हामी हरेक वर्ष आश्विन १ गते विशेष विश्वकर्मा पूजा र वास्तु दिवसका रुपमा यथाशक्य उत्सव मनाउँदै बिताउने गर्दछौँ । मानिसले प्रसस्त आर्थिक विकास चाहेको हुन्छ । न्यूनतम आवश्यकतादेखि सम्पन्नता र विलासिताको जीवनशैलीसम्म मानवजीवनमा अर्थको धेरै महत्व हुन्छ । अर्थ, अर्थोपार्जन र अर्थको उपयोगदेखि उपभोगसम्मको अध्ययन र विश्लेषण अथर्ववेदले गर्दछ । अथर्ववेदभित्र रहेको वास्तुशास्त्रले वस्तुको ज्ञान र विज्ञानको उपयोगितालाई महत्व दिन्छ ।
धन, वैभव, उत्पादन र वितरण, रोजगारीको सिर्जना, आर्थिक लगानी, त्यसको प्रतिफल, आर्थिक वृद्धिदर, पदार्थको अत्यधिक प्रयोग, घर, भवनहरूको सजावटमा विभिन्न धातुहरूको प्रयोग र तिनको ब्यवस्थिति, फलाम–काठ–सिसा–माटो–ढुंगा आदिको प्रयोगको अध्ययनदेखि तिनको गुणस्तर, भूमिशोधन, भूमिको शल्यक्रियासम्म र त्यसको समय मापनसम्मको अध्ययनकार्य वास्तुशास्त्रले गर्दछ । औद्योगिक क्षेत्रको लागि सुहाउँदो वातावरण, त्यसको अनुकूलको भवन निर्माण, आवासीय प्रबन्ध, विद्युतीकरण, अन्य इलेक्ट्रोनिक्स विषयको ब्यवस्थापन, एयर कण्डिसन, रेफ्रिजिरेटर, ब्यापारिक कार्यक्षेत्र, उद्यमशिलताको वातावरण, रोजगारीको सिर्जना, पर्यटन प्रबद्र्धनदेखि तालतलैयाको ब्यवस्थिति र मठमन्दिर–प्राचीन स्मारकहरूको अनुसन्धान, शिल्पी कार्यसम्म र ती सबै वस्तुहरूको रखाइ, सजावट पद्धति, विधान र प्रक्रियासमेतलाई ब्यवस्थित गराउन प्रेरित गर्छ ।
बैंकिङ्ग सेक्टरहरूका लागि सेवा दिने भवनहरू, सेवाग्राहीहरूले सेवा लिन सक्ने वातावरणको पहिचान, आधुनिक पाठशालाहरूको निर्माण, प्रयोगशालादेखि सभागृह, कक्षाकोठा तिनको सजावटका विषयदेखि घर, महलहरूमा हुने आधुनिक शौचालय तिनको आकार प्रकारसम्मको अध्ययन वास्तुशास्त्रले गराउँछ । ग्राम, नगर, नगरोन्मुख स्थितिदेखि आधुनिक सरसफाइसम्म र उच्च राजमार्गहरूको लागि आवश्यक पूर्व तयारीसमेतको सजगता यस शास्त्रले अपनाउँछ । आधुनिक ढल, पानी प्रशोधनको विषय, विकासको लहर, समानुपातिक वितरणसम्मको कार्यक्षेत्र अङ्गालेको अथर्ववेदलाई बिर्सेर हामीले आर्थिक कल्याण गर्न सक्तैनौं आर्थिक विकास नहुँदा, आर्थिकस्तर बृद्धि नहुँदा समग्र राष्ट्र विकास र निर्माण कार्य नै पछि पर्न जान्छ ।
अथर्ववेद अन्तर्गतको स्थापत्यवेद वास्तुशास्त्र झैं मानवजीवनमा सामवेदको पनि उत्तिकै महत्व छ । सर्वप्रथम वास्तुअध्ययन र यसको पद्धतिमा रहेर व्यक्तिले जीवन संचालन गर्ने क्रममा उसलाई मनोविनोद पनि आवश्यक हुन्छ, क्रीडा, समयको परिपालन, उत्साह, नवीन ऊर्जा, उत्साह, श्रीवृद्धिका साथमा सङ्गीत, कला, साहित्य, इन्द्रिय भोगको चिन्तन, विषय भोगको चिन्तन, प्यारो वस्तुको परिकल्पना, गतिशील सोचाइ, ठाउँ, परिवेश र समय अनुसारको इच्छा र आकांक्षाहरूको पूर्ति, यी सम्पूर्ण कार्यक्षेत्र सामवेदका हुन् । अथर्ववदेको विश्वासले सामवेद प्रयोगस्थल– पूजाकोठा, अथर्ववेदको प्रयोगस्थल–बैठक कोठा र भान्छा कोठा, ठीक र ब्यवस्थित नभए घरभित्र र घरबाहिरको वातावरण ठीक हुँदैन । घर सजावटमा ब्यक्तिको आफ्नै चाहना भए पनि पद्धति र परम्परा अनि प्रक्रिया ब्यवस्थित नभए सोचे जति ज्ञान र विज्ञानको सदुपयोग हुन सक्तैन ।
मानवजीनमा पुरुषार्थ आवश्यक हुन्छ । शुरता, वीरता, रक्षा, शान्ति र सद्भाव, भाइचारा, स्नेह, दया, करुणा, आत्मवल, पराक्रम, परिपक्वता जीवनका अपरिहार्य आधारहरू हुन् । नेतृत्वको चयन, सक्षमता, कुशल नेतृत्व, मान पदवी, प्रतिष्ठा सारा गौरव यजुर्वेदका कायक्षेत्रहरू हुन् । आत्मशान्ति, धर्मको भावनात्मक पक्ष, कर्तव्य परायणता, उपकारी भावले व्यक्ति, समूह, समुदाय र राष्ट्रसेवामा समर्पित हुनु राष्ट्रनिर्माण र पुनःनिर्माणमा समर्पित हुनु ऋग्वेदका गुणहरू हुन् । यसरी हाम्रा पूर्वज वेदका ज्ञाता पैल, वैशम्पायन, जैमिनि, सुमन्तु आदि मन्त्र द्रष्टा ऋषिहरूको समष्टि वेद र वेदले स्थापना गरेकोे वास्तुपद्धति आजको शताब्दीमा झन् बढी महत्वपूर्ण बनेको छ ।
औद्योगिक भवन, कलकारखाना, व्यापारिक स्थल सकेसम्म पूर्व, उत्तर वा ईशान कोणतर्फ फर्केको हुनु लाभप्रद छ । औद्योगिक स्थलहरूको वायव्य तर्फको ढोकाबाट तयारी सामान निश्कासन गर्न सके उत्पादित सामानहरूको वितरण छिटो छिटो हुन्छ । औद्योगिक उत्पादन स्थलभन्दा कार्यालय भवन उत्तर या पूर्व दिशामा राख्नु पर्छ । कारखानाको आकार वा उचाइभन्दा प्रशासनिक कार्यालयको आकार उचाइ ठूलो वा अग्लो हुनु हुन्न । आफ्ना सेवाग्राही वा ग्राहकसँग व्यापारिक वा आर्थिक कुराकानी गर्दा उत्तर या उत्तर पूर्व या पूर्व मुख फर्की गर्नुपर्छ । यसो गर्दा बढी लाभ हुन्छ ।
औद्योगिक कारखानाका मेसिन, उपकरणहरू कारखानाको नैऋत्य, पश्चिम या दक्षिणतर्फ राख्नु पर्छ । कच्चा पदार्थ लगायत सबै गह्रौँ सर सामग्रीहरू दक्षिण या पश्चिम दक्षिणतिर राख्नु पर्छ । उत्पादित तयारी सामान भने वायव्यतिर राख्नुपर्छ । बिजुलीका सरसामान, जेनेरेटर, ब्वाइलर, मिटर, ऊर्जा सम्बन्धी सर सामान अग्निको दिशा आग्नेयतर्फ राख्नु पर्छ । कुलर भने पश्चिम वायव्यतिर राख्नु पर्छ । चिम्नी भट्टीहरूको व्यवस्था भने आग्नेयतिर गर्नुपर्छ । यसोगर्दा पूर्व आग्नेय अग्लो हुने स्थिति निराकरणका लागि चिम्नीभन्दा अग्लो कुनै सामान पानी ट्यांकी वा लट्ठा नैऋत्यतर्फ राख्दा वास्तुदोष कम हुन्छ ।
घर, कार्यालय, व्यापारिक महल वा सार्वजनिक निर्माणकार्य गर्दा पूर्व, उत्तरतर्फ सकेसम्म बढी खुल्ला गर्नुपर्छ । पानी ट्यांकी, धारा, जमिनमुनिको पानी आपूर्ति स्थिति आदि पूर्व उत्तर क्षेत्रमा नै राख्नु पर्छ । बरण्डाहरू पूर्व वा पूर्व उत्तर बढी हुनुपर्छ । तल्लापिच्छे पिउने पानीको प्रबन्ध उत्तर पूर्वतर्फ नै गर्नुपर्छ । पूजा कोठा पनि पूर्व उत्तर नै गर्नुपर्छ । अण्डर ग्राउण्ड भवनहरू बनाउँदा पनि पूर्व, उत्तर, ईशानतर्फ नै फर्काउने कोशिस गर्नुपर्छ । सवारी पार्किङ्ग पनि पूर्व उत्तर नै राम्रो हुन्छ । अण्डर ग्राउण्डमा पनि दक्षिण पश्चिम क्षेत्र अग्लो नै हुनुपर्छ । पश्चिम दक्षिण दिशातर्फ अग्लाइ बढी, खुल्लाक्षेत्र कम र पूर्व उत्तरतर्फ होचाइ बढी र खुृल्लाक्षेत्र पनि बढी नै हुनु पर्छ । भवनका सिँढीहरू, लिफ्ट दक्षिण वा दक्षिण पश्चिमतिर नै हुनुपर्छ । व्यापारिक पसलहरूमा सरसामान सजाउँदा दक्षिण पश्चिमतिर अग्ला र गह्रौँ सामानहरू राख्नुपर्छ । उत्तर पूर्वतिर होचा र हलुका सामान राख्नुपर्छ ।
पसलमा देवदेवीको मूर्ति राख्दा ईशान दिशामा राख्नु पर्छ । मूर्तिका पीठभाग पूर्व र मुख भाग पश्चिमतिर फर्केको हुनुपर्छ । सटरहरू धेरै भए पूर्व उत्तर मुख फर्केको सटरलाई बढी समय खुल्ला राख्नु पर्छ । पसलको भुइँ पनि उत्तर, ईशान वा पूर्वतिर केही होचो हुनुपर्छ । प्रवन्धक, मालिक वा औद्योगिक, व्यापारिक भवनका मुख्य व्यक्ति निर्देशकको कोठा दक्षिण पश्चिमतिर हुनुपर्छ र मुख भने पूर्व उत्तरतिर फर्कने गरी बस्ने प्रबन्ध मिलाउनुपर्छ । कोठाका ढोकाहरू पनि पूर्व उत्तरतर्फ नै बढी हुनुपर्छ ।
चार वेदमध्ये अथर्ववेदको उपज हो स्थापत्यवेद । स्थापत्यवेदको उपज हो वास्तुशास्त्र । वास्तुशास्त्रले पुराणसँग प्रत्यक्षतः सरोकार राख्ने गर्छ । पुराण १८ वटा र तिनका उपपुराणहरु पनि १८ वटै छन् । पुराण भनेपछि पुराना कुरा भनेर नाक खुम्च्याउने संस्कृति हुर्केको छ । पूर्वीयशास्त्र, पुराण, आगमशास्त्र, वेदको अध्ययन हिजोआज जर्मनीमा हुनेगरेको छ । एसियाका संभ्रान्त मुलुकहरु थाइलैण्ड, सिंगापुर, चीनमा यसको खोजी बढेको छ । भरतखण्ड, जम्बुद्वीप, भारतवर्ष त यसको केन्द्रीय भाग हुँदै हो । वेद, पुराणका रचयिता व्यास, पराशर, वशिष्ठ आदिका तपस्थली नेपालको भूभाग हो तिनका नामबाट हिजोआज क्षेत्र, नगर, ग्राम, उद्यानहरुको नामकरण समेत भएको पाइन्छ । नामकरण मात्र भएर तिनको जगेर्ना हुन सक्दैन । किन्तु नाम अनुसार कार्य गर्नु पनि हाम्रो दायित्व हो ।
मनुस्मृतिले सामाजिक व्यवस्थापन र सन्तुलन कायम राख्न अनेकौँ प्रयास गरेको छ । मनुस्मृतिले नै स्त्रीहरुको रक्षा, संरक्षणदेखि स्त्रीहरुको पूजा हुँदा देवताहरु प्रसन्न रहने बताएको छ । असहाय, दीन, दुःखीहरुको सेवालाई मानव धर्म बताएको छ । मत्स्यपुराण, अग्निपुराणले वास्तुशास्त्रको थप चर्चागर्दै गृह निर्माण, आकार, प्रकार, प्रवेशसमय, जीर्णाेद्धारका विधि, मानव जीवनवरिपरि रहने मठ, मन्दिर तिनको आकार, प्रकार, आयु, प्रतिष्ठा र प्रवेशविधि, निषिद्धवस्तुहरु, तिनको पूजापद्धति, प्रक्रिया, योग्यता, दिशानिर्धारण, तौल, उचाइ, गुणस्तर र तिनका सबल एवं दुर्बलपक्ष, कमी कमजोरीबाट हुने सम्भावित खराबी र तिनको उपचारात्मक र प्रबद्र्धनात्मक सबै कुराहरुको दृष्टिगोचर गरेको छ ।
ज्योतिष विद्या तिनका स्वरुप, गति निर्धारणदेखि दैवी ऊर्जा र सकारात्मक ऊर्जा प्राप्त गर्न घर, भवन निर्माणको थालनी, सर्ने समय र प्रक्रिया, शिलान्यास र वास्तुविधि, झ्याल, ढोकाको स्वरुप र गुणस्तर, घरको स्वरुप, उचाइ, जमिनको शल्यक्रिया र उपचार, तलाको स्वरुप, जग खन्दा अपनाउनुपर्ने विषयदेखि घरको स्वरुप तयारपछि गृहप्रवेशसम्म, प्रक्रिया, शुभसङ्केत र घर निर्माणपछि घरपरिवारको कल्याण, आयु, श्री, कीर्ति वृद्धि, सम्पत्तिको रखाइ, सेफको स्वरुप, तौल, दिशा निर्धारणदेखि सौभाग्य लक्ष्मीको, भोग लक्ष्मीको, आयु लक्ष्मीको, कीर्ति लक्ष्मीको, यश वृद्धिदेखि उपकार सम्म र दानको महिमादेखि स्वस्थ जीवनशैली सम्मको चर्चा गरेको छ ।
तनमा कान्ति, मनमा शान्ति कायम गरी जीवनमा यश, आनन्द र परमानन्द प्राप्तिको अवस्थासमेतको बोध गराएको छ । मानवजीवन पशुपञ्क्षी झैँ केवल बाँच्नुमात्र नभएर बचाउनु पनि हो । अतएव उपकार, सेवा, प्रतिष्ठा, सामाजिकीकरणसम्मका कार्यहरुमा वैदिक ग्रन्थहरुले जोड दिएका छन् । अथर्ववेदले अर्थशास्त्रको अध्ययन, सम्पत्तिको अध्ययन सदुपयोगको अध्ययन गरेको छ । भोगशास्त्र भएर पनि योगशास्त्रको रुपमा भौतिक सम्पत्तिलाई प्रयोग गर्ने गरी सरसल्लाह दिने अथर्ववेदले स्थापत्य वैदिक परम्पराअनुसार वास्तुशास्त्रको यथार्थ पहिचान, अध्ययन, विश्लेषण गरी मानवजीवनलाई इहलौकिक सुखसन्तोषका साथै पारलौकिक सुख आनन्दप्राप्तिको मार्गसमेत प्रशस्त गरेको छ ।
स्थापत्यवेदको सामान्य अध्ययनले वास्तुशास्त्रको विश्लेषण पूरा हुँदैन । वैदिक समूहको सम्पूर्ण शास्त्रहरुको सामान्य जानकारी हुन जरुरी छ । सम्पूर्ण आगमशास्त्रहरु यसका हाँगाबिँगाहरु हुन् । चार वेदको सार पाचौं वेद महाभारत हो । महाभारतको उद्योगपर्व, वनपर्वहरुले जीवन र जगत्को विशद् चर्चा गरेकाछन् । भविष्यपुराण, देवीभागवत, आयुर्वेदशास्त्र यसको चरकसंहितादेखि ऋग्वेद, यजुर्वेद र सामवेदसम्मको सामान्य जानकारी पनि जरुरी छ । सामवेदको उपज हो– सङ्गीत, कला, नृत्य, गायन, वाद्यवादन, सङ्गीतका स्वर, ध्वनिदेखि सङ्गीत र कलाका आदिमसाधन बाँसुरी, मुरलीदेखि आधुनिक साजसज्जा सहितका यन्त्रउपकरणहरु ।
वास्तुशास्त्रको विषय वास्तुकला हो, कलाकारिता हो, कार्यकौशलता हो र मानवसभ्यता पनि हो । उद्देश्यका बिन्दुहरुसम्म पुग्न मानवजीवन साधनामय हुन जरुरी छ । यस्ता ग्रन्थ, पुराणहरुको अध्ययन विश्लेषण, तिनको पद्धति पूजाप्रक्रिया, घरभित्र र घरबाहिर वैदिकचिन्तनको प्रभावकारिता तिनको उपयोग, राख्ने ठाउँ, पूजाकोठादेखि पूजक बस्ने क्षेत्र, उपचारात्मक पूजापद्धति तिनका सरसामग्रीहरुको सूची, समय, सन्ध्यावन्दनका कुरा, बिहानीदेखि सन्ध्यासम्मका प्रक्रिया, रात्रिको अवस्थासमेत सबै विषयवस्तुहरुको सामान्य जानकारी हुन जरुरी छ ।
आयुर्वेददेखि आधुनिक विज्ञानसम्म र गणित शास्त्रदेखि ज्योतिष विद्यासम्मका सामान्य जानकारी वेदज्ञ, कलापारखी, सङ्गीतज्ञ, धर्मज्ञ, मर्मज्ञ, शास्त्रज्ञ, पौराणिक चिन्तक, पथप्रदर्शक, मानवविज्ञानका सामान्य एनोटोमीदेखि गृहभित्र र घरबाहिरको परिवेश, परिस्थितिको विश्लेषक, कुशल, स्पष्टवक्ता, धीर, बुद्धिमान्, योगवेत्ता, ध्यानी, ज्ञानी, देवताको उपासक सुलक्षणले युक्त व्यक्ति वास्तुशास्त्रको पारखी हुन सक्छ ।