कोरोना महामारी भित्रिएलगत्तै भौतिक उपस्थितिमा अध्ययन-अध्यापन गर्न-गराउन नसकी निरन्तर प्रभावित हुँदै आएका शैक्षिक संस्थाहरू अब खोलिने भएका छन् । दुई वर्षदेखि बन्द अवस्थामा रहेका यी संस्थामा अब विद्यार्थीको उपस्थिति देखिने छ त्यो पनि प्रोटोकलका आधारमा । अर्थात्, कोभिड महामारीप्रति सतर्क रहँदै आवश्यक मापदण्ड पूरा गरेर ।
निषेधाज्ञा हटेपछि
केही महिनादेखि निरन्तर जारी भएको निषेधाज्ञा हटाइएपछि यो संभावना आएको हो । कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि नै प्रशासनिक रुपमा पहल लिएर काठमाडौं उपत्यकाका निषेधाज्ञा जारी गरिदै आएको थियो । त्यतिबेला उपत्यकास्थित तीनवटै जिल्लामा लकडाउनको सट्टा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समयमा यसको वृहद् समीक्षासहित बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी गरिँदै आएको निषेधाज्ञामाथि पुनर्विचार गरेको छ ।
निषेधाज्ञा जारी गरेपछि यसका बारेमा प्रतिक्रियाहरु निकै आएका थिए । तर पनि कोरोना महामारीविरुद्ध लड्नका लागि योभन्दा अर्को विकल्प अरु थिएन पनि । पठनपाठनमा यसले पारेको प्रभाव र एसईई परीक्षा पनि निकै टीकाटिपपणीको विषय बनेको थियो ।
परीक्षार्थीले भौतिक उपस्थिति विना नै अनलाइन परीक्षाबाट एसईई दिएका थिए । अध्ययन अध्यापन कसरी गर्नेगराउने भन्ने बारेमा शैक्षिक बहस पनि निकै चल्यो । यसै विषयलाई लिएर संसदीय समितिले विद्यार्थीलाई भौतिक उपस्थितिमा अधयापन गराउनेनिर्देशन सुझाव पनि दियो ।
भर्चुअल अध्ययनको विकल्प थिएन
अध्ययन अध्यापनका लागि वैकल्पिक उपायहरुको खोजी गर्ने क्रमसँगै भर्चुअल पठनपाठनले मान्यता पाएको थियो । तर यस्तोखाले पठनपाठन सुविधासम्पन्न इलाका र सहरहरुमा मात्र संभव भएको साचो हो । गाउँमा यस्तोखाले सुविधा नभएकाले अध्ययन-अध्यापनको ठूलो हिस्सा अधकल्चो र अपूरो हुँदै आएको पनि हो ।
यही कमी, कमजोरी र अपुगलाई विचार गर्दै पठनपाठनमा सबैको समान पहुँच पुर्याउन उद्देश्यले भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिनु पर्ने माग र सुझाव आउन थालेका थिए । कोरोना महामारी आफैमा दीर्घकालीन रोग भएकाले यसविरुद्ध लड्न पनि सबै दीर्घकालीन सोच बनाएर अघि बढ्नुपर्ने देखिएको छ ।
कोरोनाको दीर्घकालीन प्रभावसँगै दीर्घकालीन तयारी
निषेधाज्ञा रोकेर परीक्षणका लागि केहीसमय हेर्ने र नेपालीपन अनुसार अघि बढ्ने तयारीका रुपमा पनि यसलाई हेर्न सकिन्छ । यो नेपाली प्रयोग पनि हो । कोरोना महामारी कम भएको भन्ने होइन, बरु महामारी दीर्घकालीन हुँदै र नयाँ नयाँ भेरियन्टमा देखा पर्दै गैरहेको साचो हो । यो भनेको शैक्षिक क्रियाकलापलाई कसरी अघि बढाउनु पर्ने हो भनी सोको बारेमा गरिएको उपायको खोजी पनि हो ।
अबको सर्वोत्तम उपाय भनेको भर्चुअल शैक्षिक क्रियाकलाप पनि लगिरहने र सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिमै पढाइलेखाइ अघि बढाउने मिश्रित तरिका नै हो । समान उपायको खोजी नेपालजस्तो देशमा संभव छैन । मास्कको अनिवार्य तथा उचित प्रयोग, स्यानिटाइजरको उपयोग, आदिले राम्रै परिणाम ल्याउने देखिन्छ ।
पुरानो सोचमा सुधार
विद्यालय जाँदामात्र कोरोना महामारीले संक्रमण गर्ने र नजाँदा नगर्ने भन्ने सोच आफैमा गलत हो । अहिले महामारी संक्रमण आम भैसकेको छ । भनिन्छ, नेपालमा पनि नयाँ भेरियन्ट देखा परिसकेको छ । परिस्थिति अनुसार कहिले भौतिक पढाइ, कहिले भर्चुअल पढाइ, कहिले मिश्रित त कहिले निषेधाज्ञा र कुनै बेला लकडाउन पनि हुन सक्छ ।