• मंसिर १२ २०८१, बुधबार

तिलिङ्गटार माविमा विद्यालय बस हस्तान्तरण र कम्प्युटर प्रयोगशाला उद्घाटन (तस्बिरहरु)

भाद्र २९ २०७८, मंगलवार

काठमाडौँ । राजधानीको टोखा नगरपालिका धापासीस्थित सामुदायिक विद्यालय तिलिङ्गटार माध्यमिक विद्यालयलाई सो नगरपालिकाको वडानम्बर ७ को कार्यालयले विद्यालय बस हस्तान्तरण गरेको छ । साथै एक कार्यक्रमका बीच विद्यालय बस हस्तान्तरण तथा कम्प्युटर प्रयोगशालाको उद्घाटन सम्पन्न गरिएको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा बस हस्तान्तरण तथा प्रयोगशाला कार्यक्रम सम्पन्न भएका हुन् । आधारभूत र माध्यमिक गरि दुइटा छुट्टाछुट्टै भवन रहेको सो विद्यालयको माध्यमिक तर्फको भवनमा विद्यालय बस हस्तान्तरण गरि प्रमुख अतिथि, अतिथि लगायत विद्यालय पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरु पञ्चेबाजा सहित नाच्दै रमाउँदै आधारभूत भवनमा आई त्यहाँ रहेको नवनिर्मित कम्प्युटर प्रयोगशाला उद्घाटन गरिएको हो ।

विद्यालय बस हस्तान्तरण गर्नुका साथै कम्प्युटर प्रयोगशाला उद्घाटन पछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख अधिकारीले भने, ‘राजधानीमा अवस्थित भएर तिलिङ्गटार माध्यमिक विद्यालयले जसरी प्रगति गरेको छ, यसबाट नेपालका सबै सामुदायिक विद्यालयले सिक्नुपर्ने छु।’  सामुदायिक विद्यालयको उन्नती तथा प्रगतिमा आफू नेतृत्वको नगरपालिका सधैं साथमा रहने अधिकारीले बताए ।

कार्यक्रममा विशेष अतिथि टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, अतिथि नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम लगायतले विद्यालयको आजसम्मको प्रगतिको लागि बधाई दिएका थिए । कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम पछि विद्यालयमा बन्दै गरेको नमुना विद्यालयको पाँचतले भवन, अत्याधुनिक साथै प्रविधिमैत्री कक्षाकोठाहरु, अत्याधुनिक, बालमैत्री र प्रविधीमैत्री पूर्वप्राथमिक कक्षाहरु अवलोकन गरेर विद्यालयको समग्र भौतिक र शैक्षिक प्रगतिबारे कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथि साथै सहभागी सबैले जानकारी प्राप्त गरेका थिए ।

कार्यक्रममा उपस्थितहरुलाई प्रधान अध्यापक सरोजकुमार पाण्डेले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नगरपालिकाका वडानम्बर ७ का अध्यक्ष नरोत्तम राना मगरले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रमलाई सहायक प्रधान अध्यापक ध्रुर्व अर्यालले संचालन गरेका थिए । कार्यक्रमकाबीच विद्यालयमा ३५ वर्षे सेवा अवधी पार गरेर उमेर हदका कारण सेवा निवृत्त भएकी शिक्षक सावित्री ढकाललाई प्रमाणपत्र प्रदान गरेर बिदाई गरिएको थियो ।

हेरौं कार्यक्रमका थप तस्बिरहरु⇓