गत भाद्र १२ मा चिनियाँ कम्युनिष्ट पार्टीको १५औँ महाधिवेशनमा पार्टी महासचिव तथा चीनका राष्ट्रपति तथा चिनियाँ जनमुक्ति सेनाका सैनिक आयोगका प्रमुख सी जिन पिङले भने, ‘व्यक्तिगत सम्पतिको लोभ गर्नेहरुले कम्युनिष्ट पार्टीको सदस्यता लिन हुँदैन ।’
विश्वकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी, सर्वाधिक जनसंख्या भएको मुलुक, वर्तमान विश्वमा आर्थिक, सैन्य र भौतिकरुपले एक मजबुत राष्ट्र चीनको एक प्रमुख व्यक्तित्वले भनेको माथिका शब्दहरु अति ओजपूर्ण र मार्ग निर्देशकमूलक छन् । क्रान्ति सम्पन्न गरी आर्थिक, भौतिक सम्बृद्धि प्राप्त गरेका चिनियाँ समाजका कम्युनिष्टहरुलाई भन्दा क्रान्ति सम्पन्न गर्न बाँकी रहेका विश्वभरीका कम्युनिष्टहरुलाई उक्त शब्दहरु प्रेरणामूलक छन् । यहाँ कम्युष्टिहरुको चरित्र, व्यक्तिगत सम्पति र त्यसको निराकरणबारे केही अभिमतहरु प्रस्तुत छन् ।
सर्वप्रथम व्यक्तिगत सम्पतिको विषयमा प्रवेश गरौँ । मानव समाजमा कहिलेदेखि व्यक्तिगत सम्पतिप्रति मोह बढ्यो भनेर विवेचना गर्दा जब मानव समाज एकनिष्ट विवाह पद्धतिमा प्रवेश गर्यो तब हरेक मान्छेमा मेरो छोराछोरी, मेरो बा, आमा, मेरो श्रीमती मेरो श्रीमान भन्ने भावना जन्मियो ।
अनि आर्थिक, भौतिक कुराहरु सर्वप्रथम आफू र आफ्नो परिवारका सदस्यहरुलाई प्राथमिकता दिने प्रवृत्ति र परम्परा भयो अघि मान्छेहरुले भकारीमा अन्न, गेडागुडीहरु, खोरमा गाई, भैंसी, बाख्राहरु, कुखुराहरु, ढुकुटीमा भाँडाकुँडा र गहनाहरु राख्थे भने आजभोली बैंकहरुमा रुपैयाँ राख्ने, विभिन्न उद्योग फर्महरुको शेयर लिने, सेफमा अमूल्य वस्तुहरु राख्ने, गाडी बाहन, बंगलाहरु किन्ने, घरघडेरीहरु जोड्ने गर्छन् । यी सबैको लक्ष्य र उद्देश्य आफू र आफ्नो परिवारको सुरक्षा र कहिल्यै कुनै कुराहरुका अभाव नहोस् भन्ने नै हो ।
यसरी एकनिष्ट विवाह पद्धति भनौं पारिवारिक पद्धतिहरु जीवित होउञ्जेल व्यक्तिगत सम्पति प्रतिको मोह पनि भइरहन्छ । जुन कुरा प्राप्तिको लागि जालझेल, फटाही, षडयन्त्र, अपराध, लुट, डकैतीदेखि मुद्दा मामिला, भ्रष्टाचार, घुस, तस्कर, हत्या, हिंसा सबथोक गर्छन् र गरेका पाइन्छन् । यसको निराकरण त्यतिखेर मात्र हुन्छ जुन बेला मानव समाजको पारिवारिक स्वरुप सामुहिक र आर्थिक संरचनाहरु पनि सामूहिकीकरण, राष्ट्रियकरण र अन्तराष्ट्रियकरण पनि हुन्छ ।
त्यस बेला हाम्रो छोरा, छोरी, हाम्रो वा आमा, हाम्रो श्रीमान, हाम्रो श्रीमतीहरु हुन्छ । क्यै गरेर आफू रोगी विरामी परे छोरा, छोरी, वा, आमा, श्रीमान, श्रीमती सबैलाई आर्थिक भौतिक कुराहरु समाज र राज्यले उपलब्ध गराउँछ भनेर सबै ढुक्क हुन्छ भन्ने निश्चिन्त हुन्छ भने तब मान्छेहरुले धन सम्पति थुपार्न आवश्यक देख्दैनन् ।
आजको सामन्तवादी र पुँजीवादी समाज त कस्तो छ भने यदि तपाईंसँग रुपैयाँ दाम छैन भने आफ्नै छोराछोरी, बा, आमा, श्रीमतीहरुले र वरपरका नातेदार साथीभाईहरु कसैले पनि गन्दैनन् । सही र सत्य कुराहरु पनि स्विकार्दैनन् । खल्तीमा रुपैयाँ दाम नभए खाना, कपडा, आवास, औषधि, शिक्षा, घुमफिर क्यै क्यै पाईंदैन । सामन्तवादी समाजले उनीहरुलाई बुङ्गा भन्छ र पुँजीवादी समाजले सर्वहारा भन्छ ।
कम्युनिष्ट सिद्धान्तका प्रणेता कार्ल मार्क्स, फ्रेडरिक एंगेलल्सहरुले आज भन्दा १७० वर्ष अघि युरोपमा साम्यवादबारे व्याख्या गरे र जीवनभर त्यसमै लागि परे । उनीहरुका मतमा वर्गविहीन समाजको निर्माणमा लाग्ने, पुँजीवादी र सामन्तवादी समाजलाई पतन तुल्याउन लडने योद्धाहरु, विश्वव्यापी समाजवादको लागि कर्मयोगी मान्छेहरु नै कम्युनिष्ट हुन् । जो धन सम्पत्ति जोड्न हैन कि सिङ्गो राष्ट्रको मुक्ति र स्वाधिनताका लागि मानवजातिको मुक्तिको लागि जीवन अर्पिन्छन् । सर्वहारा वर्गबाट यस्ता कम्युनिष्टहरु धेरै जन्मन्छन् भन्ने उहाँहरुका मत थियो ।
उपरोक्त अवधारणा र सिद्धान्तलाई आत्मसात गर्दै सोभियत रुसमा लेनिन र स्टालिनको नेतृत्वमा क्रान्ति सम्पन्न भयो । करोडौँ कम्युनिष्टहरुका बलिदानले समाजवादी समाजको निर्माण र विकास पनि भयो । पूर्वी युरोप, मंगोलिया, चीनको मुक्तिलाई अनि समाजवादी समाजको विकासको लागि जोसेफ स्टालिनको नेतृत्वमा भारी साथ र सहयोग मिल्यो । विश्वको एक तिहाई आवादी र एक चौथाई भूभागमा समाजवाद स्थापना भयो । समाजवादी समाज भनौँ, कम्युनिष्ट समाज विश्वव्यापी सर्वाधिक चर्चित र त्रासको विषय बन्यो विश्वका पुँजीवादी साम्राज्यवादीहरुको समाज र संसारमा ।
स्तालिनकालीन सोभियत रुसमा कम्युनिष्ट पार्टी सदस्यहरु र लालसेनाहरु आफ्नो न्यूनतम आवश्यकताको परिपूर्तिमै सुखी र खुशी थिए । उनीहरुका लक्ष्य र उद्देश्य विश्वव्यापी कम्युनिष्ट राज्य स्थापना थियो । किन कि मुल नेतृत्व स्टालिन त्यस मार्गमा दृढ थिए । सन् १९५३ मार्च ५ मा स्टालिनको असामयिक निधन भयो । त्यसपछि पार्टी नेतृत्व ख्रुश्चोभले हत्याए ।
उनले सर्वप्रथम कम्युनिष्ट पार्टी सदस्यहरु र लालसेनाको तलब वृद्धि गरे अनि कलकारखाना र जग्गा जमिनहरु निजीकरण र ठेकेदारीकरण गरे । यस्तो कुरालाई रुसी कम्युनिष्ट पार्टी, लालसेना कम्युनिष्टका पदाधिकारीहरु प्रायः सबैले सहर्ष स्विकारे । त्यसको मुल कारण रुसी समाजको पारिवारिक संरचना एकनिष्ट भएर नै हो । जुन पारिवारिक संरचनाले हरेक मान्छेलाई घोर व्यक्तिवादी, लोभी, पापी र भ्रष्ट बनाउछ । स्तालिनभक्त योद्धाहरुले अवश्य नै त्यसको घोर विरोध गरे तर सैन्यशक्तिको आडमा लाखौँ सच्चा कम्युनिष्टहरु र स्तालिनभक्तहरु मारिए, जेल परे र कालापानी निर्वासनमा परे ।
सोभियत रुस र विश्वभरी धन सम्पति सामूहिकीकरण हुनुपर्छ भनेर क्रान्तिको नेतृत्व गर्ने भ्लादिमिर इल्यिच लेनिनलाई रुसी संशोधनवादी मेन्सेविकका महिला कार्यकर्ता कपलानले लेनिनमाथि सन् १९१९ मा गोली वर्षाए । जुन चोटले सन् १९२४ मा लेनिनको निधन भयो । स्टालिनले सोभियत संघको सम्पूर्ण कुराहरुको लगाम आफ्नो हातमा लिएर चौतर्फी विकास, योजना र कार्यान्वयन गरे । विश्व भरिका पुँजीवादीहरुको जग हल्लियो, रुसी समाजको विकासले । सन् १९३४ मा स्टालिनको उत्तराधिकारी कमरेड किरोभको पनि लेलिनग्राडमा हत्या भयो ।
रुसी क्रान्तिमा कुनै भूमिका नभएको, समाजवादी नीतिहरुको विरोध गर्ने र जनता भड्काउने, षडयन्त्रै षडयन्त्र गर्ने र सत्ता कब्जा गर्ने उनीहरुको लक्ष्य थियो तर तिनले सकेनन् । उल्टो साम्यवादीका ती दुश्मनहरु केही सखाप भए । तर पूर्ण हैन किन कि सन् १९५३ मार्चमा स्टालिनको असामयिक निधन पश्चात ती मेन्सेविकहरुका प्रतिनिधि ख्रुश्चोभ र व्रेजनेभहरुले स्टालिनको नीति र सिद्धान्तहरु उल्टाए, कम्युनिष्ट अन्तराष्ट्रवाद त्यागे, चीन, मंगोलिया, पूर्वी युरोप र देश भित्रकै रुस बाहेकका अरु गण राज्यहरुमा उत्पीडन र शोषणको नीति लिए र तनावपूर्ण सम्बन्धा रहे । लेनिनको शवसँगै राखिएको स्टालिनको शव पनि फालियो । युगोश्लोभिया र अफगानिस्तानमाथि शसस्त्र आक्रमण गरियो । यी सबै कुराहरु स्टालिन माथिको हत्या नै हो ।
स्मरणरहोस् मानव जातिको इतिहासकै सर्वोच्च कमाण्डर, व्यवहारतः कम्युनिष्ट अन्तराष्ट्रवादका प्रणेता, दोस्रो महायुद्धका खलनायक हिटलर, मुसोलिनी र तोगोका शक्ति र स्रोतहरुलाई नष्ट गरी युरोप र एशियामा शान्ति छाउने महादुत, पूर्वी युरोप मंगोलिया र चीनको मुक्ति र समाजवादी समाजको विकासलाई भारी योगदान पुर्याउने युगान्तकारी वाहक जोसेफ स्टालिनको निधन भएको आज ६६ वर्ष छ महिना १० दिन भयो । हामी इतिहास मै पहिलो पाली यो आवाज उठाउँदै छौ कि जोसेफ स्टालिनको मृत्यु कसरी भयो ? किन भयो ? व्यापक सोधखोज हुनपर्छ भन्ने हाम्रो ठहर छ ।
नब्वेको दशकमा सोभियत भूमिको एउटा अंकमा स्टालिनको गार्डको भनाई छापिएको थियो । त्यहाँ गार्डले भनेको थियो ‘बेलुकी पख अरु दुई जनासँग स्टालिन खाना खाँदै थिए । छलफल पनि गर्दै थिए । अचानक स्टालिन टाउको दुख्यो भनेर आफ्नो कोठामा गएर पलंगमा पल्टिनु भयो । तर सधैँको लागि ।’ यो २ मार्च १९५३ को घटना हो । १९५३ फेब्रुअरीको अन्ततिर पार्टीको ठूलो, ऐतिहासिक कार्यक्रममा उहाँले सक्रिय भाग लिनु भई आवश्यक नीति निर्देशन गर्नुभएको थियो ।
केही नभएको व्यक्ति, स्वस्थ्य र तन्दुरुस्त स्टालिनको अचानक कसरी निधन हुन्छ ? जीवित हुँदा हत्या गर्न नसकेको खुनीहरु मृत्युपछि हत्या गरेका घटना स्पष्ट छ । अब यहाँ सवाल उठछ । स्टालिनसँगै बेलुका खाना खानेहरु को को थिए ? स्टालिनका अर्को उत्तराधिकारी ‘गार्डहरु, भान्सेहरु, सहयोगीहरु सबैको डायरीहरु, आत्म वृतान्तहरुबारे सोधखोज हुनुपर्छ । यो जिम्मेवारी मूलतः रुसी स्टालिन भक्त सच्चा कम्युनिष्टहरुको हो ।’
स्मरणहोस्, सामाजिक साम्राज्यवादी खलनायक ख्रुश्चोभ र व्रेजनेभहरु ‘स्टालिनले धेरै मान्छेहरु मारे’ भन्ने हल्ला व्यापक गरे र संसारको वादशाह बन्ने सपना बोकेका पश्चिमा पुँजीवादी, साम्राज्यवादीहरुले पनि थुपै्र कल्पित र झुठ हल्लाहरु अझैसम्म गरिरहेछन् । तिनको भ्रममा परेर थुप्रै न्यायप्रेमी मान्छेहरु पनि गुमराहमा छन् । तर स्टालिन मानवजाति कै सर्वोच्च र विशिष्ट कमाण्डर हुन्, जोसँग तुलना गर्न लायक आजसम्म कोही जन्मेकै छैनन् ।
जहाँसम्म मान्छेहरु मारे भन्ने हल्ला छ, त्यो त स्टालिनको एक मार्गदर्शक लेनिनमाथि गोली हान्ने, स्टालिनको उत्तराधिकारी किरोभमाथि गोली हान्ने को हो ? तिनको संगठन भनौँ ट्राटस्कीका मान्छेहरु सफाया गर्नैपथ्र्यो । स्टालिनले त्यो गर्न नसकेको भए सम्भवतः संसार आजसम्म जर्मन, इटली र जापानको कब्जामा हुन्थ्यो होला । मार्क्सवाद र साम्यवादको प्रचार पनि संसारमा आज झै हुन्थेन होला । अनि चीनको वर्तमान सम्बृद्धि र विश्व रंगमञ्चमा उसको सशक्त र प्रभावशाली उपस्थिति रहन्थेन होला । तसर्थ जनताका दुश्मनहरुले महान स्टालिनबारे जतिसुकै भ्रम र अफवाह फैलाए पनि न्यायप्रेमी, शान्ति प्रेमी र आफूलाई कम्युनिष्ट भन्न मन पराउने व्यक्तिहरु यसमा स्पष्ट हुनुपर्छ ।
हामी फेरि कमरेड सि जिन पिङ कै भनाईमा फर्कौं, ‘व्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरुले कम्युनिष्ट पार्टीको सदस्यता लिन हुँदैन ।’ यसको मूल मर्म के छ भने चिकपाका सदस्यहरुका र उनीहरुको परिवारका लागि पार्टीले, न्यूनतम आवश्यकताको परिपूर्ति गरिदिएको छ । जुन सदस्यहरु जहाँजहाँ छन् भनौं सरकार, सेना, उद्योग, खानी, कृषि फर्म भनौँ राज्यको जहाँजहाँ छन त्यहाँत्यहाँ पार्टीको नीति र उद्देश्यहरु कार्यान्वयन गरुन् । अरु लोभ लालचमा लाग्दा आफ्नो कर्तव्यहरु भुलिन्छ र पार्टी र राज्यको लक्ष्य र उद्देश्यहरु प्राप्त हुन सक्दैन भन्ने ठहर हो ।
यहाँ सवाल उठ्छ समाजका अन्य गैह्रपार्टी सदस्यहरु जो व्यापार, उद्योग, फर्महरु सञ्चालन गर्दछन् वा तिनका माथिल्ला स्तरका कर्मचारीहरु पनि निजी राम्रा गाडीहरु आवास, स्तरीय कपडा, खाना लगायतका कुराहरु उपल्लो दर्जाका भएको देखेपछि कम्युनिष्ट पार्टीका सदस्यहरुका मनमा कस्ता कुराहरु उब्जन्छन् ? निश्चित छ उनीहरुका मन मस्तिष्क चुलबुल चुलबुल र भाँडभैलो हुन्छ । किनकि परिवारको श्रीमती, वा, आमा, छोराछोरीहरु सवै एकै स्वरमा चिल्लाउन थाल्छन । ‘तिमी पार्टीमा लागेर के भयो ? पार्टीमा नलागेर पनि फलानाले त्यति राम्रो घर, आवास, गाडी, कपडा, खाना सारा सुविधाहरु पाइरहेछन् ।’
अनि के गरोस् त त्यो कम्युनिष्टले ? भ्रष्टाचार, अनियमितता, अपचलन, बेरुजी, तस्करहरु, गुण्डाहरु, लुटेराहरु, हत्यारा, अपराधीहरुलाई छुटाउन, जोगाउन, बचाउन पनि लाग्छन् । पदको दुरुपयोग गरेर न्यायाधीश र प्रहरी प्रमुखहरुलाई पनि दवबवमा पारेर, थर्काएर, त्यस्तै परे तिनलाई सरुवा, बढुवा, निलम्बन सबै थोक गरेर, राम्रो आम्दानी गर्न र डाक्टर, इञ्जीनियर, वकिल, शिक्षक, प्रोफेसर अनि सरकारी उच्च ओहदाका कर्मचारीहरु, विदेशी कुटनीतिज्ञहरु झैं जिउन । घरका बाआमा, छोराछोरी, श्रीमतिहरुलाई चित्त बुझाउन । वर्तमान चीनको समाजवादी समाजको कम्युनिष्टहरुको समस्या हो, यो ।
सन् १९१७–२० र १९४१–४५ को रुसी क्रान्ति र गृहयुद्ध अनि मुक्तियुद्धमा संलग्न लालसेना र कम्युनिष्टहरु अनि चीनको क्रान्तिमा भनौँ चिङ काङ सान पहाडको संघर्ष ९१९२८–३४० मा भाग लिने योद्धाहरु, लम्बे अभियान ‘९१९३४–३६० संलग्न लाल सेनाहरु, जापानी साम्राज्यवाद विरुद्ध मुक्ति युद्धामा लडने जनमुक्ति सेनाहरु ९१९३७–४५० र मुक्ति संग्राम ९१९४५–४९० मा होमिएका करोडौँ योद्धाहरुमा के आशा र विश्वास थियो भने, संग्राममा आफू सहिद भए पनि नेतृत्वले भनौँ पार्टीले राष्ट्रको, जनताको र आफ्नो परिवारको पनि पूर्ण र उच्च ध्यान दिनेछ ।
हुन पनि क्रान्ति सम्पन्न पछि कम्युनिष्ट पार्टीले सहिदहरुका परिवारहरु, घाइते अपाङ्गहरु र अरु सम्पूर्ण कुराहरुमा मध्यनजर राखेर आर्थिक भौतिक कुराहरु उपलब्ध गराएका थिए । साथै विकास निर्माणका कुराहरु पनि रफ्तारसँग गरेका थिए, रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले क्रमशः स्टालिन र माओका नेतृत्व कार्य कालमा ।
उपरोक्त कुराहरु भनौँ भौतिक सुविधाका कुराहरु भाडाका सेनाहरुका लागि पनि व्यवस्था गरेका हुन्छन् । ब्रिटीस र भारती पुँजीवादी शासकहरुले त्यस्तो गरेका छन् र प्राय सबैले गरेका हुन्छन् । तर कम्युनिष्ट योद्धाहरुका लक्ष्य र उद्देश्य चाहिँ सिङ्गो संसारका परिश्रमी वर्गका भनौँ विश्वव्यापी मजदुर, किसान, महिला, दलित र उत्पीडित वर्ग र समुदायको मुक्ति र स्वाधिनता आफू संलग्न क्रान्तिमा निहित छ भनेर लडेका हुन्छन् । यो मानेमा मानवजातिको इतिहासमा कम्युनिष्ट लालसेना, जनमुक्ति सेनाहरुका स्थान पनि सर्वोच्च छ । कुनै पनि धार्मिक युद्ध, क्षेत्रीय युद्ध, जातीय युद्ध, रंगीय युद्धका योद्धाहरुसँग कम्युनिष्ट योद्धाहरुका रगत, पसिना र आँसु तुलना गर्न सकिन्न ।
यहाँ सवाल त कम्युनिष्टहरु किन बिग्रन्छन् भन्ने छ । परिवार एकनिष्टमा रहने अनि आदर्श कम्युनिष्टको आशा गर्ने हुन सक्दैन नी । अब परिवार पनि आधुनिक सामूहिक परिवार निर्माण गर्नपर्छ । तब त्यहाँ हरेक व्यक्ति स्टालिनले भने झैँ ‘विशेष धातुले बनेको मान्छे’ जन्मने छ, सिर्जना हुने र संसार भरी फैलने छन् ।
जसका लक्ष्य एकमात्र विश्व साम्यवाद हुन्छ र त्यसको लागि सम्पूर्ण कुराहरु अर्पण गर्न तयार हुन्छ । कमरेड सि जिङ पिङले १९औं पार्टी अधिवेशनमा कम्युनिष्टहरु बारे जुन शब्दहरु व्यक्त गर्नुभयो । त्यसलाई विश्वव्यापी, सैद्धान्तिककरण र व्यवहारिकरण गरेर जान सके ऐतिहासिक घटना हुनेछ । ‘१२ वर्षपछि खोलो पनि फर्केर आउँछ’ भने झै हुनेछ । उहाँ स्टालिन र माओको समकक्षको नेता बन्ने पथमा लागेको सिद्ध हुनेछ ।