• मंसिर १२ २०८१, बुधबार

पुरुषसरह अधिकारको माग गर्दै राष्ट्रपति भवन अगाडि उत्रिए अफ्गानी महिला

भाद्र १९ २०७८, शनिबार

काठमाडौं । तालिबानीहरुको काबुल पुनरागमनपछि सन्त्रासले छाएको काबुलको सडक प्लेकार्ड बोकेका महिलाले क्षणभरमै खचाखच भरियो, त्यो पनि राष्ट्रपति भवन अगाडिको मुख्य सडक । भनियो– ‘महिलाले प्रदर्शन गरे ।’ केही मानिस गम्भीर गए, धेरै मानिसहरु हाँसे ।

उनीहरुका लागि महिला सडकमा उत्रनु सुहाउने कुरा होइन । यसका बारेमा त पुरुषहरुले सोचिहाल्छन् । महिलाले किन यति विधि दु्ःख गर्नु ? फेरि तालिवानको बन्दै गरेको सरकारमा महिला सहभागितालाई ग्यारेन्टी गरिने भनिएकै छ ।

तर पनि तालिबानी शासनको त्रासका बीच अफगानिस्तानमा महिलाहरू सडकमा उत्रिए । शुक्रबार राष्ट्रपति भवन अगाडि भएको प्रदर्शनले नयाँ सन्देश दियो, महिला सहभागिता ग्यारेन्टी गर्नुपर्ने । प्रदर्शनमा केन्द्रीय सरकारमा महिलालाई पूर्ण जिम्मेवारीसहित सहभागी गराउन माग गरिएको थियो ।

मन्त्रिपरिषदमा महिला सहभागिता प्रदर्शनको मुख्य माग थियो । काबुल सत्तामाथि तालिबानको सत्तारोहणसँगै संसारभरबाट महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त भैरहेका छन् । ठीक यसै बेलामा केही महिलाले प्रदर्शन गर्ने साहस देखाएर विश्वको सहयोग मागिरहेका छन् ।

प्रत्यक्ष अमेरिकी सैनिक सहयोगमा भए पनि अफगानी महिलाहले खुल्ला परिवेशमा बीस वर्ष लामो समय व्यतित गरिसकेका छन् । उनीहरुले निर्वाध रुपमा पुरुषसरह अधिकार व्यवहारमा प्रयोग गरिसकेका छन् ।

त्यसैले उनीहरु आजभन्दा बीस वर्ष अघिको तालिवानी शासन, सरिया कानुन र भोगेका पीडा त्यसपछिका बीस वर्षे खुल्ला शासनसँग तुलना गरिरहेका छन् । बीस वर्ष अगाडिको तालिबानी शासनलाई अफगानी महिलाले एक अध्यारो युग र बर्बर शासनका रुपमा सम्झेर झस्किइरहेका छन् ।

पूरै शरीर ढाक्ने बुर्का पहिरनको अनिवार्यता आज पनि उनीहरुका लागि अत्याशलाग्ने अनुभवका रुपमा रहेको छ । दश वर्षमाथिका बालिकालाई विद्यालय जान रोक लगाई शिक्षा प्राप्तिको मौलिक अधिकारबाट समेत बञ्चित गरिएको मनोवैज्ञानिक आतंक छ उनीहरुभित्र । अहिले पनि तालिबानले देशको शासन इस्लामिक शरिया कानुनअनुसार हुने जानकारी दिएपछि यसले त्रासमय वातावरण सिर्जना गरिरहेको छ ।

(एजेन्सीको सहयोगमा ।)