काठमाडौँ । हिन्दु र मैथिली समाजमा हरेक वर्ष असोज सक्रांन्ति अर्थात हरिपर्वतनी एकादशीको दिन बाबा विश्वकर्माको पूजा गरेर विश्वकर्मा पर्व मनाइन्छ । यस दिनलाई कन्या सक्रांन्ति पनि भनिन्छ । धर्मशास्त्रमा अंगिरा ऋषिका छोरा भनिएका विस्वकर्मा देवताहरुका शिल्पी भनेर चिनिन्छन् ।
हिन्दु धर्मशास्त्र अनुसार भगवानका गुरु ब्रह्माको आज्ञाले विस्वकर्माले सत्ययुगमा स्वर्गको निर्माण गरेका थिए भनिन्छ । त्यस्तै किसिमले विश्वकर्माले त्रेता युगमा लंकापुरीको समेत निर्माण गरेको भनिन्छ । द्वापर युगमा उनले श्रीकृष्णको दिव्यपुरी भनिने द्वारकापुरी पनि कलात्मक रुपमा समुन्द्रको बीचमा बनाएर आफ्नो अद्वितिय कला प्रस्तुत गरेका थिए ।
आजको विज्ञान र प्रविधिको समयमा पनि जुनै वैज्ञानिकहरुले समेत यो दिनमा बाबा विश्वकर्माको सम्झना र पूजा गरेको पाइन्छ । वास्तविक रुपमा आधुनिक समयका इञ्जिनियरहरुका आदी प्रवर्तक सृष्टिका पहिलो इन्जिनियरको रुपमा धार्मिक मानिसहरुले विश्वकर्मा बाबालाई लिएको देखिन्छ । बाबा विश्वकर्मालाई शिल्पीहरुका अगुवा भनेर अहिलेको समाजले स्वीकारेको देखिन्छ ।
आधुनिक समयमा यस पर्वको अवसर पारेर फलाम र अन्य धातुबाट बनेको साना तथा ठूला औजार र मेसिनहरुलाई पूजा गरेर विश्वकर्मा पूजा मनाइन्छ । साना ठूला औधोगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट यस पर्वलाई सम्पन्न गरिन्छ ।
यस पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान, पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने मैथिल परम्परा छ । पर्वका अवसरमा सेताम्य फुलेको आकृतिका विश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोकचोकमा स्थापित गरिएका हुन्छन।
झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चार हातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएको प्रतिमामा देखिन्छ । धेरैजसो ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला आयोजना गरिएका हुन्छन। । अंगिरा ऋषिका छोरा विश्वकर्माको पूजाआराधनाले ज्यावलमा खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ । विश्वकर्मा राजा इन्द्रको सभाका विशिष्ट शिल्पकार मानिन्छन् ।
विश्वकर्मा जयन्ती
परम्परा अनुसार हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात् १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।
को हुन् ? विश्वकर्मा
धर्मशास्त्र अनुसार भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण गरिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व
खासगरी जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ, उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।
आधुनिक जमानामा विश्वकर्मा पूजा
माथि वर्णन गरिए अनुसार र यो समयमा पनि विश्वास गरिए अनुसार विश्वकर्मा पूजा भनेको शिल्पी दुनियाँका हस्तीहरुको पूजा गर्ने भन्ने हुन आउँछ । वर्षको एकदिन नै सही शिल्पी मानिसहरुको सम्झनामा व्यापक पूजा गरेर मनाउने गरिएता पनि वर्षका बाँकी दिनहरुमा तिनै शिल्पी समुदायलाई तथाकथित ‘अछुत’ भनेर अहिले पनि कयौं ठाऊहरुमा बहिस्कार गरिने गरिएको समेत समाचारहरु आउने गरेका छन् । यदी शिल्पी समुदाय यस संसार र देशमा नहुने हो भने अरु मानिसहरुको दिनचर्या पौराणिक कालको भन्दा कठिन हुन्छ भन्ने कुरा स्पष्ट रहेको छ । जो समुदाय नभए आम मानिसको जीवन नै निर्वाह हुँदैन त्यही समुदायलाई छुवाछुत होइन कि, उनीहरुलाई पनि समाजका अरु समुदाय सरह मानेर सम्मान र समान व्यवहार गर्ने की !