• मंसिर ११ २०८१, मंगलवार

जन्मसिद्ध अधिकारप्राप्त नागरिकले नागरिकता पाउनु पर्छ: लक्ष्मणलाल कर्ण

भाद्र १८ २०७८, शुक्रबार

तात्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजित भै नेता उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल र अर्का नेता महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि नयाँ पार्टी लोसपाले के कस्ता कार्यक्रम लिएर अघि बढ्ला भन्ने जिज्ञासा सहित समसामयिक विषयमा गोलमेडियान्युज डटकमका संवाददाताले लोसपाका नेता लक्ष्मणलाल कर्णसँग लिएको अन्तर्वार्ताको सारसंक्षेप प्रस्तुत गरिएको छ– सम्पादक ।

१. जनता समाजवादी पार्टी किन विभाजित भयो ?

यो एक वर्ष अघिमात्र जुटेको पार्टी हो । यस अघि त यी दुवै भिन्दाभिन्दै नै थिए । तापनि जुटेर एक ठाउँमा आइसकेपछि निकै आशा जागेको पनि थियो । त्यतिकैमा पार्टीभित्र विवाद उठ्दै गयो । त्यहाँ आधिकारिकताको खोजी भयो । विवाद र तिक्तता बढ्दै जाँदा बस्नै नसकिने अवस्था सिर्जना हुन गयो ।
त्यसपछि अलग अलग बसौं भन्ने भयो । काम आआफ्नै गरौं भन्ने पनि भयो । निर्वाचन आयोगमा पुगेपछि आयोगले यादवजीहरुलाई आधिकारिकता प्रदान गर्यो । यो फैसलामा हामीहरुलाई चित्त बुझेको थिएन । अध्यादेश आएपछि हामीहरु दुई पार्टीमा विधिवत विभाजन हुन पुग्यौं ।

२. फुटाउनकै लागि सरकारी गठबन्धनले अध्यादेश ल्याएको हो भन्छन् त ?

त्यसो त नभनौ । तर अध्यादेश आएपछि नयाँ पार्टी दर्ता भए । हामीले पनि नयाँ पार्टी बनायौं । अहिले जनताका माझमा आएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल यसैको परिणाम हो ।

३. पार्टीको नाम मात्र नयाँ कि संरचना पनि नयाँ बनाउँदै हुनुहुन्छ ?

नयाँ नै हो । संघीयता आफैमा पनि नयाँ संरचना हो । यही अनुसार हामीले पार्टीको सांगठनिक संरचना बनाउन गैरहेका छौं । सुरुमा ३१ सदस्यीय रहेको केन्द्रीय समिति बढाएर ५१ सदस्यीय बनाउने लक्ष्य लिएका छौं ।
शायद यो संख्या सम्मेलनबाट पूरा हुने छ । हामीले केन्द्रीय स्तरका काम गर्न सजिलो होस् भनेर विभिन्न विभाग र संरचनाहरु निर्माण गरेका छौं । पार्टीमा सचिवालयदेखि राजनीतिक व्युरो निर्माण गरिरहेका छौं । प्रादेशिक तथा स्थानीय संरचनाहरु पनि निर्माण गरिरहेका छौं ।

४. नयाँ पार्टी लोसपालाई देशव्यापी संरचनामा लैजाँदै हुनु हुन्छ ?

हाम्रो पार्टी निर्माणको प्रारम्भिक अवस्थामा पनि व्यापक र बिस्तारित नै छ । विभिन्न जिल्लामा यसका सांगठनिक संरचनाहरु छन् । संख्यात्मक रुपमा कतै सानो र कतै ठूला होलान् । तर पनि संगठनले व्यापकता पाउँदै गैरहेको छ ।
अबका दिनमा हामीसँग भएका सबै संगठनहरुलाई क्रियाशील बनाउँदै परिचालन गरिने छ । अहिले हामीहरुले कार्यकर्ताको भेला बोलाएर उनीहरुको अभिमत बुझ्न थालिसकेका छौं ।

५. कस्तो पाउनु भएको छ कार्यकर्ताहरुलाई ?

हाम्रो पार्टीमा ठूलो त्याग छ, बलिदान छ र प्रतिबद्धता पनि छ । कार्यकर्ता आफैमा त्यागी छन् । माथिका नेताहरु कोही यताउति गरेका हुन सक्छन् पनि । तर कार्यकर्ता भने एक ठाउँमा छन् । एकताबद्ध छन् । कार्यकर्ता पंक्ति जस्ताको तस्तै छ ।

६. लोसपालाई मधेश–बेस पार्टी भनिन्छ, देशव्यापी हुन नसकेर पो हो कि ?

एउटा आश्चर्यको कुरा के छ भने हामीलाई मधेश–बेस पार्टी भनेर खुम्च्याउने प्रयास गरिन्छ । गरिदै आएको पनि छ । हाम्रो घोषणा पत्रमा स्पष्ट उल्लेख गरिएको छ कि सम्पूर्ण मधेश, पहाडका जनजाति, महिला, थारु, दलितआदि जो उत्पीडनमा छन्, ती सबैको अधिकारका लागि लड्ने घोषणा गरेका छौं । त्यसैले हामीले हाम्रो पार्टी देशव्यापी छैन र हुन सक्दैन कतै पनि भनेका छैनौ ।

७. मधेशका मुद्दा प्राथमिकतामा राखेकाले मधेश–बेस पार्टी भनिएको हो कि ?

हामीले सबैको सम्मान गरेका छौं । हामी सबैको भाषा संस्कृतिको समान रुपमा सम्मान होस् भन्ने चाहन्छौं । हामीले कुरा गर्ने सबैका लागि, तर हामीलाई मधेश–बेस पार्टी भनेर साँघुरो दायरामा राख्ने किन ? हामीले उठाएको नागरिकताको विषय पनि निकै चर्चा हुने गर्दछ । जन्मसिद्ध अधिकार प्राप्त गरेका नागरिकले नागरिकता किन नपाउने ? देशका नागरिकले नागरिकता पाउनु पर्छ । हामी मधेशमा रहेका नेपालीहरुको बारेमा के विश्लेषण रहेको छ थाह हुन सकेन । हामीले २०४७ सालमै तात्कालीन नेता गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टी खोलिसकेका थियौं ।