काठमाडौं । त्रिभुवन विश्वविद्यालयले थेसिस चोरेको पत्ता लगाउने सफ्टवयेर सञ्चालनमा ल्याएको छ । यो सफ्टवेयर प्रयोगमा आएपछि थेसिस चोरिने प्रक्रिया बन्द हुने आशा गरिएको छ ।
विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार यो वर्षको असार दोस्रो सातादेखि ‘अथेन्टिकेट’ नामक सफ्टवेयर सञ्चालनमा ल्याइएको हो । त्यसो त थेसिस लेखनमा अरुको चोरी गर्ने कुरालाई ‘प्लाजियारिज्म’ वा साहित्यिक चोरी भन्ने गरिन्छ । शोधकर्ता विद्यार्थीलाई त्यसो नगर्नका लागि कक्षा पनि दिइन्छ ।
तर विश्वमा थेसिस चोरी गर्ने कुराले निकै तहल्का मच्चाइरहेको हुन्छ । नेपाल पनि त्यस कार्यबाट अछुतो छैन । हाल त्रिविमा भित्र्याइएको यो सफ्टवेयरले थेसिसको कुन भागको लेखनमा कति चोरी गरिएको छ, त्यो सहजै पत्ता लगाउँछ । चोरी गरिएको थेसिसको भागलाई सफ्टवेयरले प्रतिशतमा देखाउँछ ।
अबका दिनमा विश्वविद्यालयको निर्देशिकाभन्दा बढी प्रतिशत चोरी भएको पाइएमा त्यो थेसिसले मान्यता नपाउने प्रावधान निर्देशिकामा राखिएको छ ।
पछिल्लो पटक व्यवस्था गरिए अनुसार विश्वविद्यालयको निर्देशिकामा थेसिसको ‘परिचय’, ‘पूर्व अध्ययनको समीक्षा’ र ‘अध्ययन विधि’ खण्डमा २५ प्रतिशत र ‘निष्कर्ष’, ‘सारंश’ र ‘सिफारिस’ खण्डमा १० प्रतिशतसम्म अरूबाट सार्न पाउने भनिएको छ ।
हाल ‘एमफिल’ र ‘पिएचडी’ तहमा सुरू गरिएको यो व्यवस्था छिट्टै स्नातकोत्तर र सो मुनिका तहमा पनि लगिने तयारी विश्वविद्यालयको रहेको छ ।