• मंसिर १२ २०८१, बुधबार

मगर संजाल क्लवको वार्षिकोत्सव सम्पन्न (तस्बिर सहित)

आश्विन ३ २०७८, आईतवार

काठमाडौं । भाषा, कला, संस्कृति र भेषभूषाको संरक्षण, मगर एकता हाम्रो अभियान भन्ने नाराका साथ गतवर्ष स्थापना भएको नेपाल मगर संजाल क्लवले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनाको पहिलो वर्ष पार गरेको उपलक्ष्यमा आफ्नो वार्षिकोत्सव मनाएको सो क्लवले हर्सोल्लासका साथ आफ्नो वार्सिकोत्सव मनाउँदै विभिन्न क्षेत्रमा ख्याती कमाएका मगरहरुलाई समेत सम्मान गरेको छ ।

राजधानीमा आयोजित एक वार्सिकोत्सव कार्यक्रममा प्रमूख अतिथीको आशनबाट बोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले संजाल क्लवलाई स्थापनाको पहिलो वर्ष पार गरेकोमा शुभकामना दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकामगरले, कुनै पनि समाज र देश बन्नुमा आदिम मानव र जातिहरुले भूमिका खेलेको कुरालाई औंल्याए ।

नविन रोकामगर

संसार भर छरिएर रहेका मगरहरुको मुलथलो नेपाल नै भएको उल्लेख गर्दै उनले नेपालमा राजनैतिक सत्ताले जाति र जनजातिहरुलाई दबाउने काम गरेकोप्रति गुनासो व्यक्त गरे । नेपालमा मगरहरु पछाडी पर्नुको मूल कारण नेपालका आजसम्मका राज्यसत्ताहरु सामाजिक न्यायमा आधारित नभएको बताउँदै सामाजिक न्यायमा आधारित राज्य नभएको हुनाले र राज्यको नीति विभेदकारी हुनुले नेपालमा मगरहरु पछि परेको उनले बताए ।

हालका दिनहरुमा मगर समुदायमा फाटो ल्याउने काम समेत हुन थालेकोप्रति मगरहरुलाई सजक गराउँदै उनले भने, ‘मगर विशाल जाति भएकोले यसमा भाषिक र साँस्कृतिक विविधता रहेका छन् । यस्ता विविधतामा गर्व गर्ने हो, फाटो ल्याउने होइन ।’ हाल कसैले मगर जातिबाट छुट्टिन खोजेर पुन समाज बनाउन खोजेको र चलिरहेको राष्ट्रिय जनगणनामा पुन भाषा लेख्न खोजेकोप्रति इंगित गर्दै अध्यक्ष नविन रोकामगरले भने, नेपालमा रहेको पुन मगर नै हो र यहाँ कुनै पुन भाषा रहेको छैन ।’

टुक रानामगर

नेपालमा रहेको मगर एकता भाँड्न खोज्ने जो कोही खरानी हुने भन्दै मगर जाति र समुदाय फुटाउने काम कसैले नगर्न चेतावनी दिए । नेपालमा रहेका जाति र जातिहरुलाई आफ्नो पहिचान चाहिएको भन्दै जातीय पहिचानले सबैलाई अधिकार प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा त्रिभुवन विस्वविद्यालयका प्राध्यापक टुक रानामगर, सो क्लवकी कानुनी सल्लाहकार अधिवक्ता धनमाया रानामगर, नेपाल मगर संघ भोजपुरका अध्यक्ष लिला मगर, संजाल क्लवका सल्लाहकार भीम प्रकाश बाँठामगर, प्रकृति पूजक मगर संघका अध्यक्ष नन्द घर्तीमगर लगायतले संजाल क्लवको वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना मन्तव्य दिएका थिए ।

वार्सिकोत्सव कार्यक्रममा उपस्थितहरु

आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाल मगर संघ दुवईका अध्यक्ष भूवन मगर, सदस्य चन्द्रा पुलामीमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व उपाध्यक्ष चित्र पुलामीमगर, नेपाल मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष मनु बुढामगर, ढोरपाटन क्लवका उपाध्यक्ष किरण घर्ती घायल, हास्यव्यंग्य कलाकार खड्गबहादुर पुन मगर ‘खबपु’, लोकप्रिय गायिका तारा श्रीषमगर, गायकहरु गोविन्द पुनमगर, विजय ठाडामगर, कपिल पुनमगर, सुनिल थापामगर, टुहुरा बालबालिकाकी आमा तथा एकीकृत सिर्जनशील समाज(बालगृह)की आमा, सामाजिक अभियन्ता जुनु पुनमगर लगायतको उपस्थिति रहेको थियो ।

जुनु पुनमगरलाई सम्मान
नेपाल मगर संजाल क्लवको वार्षिकोत्सवको अवसर पारेर मगर जाति, समुदायबाट राष्ट्रलाई योगदान गरेर मगर जाति, समुदायको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विभिन्न व्यक्तित्वहरुलाई प्रसंशा-पत्र दिएर सम्मान गरियो । सो अवसरमा नेपाल मगर संजाल क्लवले वर्ष २०७७ को ‘मगर वर्ष व्यक्तित्व’ घोषणा गरेकी समाजसेवी, अभियन्ता, आमाबिहीन बालबालिकाकी आमा तथा एकिकृत सिर्जनशील समाज (बालगृह)कि आमा जुनु पुनमगरलाई सम्मान गरियो ।

वर्ष मगर व्यक्तित्व घोषित जुनु पुन मगर क्लवबाट सम्मान लिंदै

सो अवसरमा जुनुलाई कार्यक्रमका प्रमूख अतिथि नविन रोकामगरले वर्षको उत्कृष्ट मगर अर्थात मगर वर्ष व्यक्तित्व २०७७ बाट प्रमाण-पत्र तथा प्रशंशा-पत्र प्रदान गरेर सम्मान गरे भने संजाल क्लवका संस्थापक अध्यक्ष तिल बहादुर पुनमगर ‘तिलक’ले मगर संस्कृति झल्काउने लर्फू ओढाएर सम्मान गरेका थिए।

सो अवसरमा हाँस्यकलाकार खड्ग बहादुर पुनमगर ‘खबपू’,’द भ्वाइस अफ नेपाल’ सिजन ३ मा दोस्रो स्थान प्राप्त गर्न सफल गायिका तारा श्रीषमगर, सोही गायन प्रतियोगितामा आठौँ स्थानमा पुग्न सफल गायकद्वय गोबिन्द पुन मगर र बिजय ठाडामगर, सोही गायन प्रतियोगिताका उत्कृष्ट प्रतियोगीहरु कपिल पुन मगर र सुनिल थापा मगरलाई पनि सम्मान गरिएको थियो। वार्सिकोत्सवकै दिन जन्मदिन परेका गायक कपिल पुनमगरको जन्मदिन पनि सोही अवसरमा मनाइएको थियो।

हाँस्य कलाकार खड्ग बहादुर पुन मगर ‘खबपू’

वार्सिकोत्सवमा सहयोग रकम हस्तान्तरण

नेपाल मगर संजाल क्लवको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न असहायहरुलाई सहयोग रकम प्रदान गरिएको थियो । कार्यक्रममा मस्तिष्क घात भएका बिरामी तनहुँका मिनबहादुर आलेमगरकी छोरीलाई, दुर्घटनामा घाइते भएका विरामी माडी गाउँपालिका रोल्पाका सूर्यबहादुर घर्तीमगरका छोरालाई, दबाङ्ग रोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी सुरेश थकालीलाई साथै एकीकृत सिर्जनशील समाजका बालबालिकाहरुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सो क्लवलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्था र संचारकर्मीहरुलाई पनि प्रशंशा-पत्र प्रदान गरेर सम्मान गरिएको थियो।क्लवको पहिलो वार्षिकोत्सवको मिडिया सहयोगी गोलमिडिया न्युज डटकम रहेको थियो।

कार्यक्रम नेपाल मगर संजाल क्लवका अध्यक्ष तिल बहादुर पुनमगर ‘तिलक’को अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सचिव केशु पुनमगरले गरेकी थिइन् । कार्यक्रममा उपस्थितहरुलाई क्लवकि सदस्य टिना रानामगरले स्वागत मन्तव्य दिएर स्वागत गरेकी थिइन् ।

नेपाल मगर संजाल क्लवका अध्यक्ष तिलक पुनमगर

मगर अगुवाहरु नेपालको पहिलो शहीद लखन थापामगर, नेपाल मगर संघका संस्थापक अध्यक्ष दिवंगत हेमबहादुर मगर र नेपाल मगर संघलाई नेपालभरि फैलाउन महत्वपूर्ण भूमिका खेलका तथा मगर जातिको पहिचान उत्थानमा महत्वपूर्ण भूमिका खेलेका गोरे बहादुर खपांगी मगरहरुको तस्विरलाई अगाडी राखेर आफ्नो मगर भेषभूषा तथा लवजमा प्रस्तुत भएका मगरहरुले कार्यक्रममा नाचगान गरेर रमाइलो गर्नुका साथै एक अर्कामा सहिष्णुता साटासाट गरेर सो संजाल क्लवको पहिलो वार्षिकोत्सव मनाएका थिए ।

 

हेरौं कार्यक्रमका थप तस्विरहरु⇓

 

magar