• मंसिर ११ २०८१, मंगलवार

पञ्जशीर तालिवानको कब्जामा : के टरेकै हो त गृहयुद्धको संभावना ?

भाद्र २२ २०७८, मंगलवार

काठमाडौं । तालिवानले अफ्गानिस्तानमा कब्जा गर्नका लागि बाँकी रहेको एउटा प्रान्त थियो, पञ्जशीर । उक्त प्रान्तको प्रान्तीय राजधानी तालिवानको कब्जामा परिसकेको तालिवानको दाबी रहेको छ ।

काबुल कब्जा गरिसकेपछि तालिवानका लागि पञ्जशीर एउटा यस्तो चुनौती थियो, जो तालिवानका लागि हारजीतको निर्णायक मोर्चा थियो । यो मोर्चामाथिको विजयले ढिलो गरी तालिवानी देशव्यापी विजयको सन्देश दिएको छ ।

तर पनि तालिवानका लागि ‘फलामको च्युरा’ साबित भएको पञ्जशीरका लडाकु नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले प्रतिरोध युद्ध जारी रहेको र पञ्जशीर पूरै तालिवानको कब्जामा नआएको दाबी गरिरहेका छन् ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगानिस्तानको अन्तिम गढ पनि अब सरकारको कब्जामा आइसकेको छ । पञ्जशीरको प्रादेशिक मुख्यालयमा तालिवानको विजयको झण्डा फहराइएकाले हारजीतको टुंगो लागिसकेको अन्तर्राष्ट्रले स्वीकार गरेको देखिन्छ ।

यो विजयसँगै सिंगो देश आफ्नो नियन्त्रणमा आएको सन्देश प्रवाह गरिरहेको छ, तालिवान । उनीहरुले देशलाई युद्धको दलदलबाट बाहिर निकालेको दाबी गरिरहेका छन् ।

उता प्रतिरोध युद्ध जारी रहेको दावा गरिरहेका एनआरएफ्का प्रवक्ता अलि मैसमका अनुसार तालिबानले पञ्जशीरमाथि पूरै कब्जा जमाएको छैन । यसले गर्दा एउटा प्रश्न उठ्ने गरेको छ– के अफगानिस्तानले संभावित गृहयुद्धबाट पार पाइसकेको हो त ?

प्रश्नमा केही गम्भीर कुराहरु लुकेका छन् । पहिलो त तालिवानले यति लामो समयसम्म पनि आफ्नो सरकार घोषणा गर्न सकिरहेको छैन । सरकार गठनमा किन यति धेरै ढिलाइ गरिएको हो, योबारे तालिवान मौन छ । यसले तालिवान भित्रको आन्तरिक मतभेद र रस्साकस्सीलाई बिष्फोटनको अवस्थामा पुर्याउन लागेको त होइन भन्ने देखाएको छ ।

दोस्रो कुरा, अफगान सरकारमा महिला सहभागिताको विषयलाई लिएर प्रदर्शन भैरहेका छन् । महिला स्वतन्त्रताको कुरा तालिवानी धार्मिक कट्टरताका लागि आधारभूत परिवर्तको कुरा जस्तै हुन्छ । तालिवानले अनुशरण गर्ने कानुन मूलतः शरिया कानुन हो । यसमा महिलालाई जेलको चरीझैं बनाएर राखिएको हुन्छ । लिंग भेदको अति रुढीवादी शासन चलाउन चाहन्छ तालिवान । यही अवस्थामा केही जायज मागसहित महिलाको विषयलाई लिएर भैरहेका प्रदर्शनलाई वार्ता र एजेण्डा सम्बोधन मार्फत् साम्य पार्न सकिएन भने एकदिन बिष्फोटक बनेर आउने निस्चितजस्तै छ ।

तेस्रो कुरा, तालिवानले आफूहरुको सम्बन्ध पाकिस्तानसँग राम्रो रहेको बताउँदै गर्दा सडकमा सांकेतिक प्रदर्शनहरु भैरहेका छन्, त्यो पनि छिमेकी देश पाकिस्तान विरुद्ध । प्रदर्शनमा काबुल सरकार पाकिस्तानपरस्त नहोस् भन्ने भावहरु झल्किइरहेका छन् । पाकिस्तानलाई हस्तक्षेपकारीका रुपमा चित्रित गरिदै लगिन थालेको छ ।

बीस वर्षपछि भर्खरै मात्र काबुल छाडेको अमेरिकाले पनि अफगानिस्तान गृह युद्धमा फस्नसक्ने भनी बारम्बार चेतावनी दिइरहेको छ । पञ्जशीर उपत्यकामा रहेका तालिवान प्रतिरोधी समूह लगायतका अन्य कतिपय सशस्त्र समूहलाई विदेशीको भरपूर सहयोग रहिआएको छ । स्थिरता कायम नहुँदासम्म अफगानिस्तान संकटमा रहिरहेको पनि यसले संकेत गरेको छ । ‘साम्राज्यवादको चिहान’ भनेर चिनिए पनि साम्राज्यवादी शक्ति अफगानिस्तान पस्न र हमला गर्न छाडेको इतिहास छैन ।

त्यसैले पनि भनिन्छ होला, ‘नर्क जाने बाटो पनि असल नियतले बनाइएको हुन्छ ।’ यी सबै सांकेतिक कुराहरुले काबुलको संभावित चुनौतीलाई सुक्ष्म तरिकाले अभिव्यक्त गरिरहेका छन् ।