममा व्यस्त हुन्छौं, भोकै राख्ने भए नपकाउ भन्नुभयो । त्यसपछि काठमाडौंमा महिनावारी बार्नु परेन । महिनावारी भएँ भनेर अप्ठेरो मान्दै कसैलाई भन्नु पनि परेन ।
तर बिहे भएपछि नजिकका साथीभाई र छरछिमेकले ऋषिपञ्चमीको पुजा गर्नुपर्छ है भन्न थाले । दाल, चामल, तेल, दत्युनजस्ता सामान जुटाएर मन नलागे पनि दुई वर्ष पुजा गरें । यी सामान बोकेर गौरीघाट खोलामा पुजा गर्न जाँदा आफूलाई कहिले पनि सजिलो र खुशी अनुभव भएन ।
बरु लाज, नरमाइलो र अपमानित जस्तो अनुभव भइरह्यो । आफूले महिनावारी भएर ठूलै पाप गरेको र त्यसलाई सप्तऋषिको पुजा गरेर कट्छ भन्ने कुरालाई कहिले पनि मनले मानेन । दुईवर्ष पञ्चमीमा पुजा गरेपनि त्यसलाई निरन्तरता दिन मनै लागेन र दिइन पनि ।
दुई वर्ष अगाडि कक्षा आठमा पढ्ने छोरीसहित ऋषिपञ्चमीको दिनमा गौरीघाट पशुपतितिर गएँ । ‘ममी मलाई महिनावारी भइसकी भनेर पुजा गर्न नलगाउनु है’ छोरीले भनिन् । ‘यसपाली दशैंमा घर जाँदा पनि महिनावारी भइहाल्यो भने कसैलाई नभन्नु है मलाई कस्तो कस्तो लाग्छ’ उनले थपिन् ।
यद्धपि महिनावारी प्राकृतिक प्रक्रिया भएकाले अप्ठेरो मान्नु नपर्ने हो । तैपनि आफूलाई असहज भएको कुरालाई बाहिर खुलासा गर्दै हिंड्नु झनै अप्ठेरो अवस्था हो । आफूलाई महिनावारी हुँदा अरुलाई छुँदा पाप लाग्छ भन्ने कुरामा विश्वास नलागे पनि बागमती नदीको छेउमै बस्ने हुँदा वर्षेनी ऋषिपञ्चमी पुजा गरेको हेर्न सँधै खोला छेउ जाने गरेकी छु ।
वर्षेनी बागमती किनारमा ऋषिपञ्चमीको पुजा गर्नेमा किशोरीको सङ्ख्या कम हुँदै गएको देखेर केहि खुशी भने लाग्यो । महिनावारी हुँदा अरुलाई छोएको पाप कटाउन खुल्लारुपमा मठ, मन्दिरमा गई सप्तऋषिको पुजा गर्नु भनेको एक किसिमले महिनावारी हुनु पाप हो भन्ने बुझाइलाई बढावा दिनु हो ।
कि त महिनावारी हुँदा महिलाले कसैलाई छुनु हुँदैन, अन्जानमा छोइहाले पनि पुजा गरेर पाप कटाउनै पर्छ भन्ने कस्तो रुढिवादी सोच ! यसमा पनि महिलालाई छुँदा केहि पनि नहुने तर पुरुषलाई छुँदा भने पाप लाग्ने ? सुन्दा पनि अनौठो लाग्ने ।
युएनओमा जागीर खानेका श्रीमती हुन् या सरकारी हाकिमका श्रीमती हुन्, कलेजमा पढाउनेका श्रीमती हुन् या आफैं डिग्री पास गरेका महिला हुन् राजधानीमा बसेर पढेलेखेका शिक्षित हँु भन्नेहरुले नै महिनावारीजस्तो कुसंस्कारलाई मान्दै आएका छन् ।
यिनीहरुमध्ये कतिपयले मठ, मन्दिरमा गएर पाप कटाउन खुल्ला रुपमा पञ्चमीको पुजा गरिरहेका हुन्छन् भने कतिपय लोकलाजले मन्दिरमा नगए पनि घरमै पाप कटोस् भन्दै पुजा गर्छन् ।
महिनावारी हुँदा आफन्त त्यसमा पनि लोग्ने मान्छेलाई छोएको पाप कतिपय जाति तथा धर्म मान्ने महिलालाई लाग्ने तर कतिपय जाति तथा धर्मका महिलालाई पाप नलाग्ने पनि कहिँ हुन्छ ?
जब शिक्षित, सरकारी जागीरे कर्मचारीहरुको घरमा नै महिलाले महिनावारी हुँदा भान्छामा प्रवेश पाउँदैनन् भने गाउँका अनपढ, निरक्षर महिलालाई के भन्ने । उनीहरुको दिमागबाट कसरी कुप्रथा हटाउने ?
हुन त कतिपय जागीरे महिलाहरु घर र अफिसको कामले आजित भएर चारदिन भान्छामा छिर्न नपरे महिनाभरिको थकावट मेटिन्छ, आफूलाई मनपर्ने एकदुईवटा किताब पढ्न पाइन्छ भनेर पनि महिनावारी बार्ने गरेका कयौं उदाहरण पनि छन् ।
यस्ता महिलाले घरमा नभने पनि बाहिर साथीहरुमाझ चारदिन आरामको लागि भएपनि बार्ने गरेको बताउँछन् । जेजस्ता कारण भएपनि यसले महिनावारी हुनु पाप हो भन्ने कुरालाई जगेर्ना गरेको छ ।
कतिपय शिक्षित परिवारमा नै महिलाहरु आफूपनि बार्ने र घरका छोरी बुहारीलाई पनि बार्न लगाउने हुँदा यो कुप्रथा हट्ला भनेर सजिलै विश्वास गर्ने अवस्था भने छैन । कतिपय शिक्षित महिलाहरु महिनावारी नबारे पनि केहि हुँदैन भन्ने सोच भएका पनि छन् ।
तर परिवार, समाजमा खुलेर भन्न सक्दैनन् । धेरै जसो आधुनिक महिलाहरुको अनुभवमा महिनावारी नबारे पनि केहि हुँदैन भन्ने लागिसकेको भएपनि घरपरिवार, समाजको डरले महिनावारी बार्ने गरेको देखिन्छ ।
गत वर्ष मेरै एकजना नन्द गाउँबाट उपचार गराउन काठमाडौं आइन् । महिनावारी भएको बेला दुइतीन चोटी त मैले उनकै लागि भन्दै चार दिनसम्म भान्सामा पसिन र खाना पनि पकाइँन । यो भन्दा अगाडि काठमाडौं आएको बेला उनले महिनावारी बार्ने, मैले पकाएको नखाने भएकाले मैले यस्तो गरेकी थिएँ । श्रीमानले पकाएर खुवाउनुभयो ।
अर्कोपालि फेरि जब म भान्छामा पसिन, तब अफिसको कामले थाकेर आएपछि श्रीमानले ‘म त पकाउन सक्तिन है आफै पकाएर खाऊ’ भनेर बहिनीलाई अह्राउनु भयो । पश्चिमको अछामबाट आएकी उनले जब मलाई ‘महिनावारी भएको बेला पनि पकाऊ, केहि हुँदैन म खाइहाल्छु’ भनिन् म उनको कुरा सुनेर छक्क परे । आखिर खाँदा केहि नहुने रहेछ भने किन महिनावारी बारिरहनु ?
आखिर महिनावारी हुनु पनि महिलाको लागि एउटा प्राकृतिक प्रक्रिया न हो । जसरी पुरुषहरुमा शक्रकिट स्खलन हुन्छ, त्यसरी नै महिलाको पनि गर्भाधान गर्ने समय भएपछि महिनावारी सुरु हुन्छ ।
जसकै कारण एउटा सुन्दर भगवानरुपी बालकको जन्म हुन्छ । यसकारण महिनावारी हुनु पाप कसरी हुन सक्छ ? घरमा महिनावारी बार्नेहरुले बाहिर विद्यालय, कार्यालय, होटेल इत्यादिमा महिनावारी भएका महिलाले नै पकाएको चिया, खाजा, खाना मीठो मानेर खान्छन् ।
घरका महिलाले भान्छामा छुँदा पनि पाप लाग्ने तर बाहिरका महिलाहरुले पकाएको खाँदा पाप नलाग्ने ? अमिल्दो भएन ? सानो बालक तीनचार वर्षसम्म आमाको दुध खान्छ, छ÷सात वर्षको हुँदासम्म आमासँगै सुत्छ, तर जब ऊ हुर्केर ठूलो हुन्छ, त्यहि महिनावारी भएकी आमाले पकाएको उसले खाँदैन ।
आमा छाउघरमा सुत्छिन् ऊ भने घरभित्र सुत्छ । सरसफाइमा ध्यान दिएसँगै सहरका सुत्केरी महिला शिशुसँगै मजाले सबैसँग एउटै कोठामा सुत्छन् भने दुर्गमका गाउँघरमा गुफा, ओडार छाउघरमा एक्लै सुत्न पठाउँदा नराम्रा घट्ना हुने धेरै सम्भावना हुन्छ ।
भौतिक रुपमा सुदुरपश्चिम प्रदेशमा रहेका कैयन छाउगोठ भत्काइए पनि मनका छाउगोठ भने गाउँदेखि सहरसम्मै भत्किन अझै बाँकी छन् । दुई वर्ष अगाडि सरकारका तर्फबाट छाउगोठ भत्काउ अभियान चलेको थियो । कसैले बुझेर त कतिपयले डरले भएपनि छाउघर भत्काए ।
त्यसकै फलस्वरुप अहिले कतिपय महिलाहरु महिनावारी हुँदा घरभित्रै सुत्न थालेका छन् । तैपनि पूर्णरुपमा निर्मूल भने हुन सकेको छैन । महिनावारी हुँदा खानपिन बार्ने, छोइछिटो गर्नेजस्ता नचाहिने नाटकहरु चलिनै रहेका छन् । महिनावारी भएकी महिलालाई छोएको शंकामा धामीझाँक्री काम्ने, बेहोस भएको नाटक गर्ने चलन चलिनै रहेको छ ।
कहिँ, कतै पौराणिक कथा, किताबमा महिनावारी बार्नुपर्ने, हामीले पुज्ने गरेका देवी, भगवतीले महिनावारी बारेको, नबारे पाप लागेर नष्ट भएको कतै पनि सुन्न र देख्न पाइएको छैन ।
बरु कष्टसाथ महिनावारी बारेकाहरु भने वर्षेनी सर्पले टोकेर, जाडोले कठ्याङ्ग्रिएर अकालमै मृत्यु वरण गर्न पुगेका छन् । यस्ता कुराहरु थाह हुँदाहुँदै पनि छुवाछुत, दाइजो प्रथा, झुमा, देउकी प्रथाजस्ता कुरितीलाई चाडवाड, परम्परा, संस्कृतिको नाम दिंदै आँखा चिम्लेर जगेर्ना गर्नु भने मूर्खता हो ।
यस्ता कुरितिहरुको अन्त्य नभएसम्म महिलाले दुःख पाइनैरहने छन् । यस्ता कुप्रथा हटाउन शिक्षित परिवारबाटै, शिक्षित महिलाले नै रुढिवादी सोचबाट माथि उठेर सबै निरक्षर महिलाहरुका लागि ‘रोल मोडल’ भई उचित कदम चाल्न जरुरी भइसकेको छ ।
सरकारले यसैगरी बेलाबेलामा कुरिति निर्मूल पार्न साम, दाम, दण्ड र भेदका साथ सम्बन्धित सबै निकायलाई सक्रिय बनाउनु आवश्यक छ ।